भारतको बढ्दो गर्मी छल्न भारतीय पर्यटक पोखरामा

Share News

साउन ९, कास्की । गर्मी यामको आगमनसँगै भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।

केही समययता भारतको विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न भारतीय पर्यटक पोखरा आउने गरेका छन् । उनीहरुले पोखरा भ्रमणका क्रममा पोखरा र त्यस आसपासको क्षेत्रको मनोरम दृश्यावलोकन गर्ने गरेका छन् । स्थलमार्गबाट निजी सवारी साधन लिएर आउने पर्यटकको सङ्ख्या अत्यधिक छ ।

केही वर्षदेखि पर्यटकको आगमन बढाउन भारतका विभिन्न शहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध सङ्घ संस्थाले गरेका प्रवर्द्धनात्मक कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया बताउँछन् । बोर्डले पर्यटन सम्बद्ध सङ्घ संस्थालाई सँगै लिएर भारतका विभिन्न शहरमा प्रवर्द्धनात्मक कार्यक्रमलाई अघि बढाएको छ ।

प्रत्येक वर्षमा दुुई पटक भारत, बङ्गलादेश र चीन लगायतका देशका विभिन्न शहर पुगेर प्रचारप्रसार र अन्तरक्रिया कार्यक्रम गर्दै आएका छन् । यस वर्ष पनि भारतका विभिन्न शहरमा पुगेर कार्यक्रम गरिएको थपलियाले बताए । ‘पर्यटनको विकासका लागि प्रचारप्रचार सहित व्यवसायीमा आत्मविश्वास चाहिन्छ, छिमेकी राष्ट्र र त्यहाँका सम्वद्ध व्यवसायीको विश्वास जित्नु पर्छ’ उनले भने । ‘प्रवर्द्धनात्मक कार्यक्रमले बाह्य पर्यटकको विश्वास जित्ने वातावरण तयार हुँदै गएको छ ।’

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालयको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा उत्तरपूर्वी भारतमा प्रवर्द्धनात्मक कार्यक्रम गरिँदै आएको छ । पछिल्ला दिन भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गाललगायत स्थानबाट भारतीय पर्यटक आउने क्रममा वृद्धि भएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ पोखराका अध्यक्ष सोम थापाले बताए ।

‘अधिकांश भारतीय पर्यटक निजी सवारी साधन र बस मार्फत आउने गरेका छन्,’ उनले भने, ‘गर्मी छल्न र घुम्नका लागि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।’

मोदी भ्रमणपछि भारतीय पर्यटक मुक्तिनाथसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय पहिले मुक्तिनाथ भ्रमण गरेसँगै भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन् । भ्रमणमा आएका भारतीय पर्यटकहरु सामान्यतः दुई–तीन रात पोखरामा बिताउने गरेका छन् ।

होटल एशोसिएशन अफ नेपाल (हान) पश्चिमाञ्चलका पूर्व अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुली भारतीय पर्यटकको बढ्दो आगमनले व्यवसायी उत्साहित भएको बताए । ‘नेपालमा लामो द्वन्द र भूकम्पपछि क्रमशः पर्यटन व्यवसायले गति लिन थालेको छ,’ उनले भने । ‘शान्ति र स्थितरतासँगै भारतीय र अन्य देशको पर्यटकको आगमन वृद्धि भएको छ ।’

चिनियाँ पर्यटक बढेनन् पराजुलीका अनुसार नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा अझै वृद्धि हुन सकेको छैन । नेपालमा भूकम्पभन्दा अघिको तथ्याङकलाई हेर्दा करीब ७० प्रतिशत चिनियाँ पर्यटक तातोपानी नाका हुँदै भित्रिने गरेका थिए । तर, अहिले तातोपानी नाका बन्द भएपछि चिनियाँ पर्यटक अगमन पहिलेको अवस्थामा फर्कन नसकेको उनको भनाइ छ ।

नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका पराजुलीको भनाइ छ ।

सन् २०१७ मा १० लाख विदेशी पर्यटक नेपाल आएका थिए । पोखरामा पर्यटकलाई लक्षित गरी व्यवसायीले एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा हाल दुई ओटा पाँच तारे, १४ ओटा तीन तारे र अन्य पर्यटकस्तरीय करीब चार सय ओटा सुविधा सम्पन्न होटल रहेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।