फोहोर व्यवस्थापनका प्रचलित विधिहरू

Share News


ल्याण्डफिल

मुख्य बस्तीबाट टाढा, खेर गएको जग्गा वा खनिजपदार्थ निकालिसकेपछि बन्ने खानीको खुला भागलाई ल्याण्डफिलका रूपमा प्रयोग गरिन्छ । जम्मा भएको फोहोरलाई ल्याण्डफिलमा जलाउने काम हुन्छ । व्यवस्थित रूपमा डिजाइन गरिएको ल्याण्डफिल क्षेत्रमा तुलनात्मक रूपमा कम खर्चमै फोहोरमैलाको व्यवस्थापन गर्न सकिन्छ । तर, कमजोर र खराब डिजाइन तथा व्यवस्थापन गरिएको ल्याण्डफिलबाट नकारात्मक वातावरणीय प्रभाव सृजना हुन्छ । यस्ता क्षेत्रमा विशेषगरी मिथेन ग्यासको उत्पादन हुन्छ ।

जैविक फोहोरले गर्दा यस्तो ग्यास निस्कन्छ । यसले दुर्गन्धको समस्या निम्त्याउँछ । त्यसैले, ल्याण्डफिल क्षेत्रमा फोहोर राख्नुअघि यसको वर्गीकरण राम्रो हुन्छ । आधुनिक ल्याण्डफिल क्षेत्रलाई यस्तो समस्यामुक्त राख्न पाइपको सहयोगमा ग्यासलाई छुट्ट्याउने काम गरिन्छ । सो ग्यासलाई इञ्जिनको प्रयोगमार्फत विद्युत् निकाल्न पनि सकिन्छ ।   



जलाउने प्रक्रियाबाट फोहोरको व्यवस्थापन

यो विधिबाट ठोस जैविक फोहोरलाई जलाएर खरानी र ग्यास उत्पादन हुने वस्तुमा परिणत गरिन्छ । यो विधि फोहोर पानी व्यवस्थापन गर्न पनि प्रभावकारी हुन्छ । यो प्रक्रियाले फोहोरको मात्रा (भोल्युम) घटाउन सहयोग पुर्‍याउँछ । अध्ययनअनुसार यो तरीकाबाट २० देखि ३० प्रतिशतसम्म फोहोरको मात्रा घट्ने देखिएको छ । यस विधिलाई ‘थर्मल ट्रिटमेण्ट’ पनि भनिन्छ । यो प्रक्रियाबाट फोहोरलाई ताप, ग्यास, बाफ र खरानीमा परिवर्तन गर्न सकिन्छ । उद्योगको फोहोरमैला व्यवस्थापनका लागि यो प्रविधि उपयोगी मानिन्छ । यस विधिबाट ठोस, तरल र ग्यास तीनै किसिमको फोहोर व्यवस्थापन गर्न सकिन्छ । अस्पतालको फोहोर (मेडिकल वेष्ट) व्यवस्थापनका लागि पनि यो विधि प्रभावकारी मानिन्छ । तर, यसबाट ग्यासजन्य प्रदूषण सृजना हुने सम्भावना हुन्छ, जसको धेरै विरोध हुने गरेको छ । जापानमा यसलाई प्रभावकारी रूपमा प्रयोग गरिएको पाइन्छ ।



पुनः प्रयोग (रि–साइक्लिङ)

यो विधि स्रोत (फोहोर मानिएका वस्तु) लाई पुनः प्रयोगमा ल्याउने अभ्यास हो । यस विधिअनुसार फोहोर वस्तुलाई जम्मा गरिन्छ र प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने काम हुन्छ । फोहोरलाई जैविक र अजैविक गरी छुट्ट्याउन सकिन्छ । एकै प्रकारका फोहोरलाई जम्मा गरी त्यसबाट नयाँ वस्तु निर्माण गर्न सकिन्छ । जस्तो अल्मुनियम, कपर, स्टीललाई छुट्टाछुट्टै राख्नुपर्छ । त्यस्तै पोलिथिन, बोतलहरू, ग्लास, पेपरलाई छुट्ट्याउन सकिन्छ । यसरी छुट्ट्याएपछि नयाँ सामान बनाउन सजिलो हुन्छ । तर, यसमा कम्प्युटर र विद्युतीय सामानको पुनः प्रयोग गर्न कठिन हुन्छ । फोहोर देश र क्षेत्रअनुसार फरक हुन्छ । त्यहीअनुसार छुट्टै सङ्कलन गर्नुपर्छ । यसरी उत्पादन गरिएका सामानलाई विक्री पनि गर्न सकिन्छ ।



दिगोपना


संसारमा दिनदिनै वातावरणीय मुद्दा शक्तिशाली बन्दै गएको छ । धेरै देशले आफ्ना कम्पनीलाई वातावरणमैत्री बन्न सुझाव दिने गरेका छन् । पुनः प्रयोगलाई धेरैले प्रवद्र्धन गर्ने गरेका छन । पुनः प्रयोगलाई दिगोपनासँग जोडेर हेर्ने गरिन्छ । एकपटक प्रयोग गरिसकिएको सामान पनि पुनः प्रयोगमा ल्याउँदा स्रोतको अधिक खपत हुन पाउँदैन ।




फोहोर हुनै नदिने र कम गर्ने विधि

फोहोर हुनै नदिनु यसको व्यवस्थापनको सबैभन्दा उत्तम विधि हो । यसलाई कम फोहोर उत्पादन गर्ने विधि पनि भनिन्छ । पुराना सामानको प्रयोग रोक्दा, बिग्रेका सामानको साटोमा नयाँ खरीद गर्नुभन्दा त्यसैलाई मर्मत गरी प्रयोग गर्दा कम फोहोर निस्कन्छ । प्लाष्टिकको कम प्रयोगले पनि फोहोरलाई कम गर्न सघाउँछ ।  

 

फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्दै छ




डा. सुमित्रा अमात्य
कार्यकारी निर्देशक, फोहोरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्र



घरायसी फोहोर व्यवस्थापन गर्ने उपायका रूपमा धेरैले जैविक (कम्पोष्ट) मल बनाउने गरेका छन् । हालसम्म नेपालमा फोहोर व्यवस्थापन गर्न ठूलो प्रविधिको प्रयोग हुन सकेको छैन । तर, त्यसको शुरुआत गर्ने काम भने भएको छ । कम्पोष्ट मल बनाउने प्रविधिलाई हेटौंडा, भरतपुर, बुटवल, सिद्धार्थनगरलगायत नगरपालिकाले शुरू गरिसकेका छन् । त्यहाँ बिन कम्पोष्टिङ, ड्रम कम्पोष्टिङ र रिङ कम्पोष्टिङ विधिको प्रयोग गरी फोहोरमैलाको व्यवस्थापन गरिएको छ ।

यो विधिबाट ठूलो क्षेत्रको व्यवस्थापन भने गर्न सकिँदैन । त्यसका लागि एरोबिक र एनोरोबिक कम्पोष्टिङ प्रविधिको प्रयोग गर्न सकिन्छ । यो प्रविधि खर्चिलो, लगानी धेरै गर्नुपर्ने, व्यवस्थापन गर्न समस्या आउने तथा मर्मत (बिग्रिएको खण्डमा) गर्न अप्ठ्यारो मानिन्छ । तर, फोहोरको मात्रा बढ्दै जाँदा यी प्रविधिको प्रयोग अनिवार्य हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।