अनुदानमा आएको चिनियाँ तेल : विक्रीका लागि तेस्रोपटक टेण्डर खुला

Share News
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खानेतेल विक्रीका लागि तेस्रोपटक टेण्डर खुला गरिएको छ । नाकाबन्दीको समयमा चीन सरकारले अनुदानस्वरूप दिएको तेल विक्रीका लागि बिहीवार टेण्डर खोलिएको नेपाल खाद्य संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए । चीन सरकारले नाकाबन्दीको समय १० हजार ६ सय लिटर खानेतेल अनुदानका रूपमा उपलब्ध गराएको थियो । भूकम्पपछि नेपाललाई राहत उपलब्ध गराउने प्रतिबद्धताअनुरूप चीनले उक्त तेल दिएको थियो । तर, उक्त तेलको उपभोग गरिसक्नु पर्ने समयसीमा भने नाघिसकेको पनि सापकोटाले जानकारी दिए । चीनले उक्त तेल अनुदानको रकम कटौती गर्नेगरी उपलब्ध गराएको थियो । म्याद सकिएका कारण तेल हाल संस्थानको गोदाममै थन्किएको छ । दुईपटकसम्म ८० रुपैयाँमा विक्रीका लागि टेण्डर खोल्दा खरीदका लागि कसैको आह्वानपत्र नआएपछि अहिले लिटरको ४५ रुपैयाँ मूल्य कायम गरी तेस्रोपटक खुला गरिएको उनले स्पष्ट पारे । अनुदानमा प्राप्त तेलको म्याद रहुन्जेल माथिल्लो सरकारी निकायबाट विक्री अनुमति नआएको संस्थानको भनाइ छ । म्याद सकिएपछि भने सम्बन्धित निकायले विक्रीका लागि अनुमति दिएको हो । ‘संस्थानले विक्रीका लागि पटकपटक सूचना प्रकाशित गरे पनि खरीदकर्ताले चासो नदेखाएका कारण विक्री हुन नसकेको प्रवक्ता सापकोटाको भनाइ छ । खानका लागि प्रयोग गर्न नमिल्ने भए पनि विभिन्न उद्योगमा प्रयोग गर्न सकिने संस्थानको भनाइ छ । सापकोटाका अनुसार उद्योगहरूमा कच्चा पदार्थका रूपमा सो तेल प्रयोग गर्न सकिन्छ । तेलको नयाँ मूल्य बजार मूल्य अध्ययन गरी कायम गरिएको बताइएको छ । चीनले पठाएको तेलमा चिनियाँ अक्षरमा लेखिएको हुँदा त्यो कुन प्रकारको तेल हो भनी यकिनका साथ भन्न नसकिने स्थिति रहेको सापकोटा बताउँछन् । ‘त्यो तेल ५३ ओटा ड्रममा रहेको छ । तर, कुनैमा पनि लेबल छैन,’ उनले भने । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा तेलमा कैफियतसमेत भेटिएको समेत उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।