कहिलेकाहीँ सेण्ट्रल प्रोसेसिङ युनिट (सीपीयू)को ‘अन’ बटन थिचेपछि लामो समयसम्म पनि कम्प्युटरले प्रोग्राम ‘रीड’ गर्न सक्दैन । कुनै सेभ गरेको फाइल पछि ओपन गर्दा खाली देखाएको हुन सक्छ । त्योभन्दा पनि बढी कम्प्युटर नै ‘क्र्यास’ हुने समस्याबारे तपाईं पनि जानकार हुनुहुन्छ होला । कम्प्युटर तथा ल्यापटप प्रयोगकर्ता मात्र होइन, स्मार्टफोन बजारमा भित्रिएपछि त्यसको डाटा रीड गर्न नसकेर ‘⋲याङ’ भएको अनुभव धेरैले गरेका छन् । नेपालको सन्दर्भमा त यो अझ ठूलो समस्या नै भइसकेको छ ।
आफूसँग भएको ग्याजेट्सले सधैं सही तरीकाले काम गरोस् भन्ने सबैको चाहना हुन्छ । तर, कम्प्युटर प्रोग्रामिङको प्रयोग हुने यस्ता साधनमा भाइरसले धेरैलाई समस्यामा पारेको हुन्छ । परिणाम, तपाईंले कम्प्युटरमा आफूले चाहेको काम गर्न सक्नुहुन्न । भाइरसकै कारण कतिपयले आफ्नो साधन धेरै समय प्रयोग नगरी राखेका उदाहरण पनि पर्याप्त छन् । भाइरसबाट बारम्बार आउने यस्ता समस्यालाई एण्टिभाइरस सफ्टवेयरको प्रयोग गरेर समाधान गरिन्छ । कम्प्युटर तथा ल्यापटपको प्रयोग बढेसँगै अहिले यस्ता एण्टिभाइरस प्रयोग गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा अहिले दैनिक औसत ५ सयओटा कम्प्युटर तथा ल्यापटपको विक्री हुने गर्छ । यो हिसाबले पनि एण्टिभाइरस प्रयोगकर्ता बढ्दै गएको बुझ्न सकिन्छ ।
कसरी काम गर्छ एण्टिभाइरसले ?
कम्प्यटुर अथवा ल्यापटपमा एण्टिभाइरस इन्ष्टल गरेपछि मात्र तपाईंले भाइरस स्क्यान गर्न सक्नुहुन्छ । तर, त्यसका लागि तपाईंको एण्टिभाइरस प्रयोग गर्न योग्य (अपडेटेड) हुनुपर्छ । अपडेट नभएको एण्टिभाइरसले भाइरस स्क्यान गर्न सक्दैन । स्क्यान गरे पनि त्यसले पूर्ण रूपमा काम भने गरेको हुँदैन । कम्प्युटरको ड्राइभ, पेनड्राइभर अथवा डिस्कको स्क्यान गर्दा एण्टिभाइरसले निश्चित कोडको उपयोग गर्छ । सो कोडको माध्यमबाट नै फाइल भाइरसमुक्त छ वा छैन भन्ने कुराको जानकारी एण्टिभाइरसले दिन्छ । भाइरसयुक्त फाइल भएको खण्डमा एण्टिभाइरसले सूचनाको लागि फ्ल्याग अथवा कुनै अन्य चि⋲नबाट जानकारी दिएको हुन्छ । सोही जानकारीका आधारमा ‘भाइरस डिटेक्शन’ गर्न एण्टिभाइरसमा अप्शन दिइएको हुन्छ । सोही अप्शन बटनमा क्लिक गरेर भाइरस डिटेक्ट गर्न सकिन्छ ।
स्मार्टफोनमा पनि एण्टिभाइरस
स्मार्टफोनलाई स्मार्ट बनाउने आधार भनेका नयाँनयाँ सफ्टवेयर नै हुन् । एण्टिभाइरस पनि एकप्रकारको सफ्टवेयर हो । स्मार्टफोनमा नयाँ एप्लिकेशन डाउनलोड अथवा शेयर गर्दा यसमा पनि भाइरसको प्रवेश भइरहेको हुन्छ । पीसी अथवा ल्यापटपमा केबलमार्फत स्मार्टफोनमा डाटा सेण्ड गर्दा त्यसमा रहेको भाइरस सर्ने सम्भावना रहन्छ । यसैले पनि स्मार्टफोनका लागि उपयुक्त एण्टिभाइरस प्रयोग गर्ने प्रचलन छ । स्मार्टफोन प्रयोगकर्ताले यस्ता एण्टिभाइरस सीधै डाउनलोड गर्न सक्छन् । यसबाहेक इण्टरनेटमार्फत अपडेट गर्न सकिने भएकाले पनि स्मार्टफोनमा एण्टिभाइरसको प्रयोग बढेको हो ।
एण्टिभाइरसको इतिहास
विश्वमा इण्टरनेटको प्रचलन नहुँदै कम्प्युटरमा भाइरसको समस्या शुरू भइसकेको थियो । तर, यस्ता भाइरस अहिलेजस्तो त्यति धेरै समस्या सृजना गर्ने किसिमका हुँदैनथे । र, एउटा कम्प्युटरमा लागेको भाइरस अर्को कम्प्युटरमा सार्ने माध्यम पनि त्यति धेरै थिएनन् । टार्जन हर्सलाई विश्वको पहिलो भाइरसका रूपमा चिनिन्छ । एउटा अध्ययनअनुसार विश्वमा दैनिक १० हजारभन्दा बढी नयाँ भाइरसको विकास हुने पाइएको थियो । सन् १९८० को दशक अघिसम्म कम्प्यटुरमा समस्या ल्याइरहने यस्तो प्रोग्रामलाई भाइरस भनिदैनथ्यो । त्यतिबेला जुन नामबाट डेस्कटपमा समस्या आउँथ्यो त्यसैको नाम लिने गरिन्थ्यो । सन् १९८३ मा अमेरिकाका वैज्ञानिक फ्रेडरिक बी कोहेनले सर्वप्रथम भाइरस शब्दको प्रयोग गरेका थिए । एण्टिभाइरस सफ्टवेयरको प्रयोग सन् १९८० को दशकको अन्त्यतिर शुरू भएको हो । सन् १९८७ मा बर्नड फिक्स नामक व्यक्तिले पहिलोपटक एण्टिभाइरसको प्रयोग गरी भाइरस डिटेक्ट गरेका थिए । उनले त्यतिबेला भियना नामक भाइरस डिटेक्ट गरेको इतिहास छ । अहिलेसम्म पनि यो भाइरस अस्तित्वमा छ । यसले राम्रोसँग काम गरिरहेको फाइललाई बिगार्ने तथा बिगे्रको फाइललाई मात्र रन गरिदिने काम गर्छ । यही सालमा अटारी कर्पोरेशनले जी डाटा नामक एण्टिभाइरस सफ्टवेयर सार्वजनिक गरेको थियो । त्यसयता विभिन्न कम्पनीले परीक्षण अथवा व्यावसायिक प्रयोजनका लागि फरक नामबाट एण्टिभाइरस सफ्टवेयर प्रयोगमा ल्याएका छन् ।
नेपालमै ब्राण्डेड एण्टिभाइरस
नेपालमा अहिले विभिन्न ब्राण्डका एण्टिभाइरस सफ्टवेयरले बजार विस्तार गरिरहेका छन् । व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा कम्प्युटरको प्रयोग तीव्र हुन थालेपछि एण्टिभाइरसको प्रयोग बढेको एक्सप्लोर एशियाका प्रबन्ध निर्देशक नीरज शर्मा बताउँछन् । अहिले नेपालमा क्यास्परस्की, क्विक हिल, ट्रेण्ड माइक्रो, म्याकाफे, ई–सेट, जी–डाटा, एभीजी, विटडिफेण्डर, सिमेण्ट्रिक, पाण्डा ब्राण्डका सफ्टवेयर उपलब्ध छन् । विशेषगरी व्यावसायिक प्रयोजनमा प्रयोग गरिने कम्प्युटरमा एण्टिभाइरसको प्रयोग अनिवार्यजस्तै भएकाले यसको व्यापार बढेको सागर इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत सागरदेव लाखेको भनाइ छ । उनका अनुसार अहिले एण्टिभाइरसको विक्री वार्षिक ५० प्रतिशतले बढ्दै गएको छ । पछिल्लो समय नेपालमा ब्राण्डेड सफ्टवेयर पनि न्यूनतम ५ सय रुपैयाँमा खरीद गर्न सकिन्छ । बजारमा विभिन्न ब्राण्डका एण्टिभाइरसको प्रवेश बढेसँगै एण्टिभाइरसको मूल्य घटेको लाखेको अनुमान छ ।
घट्यो पाइरेसी
सस्तो मूल्यमा खरीद गर्न सकिने भएपछि पाइरेटेड एण्टिभाइरस चलाउनेको सङ्ख्या घट्दै गएको छ । उपभोक्ताहरूमा चेतनाको विकास हुँदै गएकाले पाइरेसी घटेको हो । पाइरेटेडभन्दा आधिकारिक रूपमा ‘सिरियल की’ लिएर प्रयोग गर्दा कम्प्युटरमा भएको फाइल सुरक्षित हुन्छ । सिरियल की प्रयोग नगरी एण्टिभाइरस इन्ष्टल गर्न नसकिने हुँदा पाइरेटेड गर्न सकिँदैन । सिरियल की लिँदा कम्प्युटरमा केही समस्या आए आधिकारिक व्यक्तिले नै समस्याको समाधान गरिदिन्छन् । तर, वेबसाइटहरूबाट निःशुल्क डाउनलोड गर्ने सुविधाका कारण समस्या देखिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।