विकिपिडियामा नेपालका थप आठ राष्ट्रिय भाषा

Share News

विश्वभरका विभिन्न भाषाका विभिन्न विषय समेटिने विकिपिडियामा नेपालका आठओटा राष्ट्रिय भाषा थप गरिने भएको छ । यसका लागि विकिपिडियामा ती भाषामा सृजना गरिएका लेखरचना अहिले परीक्षणका रूपमा (इन्कुवेशन) समावेश गरिएको विकिमिडिया नेपालका प्रबन्धक गणेश पौडेलले बताए । थप गरिनेमा मैथिली, तामाङ, लिम्बू, शेर्पा, थारू, अवधि, गुरुङ र लेप्चा समुदायका भाषा रहेका छन् । थप गरिने यी भाषामध्ये मैथीली भाषाले आगामी २ महीनाभित्र विकिपिडियाबाट अनुमोदन पाउन सक्ने सम्भावना रहेको पौडेलले जानकारी दिए । विकिपिडियामा नयाँ भाषा समावेश गर्न नियमित रूपमा कम्तीमा ५ सय ओटासम्म लेख अपडेट गरेको हुनुपर्छ ।‘तर,अहिले विकिपिडियाले त्यो भाषा प्रयोगकर्ताको मूल्याङ्कन गरेर पनि अनुमोदन दिने गरेको छ,’ पौडेलले भने । समावेश गरिने भाषामध्ये मैथिलीको लेखरचना र प्रयोगकर्ताको सङ्ख्या बढी रहेकाले पनि विकिपिडियाले अनुमोदन गर्ने सम्भावना रहेको हो । 

अहिले विकिपिडियामा नेपालमा बोलिने नेपाली, नेवारी, भोजपुरी, पाली र संस्कृतभाषाका लेखरचना समावेश छन् । नेपालमा पनि विकिपिडिया प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको र नेपालभित्रका भाषालाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो प्रयास थालिएको विकिमिडिया नेपालले बताएको छ । विकिमिडियाका अनुसार हाल नेपालमा मात्रै १ सय २३ ओटा भाषा प्रयोग हुने गरेका छन् । भाषा प्रयोगकर्ताको सङ्ख्याका आधारमा आठओटा भाषा थप गर्ने योजना बनाइएको पौडेलले बताए । अहिले विकिपिडियामा विश्वभरका २ सय ८५ ओटा भाषामा विभिन्न विषयवस्तु समावेश गरिएको छ । 

आफै बन्नुहोस् सम्पादक

विकिमिडिया नेपालको पछिल्लो तथ्याङ्कअनुसार अहिले विकिपिडियामा समावेश गरिने नेपाली भाषाका विषयवस्तुको सम्पादन गर्ने मात्र १२ हजार ७ सय ३ जना सम्पादक छन् । त्यस्तै नेवारी र भोजपुरी दुवै गरी करीब ७ हजार सम्पादक छन् । नेपाली भाषामा समावेश गरिएका २३ हजार ३ सय ४१ ओटा लेखको अहिलेसम्म ३ लाख ४४ हजार १ सय ६६ पटक सम्पादन भइसकेको छ । तर, नेपाली भाषामा सक्रिय रूपमा सम्पादन गर्नेको सङ्ख्या भने जम्मा ८८ छ । एक दिनमा कम्तीमा तीनओटा नेपाली भाषाका लेख विकिपिडियामा अपडेट गरिन्छ । त्यस्तै एक दिनमा ५० ओटा लेख सम्पादन हुने गर्छन् । त्यसो भए विकिपिडियामा समावेश गरिएका सामग्रीको सम्पादन कसरी गर्ने त ? 

इण्टरनेट चलाउनेका लागि यो निकै सहज प्रक्रिया हो । आफ्नो कम्प्युटिङ डिभाइस (कम्प्युटर, ल्यापटप, मोबाइल, ट्याब्लेट आदि)मा विकिपिडियाअन्तर्गत कुनै विषयवस्तु सर्च गर्दा तपाईंले उक्त पेजको सबैभन्दा माथिको दाहिने भागमा ‘क्रिएट एकाउण्ट’ अप्शन देख्न सक्नुहुन्छ । सोही अप्सनमा क्लिक गरेर तपाईंले आफ्नो विकिपिडिया एकाउण्ट खोल्न सक्नुहुन्छ । एकाउण्ट खोलिसकेपछि तपाईंले विकिपिडियामा समावेश गरिएका विषयवस्तुको सम्पादन गर्न सक्नुहुन्छ । यति मात्र होइन, तपाईंका नयाँ किसिमका लेखरचना पनि त्यसमा अपडेट गराउन सकिन्छ । 

तपाईंले नियमित रूपमा पाँचओटा लेख सम्पादन गरिसकेपछि विकिपिडियाले एडमिनका लागि विश्वास गर्न सक्छ । तर, पूर्ण रूपमा एडमिन बन्न भने कम्तीमा २ सयओटा लेखरचना सम्पादन गर्नुपर्छ । एडमिन छनोटको काम सम्बन्धित देशको विकिमिडिया फाउण्डेशनले गर्छ । 

विश्वसनीयताको प्रश्न ?

विकिपिडिया ‘ओपन डाटाबेसमा’आधारित वेबसाइट हो । अर्थात्, सबैले यसका विषयवस्तुसँग सहज पहुँच र सम्पादन गर्ने अवसर पाउँछन् । जसरी ओपन सोर्समा आधारित सफ्टवेयर तथा एप्लिकेशनको प्रयोग गर्नका लागि खुला रहन्छ, यो पनि त्यस्तै सिद्धान्तमा आधारित हुन्छ । यसरी एकाउण्ट खोलेकै आधारमा जोकोहीले लेख समावेश गर्न पाउने तथा सम्पादन गर्न पाउने भएकाले विकिपिडियाका सामग्रीमा विश्वसनीयताको प्रश्न उठ्न सक्छ । 

विकिपिडिया वास्तवमा विश्वासकै आधारमा सञ्चालन गरिएको वेबसाइट हो ।‘कुनै पनि व्यक्तिले आफूले समावेश गरेको सामग्री गलत किसिमबाट प्रस्तुत गर्दैन भन्ने विकिपिडियाको मान्यता छ,’ पौडेल भन्छन् । तर, विकिपिडियाले विश्वसनीयतालाई एक मात्र आधार भने मान्दैन । यसका लागि विकिपिडियाले सामग्रीमा भएको हेरफेर र नयाँ समावेश गरिएका लेखको वास्तविकता निश्चित गर्न एडमिनको व्यवस्था गर्छ । प्रत्येक देशका विकिमिडिया फाउण्डेशनले एडमिनको छनोट गरेका हुन्छन् । यिनै एडमिनले नै विकिपिडियामा नयाँ समावेश गरिएका विषयवस्तुको अन्तिम सम्पादनको काम गर्छन् । गलत किसिमबाट तथ्याङ्कको प्रयोग भएमा त्यसको आधिकारिकता पनि एडमिनले नै निश्चित गर्छन् । सामान्य अर्थमा तपाईंले अपडेट गर्नुभएको विषयवस्तुको विश्वसनीयताको आधार निश्चित गर्ने व्यक्ति नै एडमिन हुन् । ‘सलाइ हुने सबै व्यक्तिले आगो लगाउँदैनन् भन्ने हाम्रो मान्यता हो,’पौडेल भन्छन् । 

विकिपिडियामा नेपालको ११ वर्ष

विकिपिडियामा नेपाली भाषाको पेज सञ्चालन भएको करीब १० वर्ष पूरा भएको छ । सन् २००३ जुन ३ देखि विकिपिडियामा नेपाली भाषाको पेज बनेको थियो । विकिपिडियाको संस्कृतको संस्करणलाई नेपाली रूपान्तरण गरेर इन्दिभर बडालले यसको शुरुआत गरेका थिए । तर, त्यतिबेला नेपालमा विकिपिडिया प्रयोग गर्नेको सङ्ख्या भने धेरै थिएन । सन् २००७ देखि मात्र विकिपिडियाको नेपाली पेज प्रयोग गर्नेको सङ्ख्या बढेको हो । यलमाया केन्द्रमा नियमित रूपमा हुने भाषासम्बन्धी कार्यक्रममा विकिपिडियाको प्रचार शुरू गरेसँगै नेपाली प्रयोगकर्ताको सङ्ख्या बढेको इन्दिभर बताउँछन् । विकिपिडियामा नेपालको महत्वपूर्ण समयरेखा :

 सन् २००७ अप्रिल २८ : नेपाली भाषामा विकिपिडियामा १ हजार खेल रचना अपडेट

 सन् २००७ सेप्टेम्बर १५ : नेपाली विकिपिडियाले पहिलोपटक सफ्टवेयर स्वतन्त्रता  दिवसमा सहभागिता जनाएको

 सन् २०१२ जुन : नेपाली विकिपिडियामा १३ हजार लेख प्रकाशित

 

के हो विकिमिडिया नेपाल ?

विकिपिडियाले आफ्नो वेबसाइटमा समावेश गरिने विषयवस्तु तथा भाषा व्यवस्थापनका लागि विकिमिडिया स्थापना गरेको हो । विकिमिडियाले विभिन्न देशमा यसको शाखा स्थापना गरी भाषा विस्तार तथा व्यवस्थापनको काम गर्छ । यसरी स्थापना गरिने विकिमिडियाका शाखाले नै सम्बन्धित देशको विषयवस्तु छनोट तथा त्यहाँको सम्पूर्ण व्यवस्थापन गर्छ । विकिमिडिया नेपाल पनि विकिपिडियाको नेपालस्थित शाखा हो । यसले नेपालसँग सम्बन्धित विभिन्न विषयवस्तु तथा यहाँका स्थानीय भाषालाई विकिपिडियामा समावेश गराउने काम गर्छ । यो एउटा गैरनाफामुखी संस्था हो । 

विकिपिडियामा नेपाल

नेपाली भाषा शुरू : सन् २००३ जुन ३

हाल उपलब्ध भाषा : नेपाली, नेवारी, संस्कृत, पाली, भोजपुरी

नेपाली भाषामा समावेश लेख सङ्ख्या : २३ हजार ३ सय ४१

हालसम्मका सम्पादक सङ्ख्या : १२ हजार ७ सय ३ (तर सबै सक्रिय होइनन्)

विकिमिडिया नेपालको स्थापना : सन् २०१० जुलाई १७

विकिपिडियामा नेपाल
नेपाली भाषा शुरू : सन् २००३ जुन ३
हाल उपलब्ध भाषा : नेपाली, नेवारी, संस्कृत, पाली, भोजपुरी
नेपाली भाषामा समावेश लेख सङ्ख्या : २३ हजार ३ सय ४१
हालसम्मका सम्पादक सङ्ख्या : १२ हजार ७ सय ३ (तर सबै सक्रिय होइनन्)
विकिमिडिया नेपालको स्थापना : सन् २०१० जुलाई १७

विकिपिडियामा नागरिक बडापत्र

सरकारी कार्यालयको झन्झटिलो प्रक्रियाबाट समस्या भोग्दै आएका सेवाग्राहीलाई गलीगली नामक संस्थाले सहज व्यवस्था गरिदिएको छ । सरकारी कार्यालयमा पेश गर्नुपर्ने आवश्यक कागजात तथा प्रक्रियाबारे उक्त संस्थाले सबै जानकारी अनलाइनमा उपलब्ध गराउने संस्थापक साकार पुडासैनीले बताए । कम्पनीले राइट टू इन्फर्मेशन (आरटीआई) सेण्टरसँगको सहकार्यमा उक्त कार्यक्रम गर्दै आएको छ ।‘आरटीआई सेण्टरले हामीलाई उपलब्ध गराएका सबै कार्यालयको जानकारी अनलाइनमा उपलब्ध गराइरहेका छौं,’ उनले भने,‘यो एक किसिमको नागरिक बडापत्र नै हो ।’ 

संस्थाले डब्ल्यूडब्ल्यूडब्ल्यू डट मैदलाल डट ओआरजी नामक वेबसाइटमा त्यस्तो जानकारी उपलब्ध गराउँछ । उक्त वेबसाइटमा भएका सबै जानकारी विकिपिडियामा पनि हेर्न सकिने पुडासैनीले जानकारी दिए । कम्पनीले मिडियाविकीसँगको सहकार्यमा विकिपिडियामा त्यस्ता जानकारी अपडेट गर्छ । यसबाहेक उक्त वेबसाइटमा उच्च शिक्षा अध्ययनका लागि सुझाव, कक्षा नोट आदि पनि उपलब्ध गराइने उनले जानकारी दिए । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।