असार ६, काठमाडौं (अस) । रसियामा जारी विश्वकप फूटबल प्रतियोगिताको समूह ‘एच’को पहिलो खेलमा एशियाली टीम जापान र अफ्रिकन टीम सेनेगल विजयी भएका छन् ।
मङ्गलवारको पहिलो खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गर्यो । खेलको छैठौँ मिनेटमा सिन्जि कागावाले पेनाल्टी गोल गर्दै जापानलाई शुरुआती अग्रता दिलाएका थिए । तेस्रो मिनेटमा रातो कार्ड पाएर कोलम्बियाका कार्लोस सान्चेज मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सिमित भएको कोलम्बियामाथि जापानको दबाब रह्यो । यद्यपी राम्रो खेल प्रदर्शन गरेको कोलम्बियाले ३९ औँ मिनेटमा बराबरी गोल फर्कायो । जुआन क्विन्टेरोले पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि प्रतिस्पर्धात्मक बनेको खेलको ७३ औँ मिनेटमा युया ओसाकोले हेडमार्फत उत्कृष्ट गोल गर्दै जापानको जित सुनिश्चित गरे ।
मङ्गलवारको दोस्रो खेलमा सेनेगलले पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्यो । खेलको ३७ औँ मिनेटमा इड्रिसा गुएईको प्रहार पोल्याण्डका सिनाकको खुट्टामा लागेर गोलमा परिणत भएपछि सेनेगलले १–० को अग्रता पायो । खेलको ६० औँ मिनेटमा निएन्जले गोल गर्दै सेनेगललाई २–० को अग्रता दिलाए । खेलको ८६ औँ मिनेटमा पोल्याण्डका ग्रजर्ज क्रेचोवाइकले एक गोल फर्काएपनि थप गोल हुन नसकेपछि सेनेगल २–१ ले विजयी भयो ।

पहिलो रातो कार्ड पाउने खेलाडी बने सान्चेज कोलम्बिया विरुद्ध मङ्गलवारको खेलमा रातो कार्ड पाएका कोलम्बियाका कार्लोस सान्चेज जारी विश्वकपमा पहिलो पटक रातो कार्ड पाउने खेलाडी बनेका छन् । पेनाल्टी एरियामा जापानका सिन्जि कागावाको प्रहारलाई हातले रोकेका सान्चेजलाई रेफ्रीले रातो कार्ड दिएका थिए । १० खेलाडीमा सिमित कोलम्बिया उक्त खेलमा २–१ ले पराजित भयो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।