५२ वर्षपछि दोस्रो उपाधि जित्ने इङ्ल्याण्डको सपना चकनाचुर (यस्तो रह्यो यात्रा)

Share News

असार २८, काठमाडौं (अस) । रसियामा जारी फिफा विश्वकप फूटबल अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको इङ्ल्याण्डको ५२ वर्षपछि दोस्रो उपाधि जित्ने सपना चकनाचुर भएको छ । सन् १९६६ मा आफ्नै देशमा आयोजित विश्वकपको आठौँ संस्करणको उपाधि जितेको इङ्ल्याण्ड त्यसपछि सन् १९९० मा पनि सेमिफाइनलबाट बाहिरिएको थियो ।

रसिया विश्वकपमा दुई विश्वविजेताको भिडन्त हुनेमा धेरै विश्वस्त थिए । तेस्रो पटक विश्वकपको सेमिफाइनल खेल्दै गर्दा इङ्ल्याण्डलाई धेरैले फाइनलमा फ्रान्ससँगको प्रतिस्पर्धीको रुपमा उभ्याइसकेका थिए । तर दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसियाले बुधवार राति सबैको अनुमानलाई उल्ट्याउँदै इङ्ल्याण्डलाई नमिठो हार चखायो र आफू पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्‍यो ।

यस्तो रह्यो इङ्ल्याण्डको विश्वकप यात्रा रसिया विश्वकपमा इङ्ल्याण्डका लागि सेमिफाइनलसम्मको यात्रा तुलनात्मक रुपमा सहज देखियो । राउण्ड रोविन लिग चरणका लागि समूह ‘जी’मा रहेको इङ्ल्याण्डसँग बेल्जियम, ट्युनिसिया र पनामा थिए । पनामा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो भने ट्युनिसिया पनि तुलनात्मक रुपमा कमजोर टोली थियो । यस हिसाबले बेल्जियमसँगै इङ्ल्याण्ड दोस्रो चरण पुग्ने शुरुमै पक्काजस्तै थियो र भयो पनि ।

समूह चरणको शुरुका दुई खेल जितेका बेल्जियम र इङ्ल्याण्ड अन्तिम खेलमा समूह विजेता र उपविजेता को हुने ? भन्ने निक्र्योल गर्न भिड्नुपर्ने थियो । तर यो खेल दुबैले जित्न नचाहेको भनेर चर्चा गरियो । कारण थियो, विजेता टोलीले दोस्रो चरणमा र तेस्रो चरणमा बलिया टोलीको सामना गर्नुपर्थ्यो भने उपविजेता टोलीले तुलनात्मक रुपमा कमजोर मानिएका टोलीको सामना गर्नुपर्थ्यो । जित्न नचाहेको खेलमा बेल्जियमले एक गोल गरेपछि इङ्ल्याण्डले सोचेजस्तै भयो ।

समूहको उपविजेता बनेको इङ्ल्याण्डले अन्तिम १६ मा कोलम्बियासँग पेनाल्टी सुटआउटबाट जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । यसैगरी क्वार्टरफाइनलमा स्वीडेनलाई २–० ले हराउँदै सेमिफाइनल पुगेको इङ्ल्याण्डलाई क्रोएसियाले नसोचेको नतिजा हातमा राखिदिँदै घर पठाइदियो ।

समूह चरणदेखि सेमिफाइनलसम्मका छ खेलमध्ये ४ ओटा जितेको इङ्ल्याण्डले कुल १२ गोल गर्‍यो । इङ्ल्याण्डका ह्यारी केन अहिलेसम्म पनि सर्वाधिक गोलकर्ता छन् । उनले समूह चरणमा पनामाविरुद्ध ह्याट्रिकसहित छ गोल गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।