
काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को जेठ मसान्तमा नेपालको चालू खाता रू. २ खर्ब ९ अर्बले घाटामा गएको छ । नेपाल राष्ट्र बैङ्कले सोमवार सार्वजनिक गरेको ११ महीनाको समष्टिगत आर्थिक प्रतिवेदनले चालू खाता घाटा चुलिएको देखाएको हो । गत आवको सोही अवधिमा यस्तो घाटा रू. २ अर्ब ९९ करोड मात्र थियो ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार ११ महीनाको चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करीब ७ प्रतिशत पुगेको छ । चालू आवको जीडीपी प्रचलित मूल्यमा करीब ३० अर्ब रुपैयाँ हुने अनुमान छ । यसरी जीडीपीको तुलनामा चालू खाता घाटा बढ्नु अर्थतन्त्र बाह्य सन्तुलनका दृष्टिले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थशास्त्रीहरू बताउँछन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शङ्कर शर्माले चालू खाता उच्च घाटामा रहँदा अर्थतन्त्र कुनै पनि समय बाह्य दायित्व बहन गर्न नसक्ने अवस्थामा पुग्नसक्ने जोखीम हुने अभियानलाई बताए ।
चालू खाता घाटासँगै समग्र शोधनान्तर रू. ४ अर्ब ३४ करोडले घाटामा छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो शोधनान्तर रू. ७४ अर्ब २३ करोडले बचतमा थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह भने अघिल्लो वर्षको भन्दा रू. ३ अर्ब ६१ करोडले बढेको छ । राष्ट्र बैङ्कको तथ्याङ्कमा ११ महीनाको प्रत्यक्ष विदेशी लगानी आप्रवाह रू. १५ अर्ब ८८ करोड उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रू. १२ अर्ब २७ करोड थियो ।
त्यसैगरीे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ३ विन्दुले बढेर ४ दशमलव १ प्रतिशत छ । गत आर्थिक वर्षको ११ महीनामा यस्तो मुद्रास्फीति २ दशमलव ८ प्रतिशत थियो । यस अवधिमा तरकारी फलफूल घ्यू, तेल, दुग्ध पदार्थ र अण्डाको मूल्य बढेपछि खाद्य मुद्रास्फीति बढेको छ । गत वर्ष १ प्रतिशतले ऋणात्मक रहेको खाद्य मुद्रास्फीति यस अवधिमा ३ प्रतिशतले बढेको छ । तर शैक्षिक सामग्री, लत्ता कपडा, जुत्ता, फर्निचर, घरायसी सामानको मूल्य वृद्धिदर गतवर्षको तुलनामा न्यून रहेपछि गैरखाद्य मुद्रास्फीति भने ५ प्रतिशतमा सीमित छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत थियो ।
चालू आवको ११ महीनाको अवधिमा रू. ७४ अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । मुख्यगरी चीनतर्फ निर्यात हुने अलैंची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाताको निर्यात बढेको छ भने भारततर्फ निर्यात हुने जीआई पाइप, जूटको डोरी, जूस, उनी गलैंचा र पश्मिनाको निर्यात घटेको छ ।
यसै अवधिमा वस्तु आयात भने २३ दशमलव ५ प्रतिशतले बढेर रू. ११ खर्ब ७ अर्ब ३५ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलव ९ प्रतिशतले बढेको थियो । पेट्रोलियम पदार्थ, मेशिनरी सामान, यातायातका साधन र त्यसका पार्टपुर्जा, सिमेण्ट र एमएस बिलेटको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जालगायत सामानको आयात घटेको छ ।सो अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले बढेर रू. ६ खर्ब ७९ अर्ब ७३ करोड छ । गतवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशतले बढेको थियो । यससँगै खुद ट्रान्सफर आप्रवाह भने शून्य दशमलव १ प्रतिशतले बढी रू. ७ खर्ब ७६ अर्ब २७ करोड छ । वैदेशिक रोजगारीका लागि नयाँ श्रमस्वीकृति लिने नेपालीको सङ्ख्या ८ दशमलव २ प्रतिशतले घटेकाले विप्रेषण आप्र्रवाह उल्लेख्य बढ्न नसकेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ३ दशमलव ५ प्रतिशतले घटेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।