कति महँगो छ विश्वकप ?

Share News
फिफा विश्वकप कहिले आउला भन्ने उत्सुकता फूटबलप्रेमीमा मात्रै होइन अनुसन्धानकर्तामा पनि हुन्छ । यो टुर्नामेण्ट कुनै कम्पनी र अर्थतन्त्रका लागि कति महँगो पर्छ भन्ने अनुसन्धान उनीहरूको खोजाइको विषय हो । टुर्नामेण्टको समयमा उत्पादनशील समय जोखीममा पर्छ । यसको मापन गर्न बिहान ९ देखि ५ बजेसम्मलाई कामको समय र हरेक राष्ट्रमा ५० प्रतिशत श्रमशक्तिको यो खेलमा रुचि छ भन्ने आधार लिएर एउटा विश्लेषण गरिएको छ । कार्यालय समयमा हुने खेलले कर्मचारीको काममा बाधा पु¥याउने र उत्पादकत्वमा कमी आउने सम्भावना छ । कर्मचारीहरू काममा उपस्थित नभइदिने, बिहानसम्म खेल हेरेर निद्रा नपुग्ने र कामको समयमा हाइ काढ्ने जस्ता समस्याले उत्पादकत्वमा ह्रास आउन सक्छ । यस आधारमा यो टुर्नामेण्ट शुरू भएको पहिलो २ हप्तामा विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मध्ये १४ अर्ब ५० करोड डलर गुम्ने अनुमान छ । त्यसपछिको समयमा हुने लाभ र हानिको आकलन गर्न भने निकै कठिन छ । फूटबल खेल हेर्दा प्रशंसकहरू खुशी हुने र यसले टुर्नामेण्टपछिका कामका दिनमा उत्पादकत्व वृद्धि हुने सम्भावना कुनैकुनै अनुसन्धानले देखाएका छन् । व्यक्तिको खुशीको स्तर बढ्दा काममा उसको उत्पादकत्व पनि १० देखि १२ प्रतिशतसम्म बढ्ने केही अनुसन्धानले देखाएका छन् । तर, आफूले समर्थन गरेको टीमले खेल हार्दा हुने नकारात्मक प्रभावको स्तर भने आफ्नो टीमले जित्दा हुने खुशीको स्तरभन्दा निकै धेरै हुन्छ । फ्रान्स र पेरुबीचको खेललाई उदाहरणका रूपमा लिऔं । उक्त खेल गत बिहीवार (फ्रान्सेली समयअनुसार दिउँसो २ बजे) भएको थियो । फ्रान्सेली कामदारहरू यस खेलको १ घण्टाअघि र पछि काममै थिए भन्ने मानौं । फ्रान्सले त्यो खेल जित्यो । त्यो खेल शुरू हुनुभन्दा अगाडि गरिएको एक आकलनअनुसार त्यो खेल फ्रान्सले जितेमा त्यो दिन फ्रान्सेली कामदारहरूको उत्पादकत्व ४ दशमलव ४ प्रतिशत बढ्ने निष्कर्ष निकालिएको थियो । यो भनेको फ्रान्सको जीडीपीमा ३५ करोड ४० लाख डलर वृद्घि हो । यो सुन्दा खुशीको खबर लागे पनि फ्रान्सले त्यो खेल केहीगरी हारेको भए त्यसबाट हुने पीडाले कर्मचारीको उत्पादकत्वलाई प्रभावित पारेर २ अर्ब डलरबराबरको नोक्सानी हुन सक्थ्यो । उक्त खेलको अवधि अर्थात् (झण्डै २ घण्टा)मा कामदारहरूले खेल हेरेर कटाएको समयका कारण मात्र हानि भएको जीडीपीको कुरो त बेग्लै छ । ब्राजिल र कोष्टारिका तथा ब्राजिल र सर्बियाबीचको खेल पनि निकै महँगो सावित हुन सक्छ । किनभने, यी दुवै खेल काम गर्ने समयमै हुँदै छन् । ब्राजिल विश्वकपको प्रमुख दाबेदार हो । तर, खेलमा उसको जित भएपनि खेर गएको काम गर्ने समयको भर्पाइ भने त्यसले गर्न सक्दैन । र, यदि उसले हारिहाल्यो भने त झन् त्यो भयङ्कर दुर्घटना नै बन्न पुग्छ । ब्राजिल कोष्टारिकासँग हारेमा त्यसले खेलपछिको समयमा कर्मचारीको उत्पादकत्व १४ दशमलव ४ प्रतिशत घट्न सक्छ । यी खेलहरू उत्पादकत्व घटाउने तŒवका रूपमा रहने हुँदा यसका लागि तयार रहनुपर्छ । यससँग जुझ्न ब्राजिल सरकारले एउटा उपाय पनि ल्याएको छ । सरकारी कर्मचारीले आफ्नो देशका राष्ट्रिय टीमले प्रतिस्पर्धा गरिरहेको समयमा आफ्नो काम गर्ने समय समायोजन गर्न चाहेमा त्यसो गर्ने अनुमति दिने ब्राजिल सरकारले बताएको छ । त्यस्तै, खेलको पहिलो चरणसम्म यदि दिउँसो कुनै खेल भएको छ भने अधिकांश निजी कम्पनीले कर्मचारीलाई छिट्टै घर जाने अनुमति दिनेजस्ता योजना ल्याएका छन् । खेलले खुशी र उत्पादकत्वलाई प्रभाव पार्छ नै भने अब के गर्ने त ? एउटा विकल्प सबै कुरालाई बेवास्ता गर्दैै कर्मचारीले सामान्य व्यवहार गरून् भन्ने अपेक्षा राख्नु हो ।अर्को विकल्प भनेको लेनदेन गर्ने हो । उदाहरणका लागि कर्मचारीले खेल हेरेर खेर गएको समयलाई कुनै अन्य तरीकाले भर्पाइ गर्ने शर्तमा उनीहरूलाई खेल हेर्न दिन सकिन्छ । यी दुईमध्ये जुन विकल्प अपनाए पनि त्यसले काम गर्ने सयममा उत्पन्न हुने बाधालाई कम गर्न सहयोग गर्छ । तेस्रो विकल्प पनि छ र त्यो हो डच प्रख्यात फूटबल खेलाडी जोहान क्रुइफले भने जस्तो ‘आक्रामक नै सर्वोत्तम प्रतिरक्षा रणनीति हो’ । यस विकल्पअनुसार कार्यालयमै टिभीको व्यवस्था गरेर कर्मचारीलाई सँगै बसेर खेल हेर्न बोलाउन सकिन्छ । यस्तो गर्दा पक्कै पनि कार्यालयमा धेरै काम हुँदैन, तर यसलाई सामुदायिक सम्बन्ध सुधार्ने र दिगो सम्बन्ध स्थापना गर्ने अवसरका रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट हुने फाइदाको आकलन भने गुमेको काम गर्ने समयबाट भएको हानिको आकलन गर्नुभन्दा धेरै गाह्रोछ ।तर, फूटबललगायत केही खेलले दिने उच्च सन्तुष्टि असाधारण हुन्छ र विश्वकपको वास्तविक लागत र फाइदा पक्कै पनि रुपैयाँपैसामा नाप्न सकिँदैन ।विश्वकपले नेपाललाई भने त्यति फरक पार्दैन । किनभने, अधिकांश खेल यहाँको रातिको समयमा हुन्छ । सो समयमा प्रायः कर्मचारीहरू घर गइसकेका हुन्छन् । तर, उनीहरूको निद्रा नपुगेर दिउँसो कार्यालमा नआउने वा आएपनि राम्ररी काम गर्न नसकेर उत्पादकत्व घट्न सक्छ ।प्रस्तुति : अस्मिता ढकाल

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।