राष्ट्र बैङ्कले दियो स्वीकृति : मार्जिन कारोबारको बाटो खुला

Share News
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले धितोपत्र दलाल व्यवसायीहरूका लागि ‘मार्जिन लेण्डिङ’ सेवा प्रवाह गर्न बाटो खोलिदिएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यस्तो कारोबारसम्बन्धी कार्यविधि बनाई राष्ट्र बैङ्कसँग अनुमति माग्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको थियो । सोही निर्देशनबमोजिम नेप्सेले पेश गरेको कार्यविधिलाई राष्ट्र बैङ्कले स्वीकृति दिएको हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मार्जिन कारोबार सञ्चालनका लागि राष्ट्र बैङ्कबाट एक हप्ताअघि नै स्वीकृतिपत्र प्राप्त भएको जानकारी दिए । उनका अनुसार सो स्वीकृति पत्रको सम्बन्धमा नेप्सेको सञ्चालक समितिको बैठकमा भने छलफल हुन बाँकी छ । बोर्डमा छलफलपछि सो सेवा प्रवाह गर्न इच्छुक धितोपत्र दलाल व्यवसायीलाई दर्ताको लागि सूचना जारी गर्ने तयारी नेप्सेको रहेकोसमेत पराजुलीले बताए । उनले भने, ‘मार्जिन कारोबार सेवा प्रदान गर्न इच्छुक व्यवसायीले भने नेप्सेको स्वीकृति लिई कारोबार गर्नुपर्ने छ ।’ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउनेसम्बन्धमा बोर्डले गत कात्तिकमै मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो । धितोपत्र लगानीकर्तालाई मार्जिन लेण्डिङ सेवा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जारी गरिएको निर्देशिकाबमोजिम कार्यविधि बनाई नेप्सेले यसअघि नै बोर्डको समेत स्वीकृति लिइसकेको छ । नेप्सेका अनुसार मार्जिन कारोबार सञ्चालनका लागि दलाल व्यवसायीहरू बाध्य भने हुने छैनन् । हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उद्देश्य भए पनि उनीहरूको स्वेच्छाले यो सेवा प्रदान गर्ने नेप्सेको तयारी छ । धितोपत्र बोर्डले गरेको व्यवस्थाअनुसार मार्जिन कारोबार उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुनुपर्ने छ । दलाल व्यवसायीले मार्जिन कारोबार उपलब्ध गराउँदा कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत सङ्गठित संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्ने छ । धितोपत्र दलाल व्यवसायीले यो सुविधा आफ्नै स्रोत वा वाणिज्य बैङ्कसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्नेछन् । बोर्डले दिएको निर्देशनअनुसार सबै धितोपत्र दलाल व्यवसायीले सूचीकृत संस्थाको शेयरको १ सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रूपमा लिनुपर्ने छ । यससम्बन्धमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखीम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने प्रावधान रहेको छ । शेयरमा निहीत जोखीमलाई ध्यानमा राखी दलाल व्यवसायीले ४० प्रतिशतभन्दा बढी मार्जिन माग गर्नसक्ने पनि बोर्डले व्यवस्था गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।