
काठमाडौं । पछिल्लो समय मुलुकभित्र मरीचको आयात अत्यधिक रूपमा बढेको छ । विशेषगरी तेस्रो मुलुकबाट नेपालमा मरीच आयात अत्यधिक रूपमा बढेको देखिएको छ । सन् २०१८ को जुन ६ देखि १४ तारीखबीचमा विभिन्न मुलुकबाट आयात भएको मरीच भारतस्थित कोलकाता बन्दरगाहमा आइपुगेको छ । त्यसमध्ये ४० फीटका ४ ओटा र २० फीटका १७ ओटा कण्टेनरमा मरीच आयात भएको छ । नेपालमा भियतनाम, श्रीलङ्का, ब्राजिल, इण्डोनेशिया, साउदी अरेबिया, थाइल्याण्डलगायत देशबाट मरीच आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । अन्य देशको तुलनामा भियतनामबाट नेपालमा ठूलो परिमाणमा मरीच आयात हुँदै आएको छ ।
मरीच आयात अत्यधिक बढेसँगै पछिल्लो समय यसको अवैध कारोबारसमेत बढ्दै गएको छ ।
नेपालमा आयात भएको मरीच मुख्यगरी अवैध रूपमा भारत निकासी हुने गरेको पाइएको छ । भारत सरकारले मरीचमा परिमाणात्मक बन्देज लगाएकाले नेपालबाट भारतमा मरीच तस्करी बढेको भन्सार विभागका तथ्याङ्क शाखाका निर्देशक विनोदशरण आचार्य बताउँछन् । उनका अनुसार मरीच निर्यातको तथ्याङ्क खासै देखिँदैन, त्यसैले यसको अवैध कारोबार बढेको छ ।
नेपालमा तेस्रो मुलुकबाट आयात भएको मरीचभन्दा भारतीय मरीच महँगो पर्ने हुँदा नेपालबाट अवैध रूपमा मरीच भारततिर निकासी हुन थालेको आचार्यको भनाइ छ । भारतीय मरीचको तुलनामा नेपालमा आयात भएको मरीच प्रतिकिलो न्यूनतम रू. ४ सय सस्तो पर्छ । सोही अवधिमा तेस्रो मुलुकबाट सुपारी, फ्याब्रिक, पाम आयल, मुसुरो दाल, चाउचाउ, भान्छामा प्रयोग हुने वस्तु, बैङ्क नोटलगायत अन्य थुपै वस्तु आयात भई कोलकाता बन्दरगाहमा आइपुगेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।