दोस्रो प्रि–क्वाटरफाइनलमा आज विश्व विजेता उरुग्वे र पोर्चुगल बीच राति ११ः४५ बजे खेल हुँदैछ । उरुग्वे समूह ‘ए’मा तीन ओटै खेल जितेर समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने समूह ‘बी’मा एकमा जीत र दुईमा बराबरी खेलेको पोर्चुगल समूह उपविजेता बनेको हो । उरुग्वेले सन् १९३० को पहिलो संस्करणको विश्वकम आफ्नै देशमा आयोजना गर्दै उपाधि समेत जितेको छ भने सन् १९५० मा दोस्रो विश्वकप जितेको छ । पोर्चुगलले सन् १९६६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।
यी दुईको भेट यसअघि दुई पटक भएको छ । तर विश्वकपमा भने यी दुई बीचको यो पहिलो भेट हो । सन् १९६६ मा पहिलो अन्तरराष्ट्रिय मैत्री खेलमा पोर्चुगलले उरुग्वेलाई ३–० ले पराजित गरेको थियो भने सन् १९७२ को इण्डिपेण्डेण्ट्स कपको समूह चरणमा यी दुईले १–१ को बराबरी खेलेका छन् । त्यसयता कुनै पनि खेलमा आमनेसामने नभएका दुबै टीमले जारी विश्वकपको समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । पोर्चुगलका रोनाल्डोले जारी विश्वकपमा स्पेन विरुद्धको खेलमा ह्याट्रिक गरे । उक्त खेल ३–३ को बराबरीमा सकियो । उरुग्वे पनि समूह चरणमा अपराजित रह्यो । यसर्थ यी दुई बीचको नकआउट चरणको खेल रोमाञ्चक हुने देखिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।