काठमाडौं । निजीक्षेत्रका धागो तथा कपडा उत्पादकले सरकारसँग छुट्टै टेक्सटायल बोर्ड माग गरेका छन् । हाल भएका निकायबाट आफ्ना समस्या सम्बोधन नभएको भन्दै व्यवसायीले अलगै बोर्ड माग गरेका हुन् । व्यवसायीहरूले सुगर बोर्ड, चिया तथा कफी बोर्डजस्तै मूल्यअभिवृद्धि गर्ने वस्तुको मूल्यशृङ्खला व्यवस्थापनका लागि उद्योगमन्त्री अध्यक्ष रहनेगरी टेक्सटायल बोर्ड गठन हुनुपर्ने बताएका हुन् । अर्थ मन्त्रालय मातहत रहँदा सरकारले राजस्व आर्जनको स्रोत मात्र सम्झने तर उद्योग क्षेत्रका समस्या सम्बोधन नगर्ने गरेकाले उद्योग मन्त्रीले नै बोर्डको संयोजन गर्नुपर्ने व्यवसायीको धारणा छ ।
धागो उत्पादनमा केन्द्रित गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले टेक्सटायल बोर्ड गठन गर्नेबारे सरकारसँग छलफल भएको र उद्योग मन्त्रालयले सकारात्मक आश्वासनसमेत दिएको अभियानलाई बताए । धागोबाट कपडा र त्यसबाट तयारी पोशाक र अन्य वस्तु तयार हुँदासम्म वस्तुले धेरै प्रतिशत मूल्य अभिवृद्धि गर्ने तर राज्यले श्रमकेन्द्रित त्यस्ता उद्योगको संरक्षणसमेत नगर्ने गरेको व्यवसायीको गुनासो छ ।
पूर्वअर्थसचिव तथा आर्थिक विश्लेषक रामेश्वर खनाल भने टेक्सटायल बोर्डको आवश्यकता नरहेको बताउँछन् । स्वदेशी उद्योग प्रवर्द्धन गर्ने सरकारी नीति रहेकाले त्यस क्षेत्रको संरक्षणका लागि सरकारले राष्ट्रिय उद्योगले नयाँ उपकरण आयात गर्दा भन्सार छूट दिने, उद्योगको विद्युत् आपूर्तिलाई सहुलियतपूर्ण बनाउने र अन्य संरक्षण भने दिनुपर्ने पूर्व अर्थसचिव खनालको धारणा छ । यसअघि स्थापना भएका चिनी तथा चिया बोर्ड र गलैंचा तथा पश्मिना विकास समितिले खासै काम गर्न नसकेको उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।