रसियामा जारी विश्वकप फूटबलको पहिलो प्रि–क्वाटरफाइनमा आज दुई विश्व विजेता टीम अर्जेण्टिना र फ्रान्स भिड्दै छन् । फ्रान्स समूह ‘सी’को विजेता र अर्जेण्टिना समूह ‘डी’को उपविजेता बन्दै प्रि–क्वाटरफाइनल प्रवेश गरेका हुन् । समूह चरणमा फ्रान्सले दुई खेल जितेको छ भने १ बराबरी खेलेको छ । यस्तै अर्जेण्टिनाले एकमा जित, एकमा हार र एक बराबरी खेलेको छ । अर्जेण्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको छ भने फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधि जितेको छ ।
आज १२औँ पटक यी दुई आमनेसामने हुँदैछन् । यसअघिका ११ खेलमा अर्जेण्टिनाले छ पटक जितेको छ भने फ्रान्सले दुई पटक मात्रै जितेको छ । तीन खेल बराबरी भएको छ । विश्वकपका लागि भने यी दुई आज तेस्रो पटक भिड्दैछन् । सन् १९३० को पहिलो विश्वकपको समूह चरणमा पहिलो पटक भएको यी दुई बीचको खेलमा अर्जेण्टिनाले फ्रान्सलाई १–० ले पराजित गरेको थियो । यस्तै सन् १९७८ को विश्वकपको समूह चरणमा पनि अर्जेण्टिनाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो । यस पटक फ्रान्सलाई अघिल्ला दुई विश्वकपको हारको बदला लिँदै अर्जेण्टिनालाई प्रि–क्वाटरफाइनलबाट घर पठाउने अवसर मिलेको छ । यद्यपी सन् २००७ र २००९ मा भएका पछिल्ला दुई खेलमा फ्रान्स अर्जेण्टिनासँग पराजित भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।