विश्वव्यापी रूपमै बहुप्रतीक्षित सामसुङ ब्राण्डको ग्यालेक्सी एस फोरले नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता इण्टरनेशनल मार्केटिङ सर्भिसेजले आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सो मोबाइल सार्वजनिक गरेको हो । ग्यालेक्सी सिरिजमा निकै चर्चा बटुल्दै आएको यो मोडल कम्पनीको सबैभन्दा पछिल्लो उत्पादन हो । पछिल्ला मोबाइलको लोकप्रियता र यो मोबाइलमा उपलब्ध नयाँ फिचरहरूका कारण यसलाई स्मार्टफोनको बजारमा ‘किङ अफ दि रिङ’ उपनाम दिइएको छ ।
यसमा रहेको ५ इञ्चको पूर्ण एचडी स्क्रिनले ४ सय ४१ पिक्सेल प्रतिइञ्चको दृश्य सम्प्रेषण गर्न सक्छ । २ जीबी र्याम रहेको यो स्मार्टफोनमा १ दशमलव ६ जीएचजेडको ओक्टा कोर प्रोसेसरको प्रयोग गरिएको छ । १६, ३२ र ६४ जीबी स्टोरज क्षमतासहित उपलब्ध हुने यो फोनमा अतिरिक्त मेमोरीका लागि ६४ जीबीसम्मको माइक्रो एसडी कार्डसमेत प्रयोग गर्न सकिन्छ । १३ मेगापिक्सेल क्षमताको मुख्य क्यामेरा रहेको यसको अगाडि भागमा २ मेगापिक्सेलयुक्त क्यामेरासमेत उपलब्ध छ । उत्कृष्ट तथा छरितो कार्यक्षमताका लागि यसमा एण्ड्रोइड ४ दशमलव २ दशमलव २ जेलिबिनको प्रयोग गरिएको छ । १ सय ३६ दशमलव ६ एमएम लम्बाइ, ६९ दशमलव ८ एमएम चौडाइ र ७ दशमलव ९ एमएम उचाइ रहेको यो मोबाइलको तौल जम्मा १ सय ३० ग्राम छ ।
अतिरिक्त रोचक विशेषताहरू
हात तथा आँखाको हाउभाउअनुसार मोबाइल सञ्चालन गर्न सकिने ।
स्मार्ट स्क्रोल (पल्टाउँदा वा हल्लाउँदा स्क्रिन आफै मिल्ने) र भिडियोमा स्मार्ट पज प्रविधिको प्रयोग ।
आफ्ना फोटोमा आवाजसमेत रेकर्ड गर्न सकिने (एक फोटोमा ९ सेकेण्डको आवाज) ।
आफूले सुन्दै वा हेर्दै गरेको श्रव्य तथा दृश्यका आधारमा आवाज तथा डिस्प्ले मिलाउन सकिने ।
एस ट्रान्सलेटर (अनुवाद गर्नका लागि), अप्टिकल रिडर तथा एस हेल्थजस्ता सामसुङका आफ्नै एप्स उपलब्ध ।
आवश्यक परेका बेला टीभीको रिमोट कण्ट्रोलका रूपमा समेत प्रयोग गर्न सकिने ।
नेपाली बजारमा यसको मूल्य ७१ हजार ९ सय रुपैयाँ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।