
काठमाडौं । मुलुकभित्र दर्ता रहेका सहकारी संस्थामध्ये करमा दर्ता हुनेको सङ्ख्या भने २५ प्रतिशत कम देखिएको छ । देशभरि ३४ हजार ५ सयभन्दा बढी सहकारी संस्था दर्ता भए पनि स्थायी लेखा नम्बर (प्यान)मा भने २६ हजार ४ सय सहकारी संस्थामात्रै दर्ता भएको आन्तरिक राजस्व विभागले जानकारी दिएको हो । यो सङ्ख्या सञ्चालनमा रहेका कुल सहकारीको करीब ७५ प्रतिशत हो ।
सहकारी विभागका अनुसार आर्थिक वर्ष २०७३/७४ को असार मसान्तसम्ममा मुलुकभर कुल ३४ हजार ५ सय १२ सहकारी संस्था सञ्चालनमा छन् । तिनमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, स्वास्थ्य, उपभोक्तालगायत अन्य थुपै सहकारी रहेको विभागका उपसचिव कृष्ण पुडासैनीले बताए । उनका अनुसार, काठमाडौं उपत्यकाभित्र मात्रै ५ हजार ६ सयभन्दा बढी सहकारी सञ्चालनमा छन् । त्यसमध्ये काठमाडौं जिल्लामा ३ हजार ८ सय ३२, ललितपुरमा १ हजार १ सय ५२ र भक्तपुरमा ६ सय ६२ सहकारी संस्था रहेको विभागको तथ्याङ्क छ ।
मुलुकभित्र दर्ता भई सञ्चालनमा रहेका सबै सहकारीले अनिवार्य रूपमा प्यानमा दर्ता हुनैपर्ने आन्तरिक राजस्व विभागका सहायक सूचना अधिकारी खेमनारायण रेग्मी बताउँछन् । उनका अनुसार प्यानमा दर्ता हुँदैमा सहकारीको जिम्मेवारी भने समाप्त हुँदैन । ‘सञ्चालनमा रहेका सहकारीमध्ये करीब ७५ प्रतिशत प्यानमा दर्ता भएका छन्,’ उनले भने, ‘तर तिनले कर नियमित तिर्दै आएका छन् कि छैनन् भन्नेचाहिँ महत्त्वपूर्ण विषय हो ।’ अधिकांश सहकारी प्यानमा दर्ता भए पनि कर भने नतिरेको उनको दाबी छ ।
सरकारले विगतका दिनमा विभिन्न किसिमको योजना ल्याएकाले सहकारी प्यानमा दर्ता हुने क्रम बढेको राजस्व विभागको भनाइ छ । विभागका अनुसार सरकारले विगतका वर्षहरूमा प्यानमा दर्ता हुने सहकारीलाई सो समयसम्मको कर छूटलगायत अन्य थुप्रै सुविधा प्रदान गर्ने घोषणा गरेको थियो ।
सोही कारण सहकारीहरू प्यानमा दर्ता भएका थिए । आन्तरिक राजस्व विभागले प्यानमा दर्ता हुनुका साथै नियमित कर तिर्न पनि सहकारी अग्रसर हुनुपर्ने बताएको छ । सरकारले सहकारीहरूलाई प्यानमा दर्ता गराउनेतर्फ भन्दा पनि कर तिर्नप्रति अग्रसर गराउनुपर्ने विभागले बताएको हो ।
त्यसका लागि सरकारले विशेष कदम नै चाल्नुपर्ने विभागको भनाइ छ । सबै सहकारी संस्था प्यानमा अनिवार्य दर्ता हुनुपर्ने भन्दै सहकारी विभागले दर्ता नभएका सहकारीलाई पनि करको दायरामा आउन आग्रह गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।