दुईपाङ्ग्रेमा स्क्र्याच प्रतिस्पर्धा

Share News

बजाज ब्राण्डका मोटरसाइकलको बजार प्रवद्र्धनका लागि एचएच बजाजले ‘क्यास पाम अफर’ हाल सञ्चालनमा छ । कोरियन गायक पी साइको चर्चित गीत गङ्नम स्टाइलको गीतिशैलीमा कम्पनीले ल्याएको स्क्र्याच अफरको नाम पनि उस्तै मिल्दोजुल्दो क्यास पाम अफर राखेको छ । छापा तथा विद्युतीय माध्यमको विज्ञापनमा पनि पी साइजस्तै मोडलको प्रयोग देख्न पाइन्छ । नेपालमा दुईपाङ्ग्रे सवारीको विक्रीमा प्रतिस्पर्धा बढ्दै जाँदा ग्राहक आकर्षणका लागि अधिकांश विक्रेताले फरक शैलीमार्फत स्क्र्याच कार्ड अफर प्रयोग गर्दै आएका छन् । विभिन्न नाम दिएर स्क्र्याच कार्ड अफर सञ्चालन गर्नेमा बजाजका साथै, हिरो, होण्डा, यामाहा, सुजुकी ब्राण्ड विक्री गर्ने नेपाली कम्पनीहरू रहेका छन् । अन्य उपहारभन्दा क्र्याच कार्ड अफरले ग्राहक आकर्षण गर्न सजिलो भएकाले प्रवद्र्धनका लागि यही माध्यम रोज्ने गरेको सम्बन्धित कम्पनीहरू बताउँछन् । यस्तो अफरले विक्रीमा २० देखि ३० प्रतिशतसम्म वृद्धि हुने उनीहरूको भनाइ छ । सामान्यतया मोटरसाइकल विक्रेता कम्पनीहरूले दशैं र नयाँ वर्षको अवसरमा यस्ता अफर ल्याउने गर्छन् । जाडो मौसम भर्खरै सकिएका कारण नयाँ वर्षको समयमा मोटरसाइकलको विक्री बढ्ने गर्छ । सोहीकारण पनि ग्राहक आकर्षित गर्न यो वर्ष अधिकांश कम्पनीले स्क्र्याच कार्ड प्रयोग गरेका छन् । विभिन्न कम्पनीले स्क्र्याच कार्डमार्फत लाखौं रुपैयाँबराबरको नगददेखि विद्युतीय उपकरण, सुनसमेत उपहार दिने घोषणा गरेका छन् । 

बजाज ब्राण्डका मोटरसाइकल खरीद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत ७ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छूट प्राप्त गर्न सक्छन् । मोटरसाइकल खरीद गर्दा पाउने युनिक कोड ५६५७ मा एमएमएस गरेर ग्राहकले उक्त नगद छूट प्राप्त गर्न सक्ने एचएच बजाजकी बजार प्रमुख पुनम सिंहले बताइन् । उनी भन्छिन्, ‘बजाजको क्यास पाम अफर विक्रीभन्दा पनि ब्राण्ड एक्टिभिटी तथा ब्राण्ड भ्यालू बढाउन हो ।’ उनका अनुसार अफरले विक्रीमा समेत करीब २५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै होण्डा ब्राण्डका मोटरसाइकल विक्री गर्दै आएको स्याकार कम्पनीले नयाँ वर्ष २०७० को अवसर पारेर स्क्र्याच कार्ड अफर ल्याएको छ । होण्डा ब्राण्डका दुईपाङ्ग्रे सवारी खरीद गर्ने ग्राहकले २०७० सालको अङ्कलाई २ ले गुणन गरी आउने ४ हजार १ सय ४० रुपैयाँ न्यूनतम छूट प्राप्त गर्ने स्याकार कम्पनी लिमिटेडका बजार व्यवस्थापक राजन पुरीले बताए । होण्डाका ग्राहकले स्क्र्याच कार्डमार्फत अधिकतम ५१ हजार रुपैयाँसम्म छूट प्राप्त गर्न सक्नेछन् । कम्पनीले दशैं र नयाँ वर्षको अवसरमा मात्र छूटको अफर ल्याउने गरेको छ । नगदको महŒव बढी भएको र अन्य सामानभन्दा नगद दिँदा ग्राहकले बढी मन पराएका कारण स्क्र्याच कार्ड प्रयोग गरिएको उनी बताउँछन् । नेपाली बजारमा अहिले होण्डाका तीन मोडलका स्कूटर र सात मोडलका मोटरसाइकल उपलब्ध छन् । 

भर्खरै मात्र होण्डासँग सहकार्य तोडेको हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एनजीएमले ‘हिरोको बाफ रे बाफ स्क्र्याच एण्ड विन अफर’ ल्याएको छ । अफरअनुसार हिरो ब्राण्डका मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत ४ हजारदेखि २५ हजार रुपैयाँसम्म छूट प्राप्त गर्न सक्नेछन् । त्यस्तै प्रत्येक १५ दिनमा हुने लक्की ड्रमार्फत १ लाख, ७५ हजार र ५० हजार रुपैयाँबराबरको फिलिप्सका सामान निःशुल्क खरीद गर्ने मौका पनि पाउने कम्पनीले बताएको छ । भारतीय उत्पादन महिन्द्रा टु विलर्स् विक्री गर्ने जिम्मा पाएको एसजी ग्लोबल प्रालिले ‘ब्ल्याङ्क चेक अफर’ ल्याएको छ । महिन्द्राको मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहक आफैले ब्ल्याङ्क चेकमा नगद भर्न सक्नेछन् । 

उक्त चेकमार्फत ग्राहकले सवारी खरीदमा ४ हजार ९ सय ९९ देखि ९९ हजार ९ सय ९९ रुपैयाँसम्मको छूट प्राप्त गर्न सक्नेछन् । त्यस्तै सुजुकी ब्राण्डका स्कूटर तथा मोटरसाइकल विक्री गर्ने गणेश इण्टरप्राइजेज नेपाल प्रालिले ‘कोर्‍यो कि पर्‍यो’ योजना सञ्चालन गरेको छ । योजनाअनुसार सुजुकीका ग्राहकले सवारी खरीदमा ५ हजारदेखि ५ लाख रुपैयाँसम्मका उपहार प्राप्त गर्न सक्नेछन् । भर्खरैमात्र नेपाली बजारमा यामाहा स्कूटर विक्री शुरू गरेको एमएडब्ल्यूले ‘त्रिपल सियोर’ योजना सञ्चालन गरेको छ । यामाहाको मोटरसाइकलमा मात्र लागू हुने योजनाअनुसार भाग्यमानी ग्राहकले १० ग्राम सुन, आईफोन ५ वा नगद ५ हजारदेखि १ लाखसम्म प्राप्त गर्न सक्छन् । उक्त उपहार छुट्टाछुट्टै वा एकैजना ग्राहकले पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।