काठमाडौंलगायत देशका अन्य ठूला शहरमा विभिन्न समयमा फोहोर व्यवस्थापनको विषयले चर्चा पाउँदै आएको छ । व्यवस्थापनको उपयुक्त स्थानको अभाव तथा फोहोरको प्रकृतिअनुसार व्यवस्थापन हुन नसक्दा मुख्य शहरहरूमा यो ठूलो समस्याको विषय बनेको छ । यसबाहेक यस्ता शहरी क्षेत्रका फोहोर व्यवस्थापन खुला ग्रामीण क्षेत्रमा गरिँदा त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा पर्न जान्छ । फोहोर व्यवस्थापनको यस्तो समस्याले वातावरणीय प्रतिकूलता निम्त्याएको कुराबाट शायदै कोही बेखबर छन् । फोहोरको दीर्घकालीन व्यवस्थापनमा ध्यान नदिँदा पनि बारम्बार यस्तो समस्याले चर्चा पाउने गरेको हो । त्यसमा पनि शहरी क्षेत्रका अस्पताल, अपार्टमेण्टजस्ता ठाउँबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा व्यवस्थित शहरीकरणमा प्रभाव पारेको छ नै, यसले नयाँ किसिमका रोगहरू पनि निम्त्याएको छ ।
- नगरपालिकाहरूमा बिन कम्पोष्टिङ, ड्रम कम्पोष्टिङ र रिङ कम्पोष्टिङजस्ता विधिबाट फोहोर व्यवस्थापनको काम
- अस्पताल तथा हाउजिङका लागि वेष्ट म्यानेजमेण्ट सोलुशन सिष्टम उपयुक्त
- प्रविधिको प्रयोगले वातावरणीय प्रतिकूलता कम गर्ने
- आईएसएस प्रविधिमार्फत फोहोर सङ्कलन, छुट्ट्याउने, व्यवस्थापन र ढुवानीसमेत गर्न सकिने
फोहोरजन्य रोगको समाधान तथा यसको उचित व्यवस्थापनमा विश्वका विभिन्न देशमा दुई दशक अघिदेखि नै प्रविधिको प्रयोग गरेको पाइन्छ । नेपालमा पनि अहिले फोहोर व्यवस्थापन गर्न प्रविधिको प्रयोग गर्ने प्रचलन देखिन थालेको छ । यद्यपि, अहिलेसम्म ठूलो क्षेत्रका लागि भने यस्तो प्रविधि प्रयोग भने भएको छैन । प्रविधिको प्रयोगले कम जनशक्तिको प्रयोग हुनुका साथै कम समयमै धेरै फोहोर व्यवस्थापन गर्न सकिने फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा अमात्यको भनाइ छ । केन्द्रसँगको सहकार्यमा विभिन्न नगरपालिकामा अहिले बिन कम्पोष्टिङ, ड्रम कम्पोष्टिङ र रिङ कम्पोष्टिङजस्ता विधिबाट फोहोरमैला व्यवस्थापनको काम भइरहेको छ । त्यस्तै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि हालै मात्र इण्टिग्रेटेड स्टरिलाइजर एण्ड स्रेडर (आईएसएस) टेक्नोलोजीयुक्त ‘वेष्ट म्यानेजमेण्ट सोलुशन सिष्टम’को प्रयोग शुरू भइसकेको छ । अस्पतालको फोहोर सङ्कलन, छुट्ट्याउने, व्यवस्थापन र ढुवानीलगायत समस्यामा यसले सहजता ल्याउने सम्पूर्ण इण्टरनेशनलका प्रबन्ध निर्देशक लोकबहादुर बानियाँले बताए । तुलनात्मक रूपमा महँगो पर्ने भएकाले यसको प्रयोग अहिले ठूला अस्पतलामा मात्र भएको उनको भनाइ छ । ‘१ सयभन्दा बढी शøया भएका अस्पताललाई यो प्रविधि निकै उपयोगी हुन सक्छ,’ उनले भने ।
काठमाडौंको टोखास्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक आईएसएस प्रविधिको प्रयोग गरेको थियो । अस्पतालबाट निस्कने फोहोरलाई व्यवस्थित गर्न तथा स्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्न यो प्रविधिको प्रयोग गरिएको अस्पतालका सहायक महाप्रबन्धक विष्णु बजगार्इंले बताए । अस्पताल क्षेत्रबाट निस्कने फोहोर अन्य क्षेत्रको तुलनामा प्राणघातक हुने भएकाले नयाँ प्रविधिको प्रयोग गरिएको उनको भनाइ छ । यस अस्पतालले ठोस र तरल फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै मेशिनको व्यवस्था गरेको छ । तरल फोहोर व्यवस्थापनका लागि ‘सी वेज ट्रिटमेण्ट प्लाण्ट (सीटीपी)’ र ठोस फोहोरका लागि ‘वेष्ट म्यानेजमेण्ट सोलुशन सिष्टम’को व्यवस्था गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सीटीपी प्लाण्टमा तरल फोहोरलाई वाष्पीकरण गरी नष्ट गरिन्छ ।
के हो वेष्ट म्यानेजमेण्ट सोलुशन सिष्टम ?
वेष्ट म्यानेजमेण्ट सोलुशन सिष्टम’ सर्टिफिकेट अफ यूरोप (सीई) तथा इण्टरनेशनल स्ट्याण्डर्ड अर्गनाइजेशन (आईएसओ) चि≈न प्राप्त फोहोरमैला व्यवस्थापन गर्ने आधुनिक प्रविधि हो । यसको बजारमूल्य करीब ५० लाख रुपैयाँ पर्छ । १ वर्षको वारेण्टी प्राप्त हुने यो मेशिनको तौल १ सय ५० केजी छ । यो प्रविधिमार्फत सड्ने वा गल्ने फोहोर तथा नगल्ने वा नसड्ने फोहोरको समेत उचित व्यवस्थापन गर्छ । विशेषगरी अस्पताल तथा होटलबाट निस्कने फोहोर व्यवस्थापनका लागि यस्तो मेशिन उपयोगी मानिन्छ । साथै, हाउजिङ तथा अपार्टमेण्टका लागि पनि उत्तिकै उपयोगी रहेको उनले जानकारी दिए । अस्पतालबाट निस्कने प्लाष्टिक, सुई, कटन, रगतलगायत फोहोरलाई एकै ठाउँमा राखी सुरक्षित रूपमा नष्ट गर्न यो प्रविधि उत्कृष्ट विकल्प हुन सक्छ । बनावट तथा कार्यविविधताका हिसाबले व्यक्तिगत प्रयोजनका लागि भने यो प्रविधि त्यति उपयोगी मानिँदैन ।
आईएसएसमा फोहोर व्यवस्थापनको प्रक्रिया
यस प्रविधिअनुसार फोहोरमैलालाई सर्वप्रथम मेशिनमा राख्न गरिन्छ । हाल प्रचलनमा रहेका त्यस्ता मेशिनमा एकपटकमा २० केजी अथवा १ सय ५० लिटरसम्म फोहोर राख्न सकिन्छ । फोहोरलाई वेष्ट म्यानेजमेण्ट सोलुशन सिष्टममा राखी ‘पावर अन’ गर्नुपर्छ । मेशिनभित्र जडित ब्लेडले फोहोरलाई मसिनो टुक्रामा परिणत गर्छ ।
त्यसपछि मेशिनले उक्त फोहोरलाई जलाउने काम गर्छ । उक्त मेशिनले १ सय ३८ डिग्री सेल्सियस तापक्रममा फोहोरलाई जलाउँछ । तर, मेशिनले एकैपटक सबै फोहोरलाई यस प्रक्रियाअनुसार व्यवस्थापन भने गर्न सक्दैन । त्यसैले, मेशिनमा करीब २० प्रतिशत फोहोर बाँकी रहन्छ । बाँकी रहेको फोहोर कीटाणुरहित भएकाले सीधै हातको प्रयोगबाट निकाल्न सकिन्छ । बाँकी फोहोर कीटाणुरहित भएकाले फोहोर राखिएको क्षेत्र (डम्पिङ साइड)मा राख्न सकिन्छ । उक्त मेशिनबाट निस्केको फोहोर स्वास्थ्यका दृष्टिकोणले पनि त्यति हानिकारक मानिँदैन । मेशिनको प्रयोगबाट धूवाँ तथा धूलो ननिस्कने हुँदा यसले वातावरणमा पनि असर पुर्याउँदैन । यस मेशिनको कण्ट्रोल सिष्टम माइक्रो प्रोसेसरमा आधारित छ । यसमा भएको ५ दशमलव ७ इञ्चको डिजिटल टच स्क्रिनबाट सिष्टमलाई सञ्चालन गर्न सकिन्छ । यो मेशिनमा सङ्कलित डाटा वा रिपोर्टलाई एसडी कार्डको मद्दतबाट कम्प्युटरमा ट्रान्सफर गर्न सकिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।