असार २१, बैङ्कक । थाइल्याण्डमा विश्वकप फूटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन् । प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधवार सार्वजनिक गरेका हुन् ।
उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फूटबलका बेलाकोभन्दा अहिले पक्राउ पर्नेहरूको सङ्ख्या दोब्बर भएको हो । अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको र पक्राउ पर्ने पनि देशभरीका रहेको बताइएको छ । प्रहरी अधिकारीहरूले बाजी खेल्नेहरू अत्यन्त धेरै बढेको पनि बताएका छन् । प्रहरीले यसलाई एक प्रकारको जुवाको रूपमा लिएर बाजी खेल्न प्रतिबन्ध लगाउने गरेको भए पनि खेल्नेक्रम भने रोकिएको छैन । बाजी खेल्दा जुवामा जस्तो ठूलो रकम हारजीत हुने भएकाले सामाजिक तथा पारिवारिक अवस्थामा समेत असर पर्ने गरेको छ । पक्राउ पर्नेमा यस्ता बाजी खेलाउनेहरू पनि परेका छन् । उनीहरूले यसलाई व्यवसायकै रूपमा सञ्चालन गरेको पाइएको प्रहरीको भनाई छ । रासस÷सिन्ह्वा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।