अमिष रेग्मी
क्लाउड प्रविधिलाई इण्टरनेट प्रविधिको नयाँ आयामका रूपमा लिन सकिन्छ । यसको माध्यमबाट कम्प्युटर चलाउनेदेखि त्यसका लागि आवश्यक उपकरण, एप्लिकेशन उपलब्ध गराउन सकिन्छ । तर, यसका लागि इण्टरनेटको आवश्यकता पर्छ । नियमित रूपमा सूचनाप्रविधिसम्बन्धी काम गर्ने मानिसका लागि यो अत्यन्त राम्रो प्रविधिका रूपमा लिने गरिन्छ । विश्वव्यापी रूपमा सूचनाप्रविधिको विस्तारमा क्लाउड कम्प्युटिङ प्रविधिको प्रयोग गर्ने प्रचलन बढेको छ । यसको प्रयोग गर्न चाहने व्यक्ति वा कम्पनीले आफ्नो इच्छाअनुसार मासिक वा वार्षिक रूपमा शुल्क तिर्न सक्छन् । क्लाउड प्रविधिले सूचनाप्रविधिको विस्तार त गर्छ नै, अर्कोतिर हाल सञ्चालनमा रहेका अन्य प्रविधिको पनि क्षमता विस्तार गर्ने काम गर्छ । गूगल तथा एमेजनजस्ता कम्पनीले आफ्नो सूचनाप्रविधिका स्रोतहरू क्लाउडमा राख्न थालिसकेका छन् । यसले पहिले प्रयोग गर्दा लागेको ठाउँ, समय, शक्ति र मूल्यमा उल्लेख्य कमी आउँछ ।
हटमेल तथा फेसबूकका डाटाजसरी आवश्यकता परेको बेला जहाँकहीँबाट पनि हेर्न वा प्राप्त गर्न सकिन्छ । त्यस्तै प्रविधिको प्रयोग क्लाउडमा गरिएको छ । क्लाउड प्रविधिमा आफ्नो डाटा सेभ गर्दा जोखीम हुने डर अहिले अत्यन्त कम भइसकेको छ । यसैले पनि अहिले प्रायः कम्पनीले जटिल प्रविधि प्रयोग गरिएका सर्भर प्रयोग गरेको पाइँदैन । क्लाउड प्रविधिको प्रयोगले आफ्नो सफ्टवेयर समयमै अपडेट हुनुका साथै सेभ गरेका डाटाहरूको सुरक्षाका लागि विशेष उपाय पनि अपनाइएको हुन्छ । क्लाउडको यही विशेषताका कारण धेरै कम्पनीलाई जटिल किसिमका सर्भर जडान गर्नुपर्ने झन्झट हटेको छ ।
विशेषता
: आफ्नो आवश्यकताअनुसार निश्चित क्षमताको सर्भर तथा डाटा प्रयोग गर्न सकिने ।
: विश्वव्यापी रूपमा सञ्जाल विस्तार ।
: आवश्यकता परेका बेला आफूले प्रयोग गरिरहेको क्षमतामा सजिलै वृद्धि गर्न सकिने ।
: प्रयोगका आधारमा रकम भुक्तानी गर्न ब्याण्डविथ, स्टोरेज, कार्यक्षमता आदिका आधारमा उचित मापन गर्न सकिने ।
: महँगो प्रविधि भए पनि उच्चतम प्रतिफल हासिल गर्न सकिने ।
फाइदा
: कम खर्चिलो
: सजिलो पहुँच, जहाँकहीँबाट प्रयोग गर्न सकिने
: डाटा आदानप्रदान गर्न सजिलो
: साधारण स्टोर गर्ने प्रणालीको तुलनामा सुरक्षित
बेफाइदा
: इण्टरनेट सञ्जालको आवश्यकता
: सुरक्षा तथा नियामक निकायको अभावमा जोखीम बढ्न सक्ने ।
: क्लाउडको सर्भरमै सीधा आक्रमण भए पूरै डाटा हराउन सक्ने डर
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।