पहिलो क्वाटरफाइनलमा फ्रान्स र उरुग्वे भिड्ने, अर्जेण्टिना र पोर्चुगलको यात्रा सकियो

Share News

असार १७, काठमाडौं (अस) । रसियामा जारी विश्वकप फूटबलमा दुई विश्व विजेता उरुग्वे र फ्रान्स क्वाटरफाइनल प्रवेश गरेका छन् । शनिवारको खेला अर्जेण्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्स र पोर्चुगललाई २–१ ले पराजित गरेको उरुग्वे क्वाटरफाइनल प्रवेश गरेका हुन् । अब शुक्रवार राति ७ः४५ बजे हुने पहिलो क्वाटरफाइनलमा यी दुई विश्व विजेताले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

उरुग्वेले शुक्रवार सातौँ पटक विश्वकपको क्वाटरफाइनल खेल्दैछ भने फ्रान्सले आठौँ पटक खेल्दैछ । उरुग्वेले सन् १९३० र १९५० को विश्वकप जितेको छ भने फ्रान्सले सन् १९९८ को विश्वकप जितेको छ । रसिया विश्वकपमा यी दुई विश्व विजेतामध्ये एकले मात्रै सेमिफाइनल यात्रा तय गर्नेछन् ।

अर्जेण्टिना र पोर्चुगलको विश्वकप यात्रा सकियो अर्जेण्टिना र पोर्चुगल प्रि–क्वाटरफाइनलबाटै बाहिरिएका छन् । अर्जेण्टिना फ्रान्ससँग ४–३ ले पराजित भएको हो भने पोर्चुगल उरुग्वेसँग २–१ ले पराजित भएको हो ।

अर्जेण्टिनाविरुद्धको खेलमा १३ औँ मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका ग्रीजम्यानले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । निक्कै प्रतिस्पर्धात्मक खेलको ४१ औँ मिनेटमा अर्जेण्टिनाका डि मारियाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । ४८ औँ मिनेटमा अर्जेण्टिनाले गोल गर्दै खेलमा अग्रता लिए पनि ५७ औँ मिनेटमा फ्रान्सले दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । ६४औँ र ६८औँ मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सले पुनः खेलमा ४–२ अग्रता लियो । त्यसपछि खेलमा फर्किने प्रयास गरेको अर्जेण्टिनाले अतिरिक्त समयको तेस्रो मिनेटमा एक गोल मात्रै फकाउन सक्यो । यो जितसँगै फ्रान्स क्वाटरफाइनल प्रवेश गरेको छ ।

यस्तै शनिवारको दोस्रो खेलमा पोर्चुगलविरुद्ध उरुग्वेले सातौँ मिनेटमा पहिलो गोल गर्‍यो । पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलले ५५ औँ मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा पुनरागनमन गरेपनि ६२ औँ मिनेटमा उरुग्वेले दोस्रो गोल गर्दै खेल आफ्नो पक्षमा ल्यायो । त्यसपछि कुनै पनि गोल हुन सकेन र पोर्चुगल २–१ ले पराजित भयो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।