काठमाडौं (अस) । रुसमा जारी फिफा विश्वकपको २१औं संस्करणमा गोल्डेन बुटको दौडमा बेलायती टोलीका कप्तान ह्यारी केन सबैभन्दा अगाडि छन् । कोलम्बियासँगको खेलमा गोलको खाता खोलेका केनले समूह चरण र एउटा नक आउट खेलमा गरी ६ गोल गरेका छन् । उनी यस विश्वकपमा अहिलेसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनी १९८६ यता बेलायतको पहिलो गोल्डेन बुट जित्ने खेलाडी बन्ने क्रममा छन् । २०१० र २००६ को विश्वकपमा ५/५ गोल गर्ने खेलाडी थोमस मुलर र मिरोस्लाभ क्लोजले गोल्डन बूट जितेका थिए ।
उनी पछिको दोस्रो दाबेदारका रुपमा बेल्जियम टोलीका रोमेलु लुकालु छन् । लुकालुले बेल्जियमका लागि खेलेको दुई खेलमा २/२ गोल गरेका छन् । अहिलेसम्म उनको खातामा चार गोल छ । लुकाकुसँगै चार गोल गरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि दोस्रो स्थानमा थिए । तर पहिलो नक आउट खेलमा उरुग्वेसँगको हारपछि पोर्चुगल घर फर्किसकेको छ । त्यसैले यस दाबेदारीमा केन र लुकालु दुबैलाई रोनाल्डोको तर्फ बाट कुनै खतरा छैन ।
यस विश्वकपमा ३ गोल आफ्नो खातामा लेखाउन सफल ६ खेलाडी छन् । विश्वभरका फूटबल फ्यानलाई अचम्मित तुल्याउँदै आयोजक रुसले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । जबकी फिफा वरीयताका आधारमा विश्वकपमा सहभागीमध्ये सबैभन्दा तल रहेको रुसलाई समूह चरणबाटै बाहिरिने अनुमान गरिएको थियो ।
रुसी टोलीका २ खेलाडी डेनिस चेरिशेव र अर्तेम डिज्यूबाले आफ्नो खातामा ३/३ गोल दर्ता गराउन सफल भएका छन् ।
त्यस्तैगरी, फ्रान्सका केलियन एम्बाप्पे पनि दाबेदारीको दौडमा छन् । तीन गोल गरेर उनले क्वार्टरफाइनलमा फ्रान्सको लागि स्थान सुनिश्चित गरेका थिए । फाइनलसम्म खेल्ने मौका मिलेमा ३/३ गोल गरेका कोलम्बियाको येरी मिना र उरुग्वेका इडिन्सोन काभानीले पनि गोल्डेन बूट जित्ने झिनो आशा छ ।
१९७४ यताको विश्वकपमा तीन संस्करण बाहेक सबैमा ६ गोल गर्ने खेलाडीले गोल्डेन बूट जितेका छन् । केनले अहिले नै ६ गोल गरिसकेका छन् । बेलायत फाइनलसम्म पुग्न सक्यो भने उनको खातामा थप गोल थपिन सक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।