समग्र विकासको आधार
सम्पूर्ण सरकारी तथ्याङ्कलाई एकीकृत गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको राष्ट्रिय सूचनाप्रविधि केन्द्रले राष्ट्रिय परिचयपत्र निर्माण, डिजिटल हस्ताक्षरको व्यवस्थापन, मेशिन रिडेबल पासपोर्टजस्ता विषयको तथ्याङ्क सङ्कलन गर्ने कार्य गर्नेछ ।
संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष प्रकाशन गर्ने मानव विकास सूचकाङ्कको नतीजामा नेपालले प्राप्त गर्ने स्थानप्रति यहाँका प्रविधिविज्ञको सधै आपत्ति रहन्छ । त्यस्तै विभिन्न सङ्घसंस्थाले नेपालको विकासको पक्षलाई लिएर गर्ने अनुसन्धानको नतीजामा पनि उनीहरू सहमत हुँदैनन् । त्यस्तो नतीजामा नेपालको अवस्था कमजोर भएका कारण नेपाली विज्ञहरू सहमत नभएका होइनन् । विकासको महत्वपूर्ण पक्ष मानिने सूचनाप्रविधिलाई यसभित्र नसमेटिँदा सही तथ्याङ्क नआएको उनीहरूको जिकीर छ । विकासका सूचकाङ्कमा नेपालको एक दशकअघिको प्रविधि प्रयोगको अवस्था र अहिलेको अवस्थासँग तुलनात्मक भिन्नता नदेखाइएको इण्टरनेट सर्भिस प्रोभाइडर्स एशोसिएशन अफ नेपाल (आईएस्पान)का अध्यक्ष विनय बोहरा बताउँछन् । उनी भन्छन्, ‘नेपालको विकासको पछिल्लो अवस्थालाई मूल्याङ्कन गर्ने हो भने यसमा प्रविधिको योगदानलाई अलग राख्न मिल्दैन ।’
नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको फागुन महीनासम्मको तथ्याङ्कमा नेपालमा टेलिफोनका ग्राहक सङ्ख्या १ करोड ९५ लाख ८० हजार ७ सय ८९ पुगेको छ, जुन कुल जनसङ्ख्याको ७३ दशमलव ८८ प्रतिशत हुन आउँछ । त्यस्तै कुल जनसङ्ख्याको २३ दशमलव ६९ प्रतिशत जनतासम्म इण्टरनेटको पहुँच पुगेको उक्त तथ्याङ्कमा उल्लेख छ । टेलिकम क्षेत्रमा निरन्तर हुँदै आएको यस्तै प्रगतिलाई आधार मानेर नेपाल सरकारले कोरिया सरकारको सहयोगमा सन् २००६ मा ई–गभर्मेण्टको अवधारणा सार्वजनिक गरेको थियो । विघटित सूचनाप्रविधि उच्चस्तरीय आयोगले तयार पारेको ई–गभर्मेण्टसम्बन्धी नेपालको अवस्थामा यसलाई मुख्यतः सामाजिक आर्थिक विकासमा जोड दिइएको पाइन्छ । यसै अवधारणालाई कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सूचनाप्रविधि केन्द्र सञ्चालनमा ल्याएको छ । सम्पूर्ण सरकारी तथ्याङ्कलाई एकीकृत गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त केन्द्रले राष्ट्रिय परिचयपत्र निर्माण, डिजिटल हस्ताक्षरको व्यवस्थापन, मेशिन रिडेबल पासपोर्टजस्ता विषयको तथ्याङ्क सङ्कलन गर्ने कार्य गर्नेछ । यसबाट देशभरका सबै तथ्याङ्कको सुरक्षित सङ्कलन तथा सहज प्रयोग गर्न सकिने केन्द्रका कार्यकारी निर्देशक अनुप बास्कोटा बताउँछन् ।
विकास कसरी त ?
ई–गभर्मेण्टको अवधारणा सबै सरकारी कामलाई कम्प्युटराइज्ड प्रविधिमा बदल्ने मात्र होइन । सरकारी कामको लामो प्रक्रियालाई छोट्याएर सेवाग्राहीलाई अधिकतम सेवा प्रदान गर्नेतर्फ ई–गभर्मेण्ट लक्षित हुनुपर्ने प्रमाणीकरण नियन्त्रण शाखाका प्रमुख राजनराज पन्त बताउँछन् । उनी भन्छन्, ‘ई–गभर्मेण्ट प्रविधिको प्रयोग विकासलाई टेवा पुर्याउनेतर्फ लक्षित हुन्छ ।’ ई–गभर्मेण्टको अवधारणाअनुसार सम्पूर्ण सरकारी कार्यालय एकअर्कामा आबद्ध हुन्छन् । यसबाट एउटा कार्यालयलाई अर्को कार्यालयको सहयोग आवश्यक परेमा इण्टरनेट अथवा अन्य कुनै माध्यमबाट त्यहाँको सूचना लिन सक्छन् । त्यस्तै सर्वसाधारणले पनि सरकारी कार्यालयमा आवश्यक पर्ने कागजात, शुल्क तथा त्यहाँको प्रक्रियाबारे वेबसाइटबाटै जानकारी लिन सक्छन् । विस्तृत रूपमा कार्यालयमै नपुगी सेवाग्राहीले घरबाटै सम्पूर्ण काम सम्पन्न गर्न सक्छन् । सम्पूर्ण सरकारी तथ्याङ्क एउटै माध्यमबाट प्राप्त हुन सकेमा समय तथा खर्च दुवैको बचत हुने पन्तको भनाइ छ । ई–गभर्मेण्टमा सबै पक्ष अन्तरसम्बन्धित हुने उनी बताउँछन् । त्यस्तै प्रविधिको प्रयोगले कागज तथा शारीरिक प्रयोग घटाएर सरकारी खर्च कम गर्ने उनको भनाइ छ । ‘यस्ता प्रभावले राष्ट्रको विकास ठूलो भूमिका खेल्छ,’ उनी भन्छन् ।
के हो ई–गभर्मेण्ट ?
सरकारी काममा विद्युतीय प्रविधिको प्रयोग गर्नु ई–गभर्मेण्टको सामान्य सिद्धान्त हो । यसअन्तर्गत सम्पूर्ण सरकारी सूचना तथा प्रक्रियालाई एकअर्कामा आबद्ध गरी जनतालाई दु्रत सेवा प्रदान गर्ने लक्ष्य लिइएको हुन्छ । समग्रमा ई–गभर्मेण्टको उद्देश्य देश विकास नै हो । तर, यस्तो विकासमा प्रविधिको प्रयोगलाई अवधारणाले जोड दिन्छ ।
अनुप बास्कोटा
कार्यकारी निर्देशक
राष्ट्रिय सूचनाप्रविधि केन्द्र
ई–गभर्मेण्ट विकासको महत्वपूर्ण पक्ष हो
एक दशकअघिको नेपालको सूचनाप्रविधिको क्षेत्रलाई मूल्याङ्कन गर्ने हो भने हामी धेरै पछाडि थियौं । सम्भ्रान्त वर्गले मात्र प्रविधिका साधन प्रयोग गर्थे । तर, अहिले परिवेश बदलिएको छ । विशेषगरी टेलिकम्युनिकेशनको क्षेत्रमा नेपालमा जुन किसिमको प्रगति भएको छ, यसले चेतनाको विस्तार गरी राष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रविधिकै प्रयोग गरेर अहिले सरकारअन्तर्गतका विभिन्न निकायको कामको प्रक्रिया निकै सहज भएको छ । तर, सरकारी कार्यप्रणालीमा अहिले एउटा समस्या विद्यमान छ । प्रविधिको उपलब्धता भए पनि त्यसअनुसार विभिन्न सरकारी निकायमा अन्तरआबद्धता नहुँदा त्यसको समुचित लाभ भने लिन सकिएको छैन । राजस्व सङ्कलनदेखि आमजनतामा चेतना विस्तारमा प्रविधिको प्रयोग महत्वपूर्ण मानिन्छ । विकसित देशहरूले अहिले प्रविधिलाई नै विकासको मुख्य आधारका रूपमा प्रयोग गर्न थालेका छन् । प्रविधिको समुचित प्रयोग गर्ने हो भने सेवाग्राहीले धेरै राहत पाउन सक्छन् । यसले झन्झटिलो सरकारी प्रक्रियालाई सहज र छिटो बनाउँछ । समग्रमा यसको प्रयोगको प्रभाव ई–गभर्मेण्टको अवधारणालाई कार्यान्वयन गर्ने बलियो पक्ष बन्न पुग्छ ।
विनोद ढकाल
अध्यक्ष, कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)
ई–गभर्मेण्टको अवधारणामा निजीक्षेत्र सहयोग गर्न तयार छ
वद्यतुीय प्रविधिको प्रयोग गरी नेपाललाई विकासतर्फ अग्रसर बनाउन ल्याइएको ई–गभर्मेण्टको अवधारणामा केही हदसम्म प्रगति भइरहेको छ । तर, त्यही नै पूर्ण भने छैन । अझ जुन लक्ष्य र उद्देश्यका साथ यो अवधारणा ल्याइएको हो, यसमा सरकारी प्रयास त्यति सक्रिय भने छैन । अहिले सबै किसिमका काममा प्रविधिको प्रयोग शुरू भइसकेको छ । समग्र विकासमा यसको प्रयोग हुन थालेको छ । तर, नेपालको सन्दर्भमा यसको कार्यान्वयनको अवस्था कमजोर छ । सरकारले उपलब्ध साधनको उचित प्रयोग गर्न सकिरहेको छैन । यो अवधारणाअन्तर्गत जति पनि काम भएका छन्, त्यसको प्रत्यक्ष फाइदा सर्वसाधारण जनताले अनुभव गर्न पाएका छन् । ई–गभर्मेण्टको सिद्धान्त त सेवाग्राहीलाई सहज किसिमबाट सेवासुविधा उपलब्ध गराउनु हो । तर, यसले ल्याएको परिवर्तन अझै महसूस भने गर्न सकिएको छैन । नेपालमा सूचनाप्रविधिको विकासमा निजीक्षेत्रले जुन किसिमको प्रगति गरेको छ, यसको तुलनामा सरकार धेरै पछाडि छ । तर, निजीक्षेत्र सरकारको ई–गभर्मेण्टको अवधारणालाई सधैं पूरा गर्न तयार छ । यसमा केवल सरकारको दृढ इच्छाशक्ति आवश्यक छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।