यसपटकको विश्वकप अकल्पनीय भयो । विश्वकप उपाधिको दाबेदार ठानिएका ब्राजिल, जर्मनी, पोर्चुगल अर्जेण्टिनालगायत बलिया टोलीलाई भाग्यले साथ दिएन । केही टोलीले खेलमा हार बेहोरे पनि फ्यानको मन जित्नुलाई नै ठूलो उपलब्धि ठानेर चित्त बुझाए । कतिले सोच्दै नसोचेको सफलता पनि हात पारे । हप्तौंको प्रतीक्षा अन्त्य गर्दै फाइनल खेलको दिन आएको छ । आइतवार हुने विश्वकप फाइनलमा पहिलोपटक उपाधि चुमेर इतिहास रच्ने क्रोएशियाको धोको पूरा होला त ? कि दोस्रोपटक विश्वकप विजेता बन्ने फ्रान्सको चाहना पूरा होला ? यो त हेर्न बाँकी नै छ ।
क्रोएशिया
यो क्रोएशियाको पाँचौं विश्वकप हो । तर, अन्तिममा पुग्ने उसको धोको यसपालि मात्रै पूरा भयो । यसअघि १९९८ मा फ्रान्सले विश्वकप उपाधि चुम्दा सेमिफाइनलमा क्रोएशियाले फ्रान्ससँगै हारेको थियो । त्यतिबेला नेदरल्याण्डलाई हराएर क्रोएशियाले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । २० वर्षपछि १९९८ को हारको बदला लिने मौका क्रोएशियाले पाएको छ । विश्वकपको फाइनलमा पुग्नु क्रोएशियाका लागि समेत अकल्पनीय छ । फिफाको विश्व वरीयतामा २०औं स्थानमा रहेको क्रोएशिया फाइनलमा पुग्ने सबैभन्दा कम वरीयताको टोली हो । फूटबलमा यो उनीहरूको अहिलेसम्मकै ठूलो सफलता हो । यसपटक विश्वकपमा क्रोएशियाले जत्तिको मेहनत कसैले गरेको छैन । कतिपयले त यो टोलीलाई विश्वकपमा पुग्न अहिलेसम्मकै कठिन मेहनत गरेको टोली पनि भनेका छन् ।
फ्रान्स
यो फ्रान्सको १५औं विश्वकप हो । १९९८ मा उपाधि चुमेयता उसको सबैभन्दा ठूलो उपलब्धि भनेको २००६ मा उपविजेता बन्नु नै हो । यसपटक पनि विश्वकप उचाल्नु उसका लागि कीर्तिमान नै हुनेछ । यसपटक उपाधि पोल्टामा पार्न सके घरमै आयोजित यूरोपेली च्याम्पियनशिपको फाइनलमा पोर्चुगलसँगको हारको घाउ निको हुन्थ्यो । यसपटकको विश्वकपमा फ्रान्सले पनि कम मेहनत गरेको छैन । यो टोलीमा किलियन एम्बाप्पे, पल पोग्बालगायत नाम चलेका कयौं खेलाडी छन् । अनुभवका आधारमा पनि फ्रान्स नै बलियो देखिन्छ ।
सम्भावना कसको धेरै ?
यसपटक फ्रान्सले उपाधि चुम्नेमा ढुक्क छन् दर्शकहरू । यसको एउटा कारण फ्रान्सेली टोलीले क्रोएशियाभन्दा २४ घण्टा अगावै सेमिफाइनल खेल्न पाउनु र उसले नकआउट चरणमा खेलेका सबै खेलहरू निर्धारित ९० मिनेटमै सकिनु पनि हो । क्रोएशियालाई समूह चरणपछिका तीनओटै खेल जित्न अतिरिक्त समय चाहिएको थियो । दुईओटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत लगाइएको थियो । अनुभवका आधारमा पनि फ्रान्स नै बलियो देखिन्छ ।
तर, क्रोएशिया पनि कम भने छैन । मिडफिल्डर लुका मोड्रिक, डिफेण्डर डोमागोज भिडालगायत क्षमतावान् खेलाडीहरूले भरिएको यो टोलीले फ्रान्सको सपना चकनाचुर पार्न पनि सक्छ । उपाधि चुम्ने सपना कसको पूरा हुन्छ, यसका लागि भने आइतवारको खेल नै हेर्नुपर्छ ।
प्रस्तुति : रमा सुवेदी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।