काठमाडौं । कञ्चनपुरमा बालिकाको हत्या गरी शव उखुबारीमा फालेको प्रकरणमा प्रतिनिधिसभा बैठकमा सांसदहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् । भीमदत्त नगरपालिकामा गत शुक्रवार १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो । कञ्चनपुर प्रहरीका अनुसार प्रारम्भिक प्रतिवेदन हेर्दा बालिकाको बलात्कार भएको अनुमान गरिएको छ, तर मेडिकल रिपोर्ट आएपछि यथार्थ थाहा हुने बताइएको छ ।
आइतवारको बैठकमा शून्य समयमा बोल्दै अधिकांश सांसदले महिला तथा बालिका बलात्कारको घटनामा दोषी देखिएकालाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा जोड दिए । सांसद तेजुलाल चौधरी, डिला सङ्ग्रौला र दीपकप्रसाद भट्टले दोषीलाई पक्राउ गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन र महिला तथा बालिका बलात्कारको घटना हुन नदिन सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न माग गरे । सांसद निरुदेवी पालले पन्त परिवारलाई क्षतिपूर्ति दिन र पीडकलाई सर्वस्वसहित कडा कारबाही गर्न माग गरिन् । सांसद दिलेन्द्रप्रसाद बडूले अभियुक्तलाई अझै कारबाही हुन नसकेकामा आपत्ति व्यक्त गर्दै छिटो पक्राउ गरी कानूनी दायरामा ल्याउन आग्रह गरे ।
सांसद उमा रेग्मीले दोषीलाई पक्राउ गरी कारबाही गर्न तथा यस्ता खालका घटनाका दोषीलाई संविधान संशोधन गरेरै भए पनि मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने माग गरिन् । सांसद सरीता गिरीले घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रशासनको तर्फबाट दमन भएको भन्दै त्यसको आलोचना गरिन् । गिरीले सरकारी अधिकारीकै उपस्थितिमा घटनाको प्रमाण लुकाउने प्रयास भएको पनि आरोप लगाएकी छन् ।
सांसद लक्ष्मी परियार, मीना बुढाथोकी, भोजकुमारी राउतले पनि बलात्कार विषयमा कुरा उठाएका छन् । सांसदको कुरा सुनिसकेपछि सभामुख कृष्णबहादुर महराले घटनाको विषयमा संसद्लाई जानकारी गराउन तथा कारबाही प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराउन सरकार तथा गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति नदिईकन शव नबुझ्ने भन्दै केही दिनदेखि स्थानीयवासीले कञ्चनपुरमा विरोध गर्दै आएका छन् ।
हत्याका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को डीएसपीसहितको ३ जनाको टोली महेन्द्रनगर पुगेको छ । टोलीले स्थानीय प्रहरीसँगको सहकार्यमा अनुसन्धान गर्ने सीआईबीका प्रवक्ता कृष्णहरि शर्माले जानकारी दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।