
काठमाडौं । नेपालको कुल खेतीयोग्य जमीनमध्ये करीब आधा हिस्सामा धान उत्पादन हुने गरेता पनि धान आयातमा भने कमी देखिएको छैन । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७४/७५ को १० महीनाको अवधिमा नेपालमा कुल १ लाख ५० हजार मेट्रिक टनभन्दा बढी धान आयात भएको छ । यसको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी रहेको तथ्याङ्कमा उल्लेख छ ।
विभागको तथ्याङ्कअनुसार आव २०७३/७४मा नेपालले १ लाख ६३ हजार मेट्रिक टन धान आयात गरेको छ । मुलुकलाई धान उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिइरहँदा समेत धान आयात निरन्तर रूपमा भइरहेको विभागको तथ्याङ्कले स्पष्ट पारेको छ । सँगैसँगै चामल आयातको क्रम पनि हरेक वर्ष वृद्धि भइरहेको देखिन्छ । चालू आवको १० महीनामा २० अर्ब रुपैयाँबराबरको चामल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो समय मुलुकभित्रको खेतीयोग्य जमीनको क्षेत्रफल घट्दै गई मात्रै ३२ लाख हेक्टरमा सीमित भएको छ । खेतीयोग्य जमीनमध्ये हाल १५ लाख ५२ हजार हेक्टरमा धान खेती हुने गरेको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार कुल खेतीयोग्य जमीनमध्ये नेपालमा धान उत्पादनले ४७ दशमलव ५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । साथै, नेपालमा हुने कुल धान उत्पादनको करीब ७० प्रतिशत हिस्सा भने तराईमा हुने गरेको छ ।
धानलाई नेपालको प्रमुख खाद्यान्न बालीको रूपमा मानिन्छ । हाल मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडिपी)मा समग्र कृषि क्षेत्रको हिस्सा २७ प्रतिशत छ । कृषिको कुल गार्हस्थ्यमा धानको हिस्सा २० प्रतिशत छ । वार्षिक रूपमा उत्पादन हुने धानमा १० प्रतिशतले कमी आउँदा मुलुकको जीडीपी पनि १ प्रतिशतले घटबढ हुने मन्त्रालयको ठहर छ । आर्थिक सर्वेक्षण २०७४/७५को अनुसार मुलुकमा चालू आवमा धान उत्पादनमा १ दशमलव ५ प्रतिशतले कमी आएको छ ।
यद्यपि, धानको उत्पादकत्व भने गत आवको तुलनामा ४ दशमलव १ प्रतिशतले बढेर ३ दशमलव ५ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । गुणस्तरीय बीउको अभाव, किसानको रोजाइमा पुरानै बीउ पर्नुलगायतका कारण धान उत्पादनमा हरेक वर्ष उतारचढाव आउने गरेको कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले बताए । धानबालीको विकास र प्रवद्र्धनमा रणनैतिक प्रयासको शुरुआत भने भइसकेको उनले जानकारी दिए ।
१५औं राष्ट्रिय धान दिवस आज
‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ १५औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव शुक्रवार देशभर मनाइँदै छ । हरेक वर्षझैं यस वर्ष पनि सरकारले धान दिवस मनाउन लागेको हो । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले यस वर्षको धान दिवसको कार्यक्रम कपिलवस्तुबाट औपचारिक रूपमा उद्घाटन गर्ने भएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।