पोखरा लेखनाथ महानगर : पर्यटनमा २५ प्रतिशतसम्म कर वृद्धि

Share News
कास्की । गण्डकी प्रदेशमा प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि स्थानीय तहले उठाउने कर निर्धारण गरेपछि पोखरा लेखनाथ महानगरपालिकाले पर्यटन क्षेत्रलगायतमा कर बढाएको छ । पर्यटनसँग सम्बद्ध व्यवसायमा महानगरले १० देखि २५ प्रतिशतसम्म कर बढाएको हो । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत स्थानीय निकायलाई कर निर्धारण एवम् आन्तरिक स्रोत जुटाउन अधिकार दिएको छ । प्रदेश सरकारले बजेटमार्फत घरजग्गा रजिष्टे«शन, सवारीसाधन, विज्ञापन, मनोरञ्जन, प्राकृतिक स्रोत शुल्क, पर्यटन र मनोरञ्जनलगायतका क्षेत्रबाट १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर उठाउने लक्ष्य राखेको छ । सोही कारण महानगरले विभिन्न क्षेत्रको करमा उच्च वृद्धि गरेको हो । पर्यटन क्षेत्रलाई करको दायरामा ल्याई महानगरको राजस्व सङ्कलन बढाउन विभिन्न समूहमा होटल तथा लज, रेष्टुरेण्टमा कर बढाएको महानगरले बताएको छ । चालू आवदेखि तारे होटलबाट लिने करमा २५ प्रतिशतसम्म वृद्धि गरेको महानगरका राजस्व शाखा प्रमुख छविलाल शर्माले जानकारी दिए । महानगरको नगरसभाले पास गरेको आर्थिक ऐन–२०७५ अनुसार होटलले महानगरलाई वार्षिक ४ हजार ६ सय ६८ रुपैयाँ बुझाउनु पर्नेछ । यसअघि होटल सञ्चालकले रू. ३ हजार ७ सय ५० राजस्व बुझाउँदै आएका थिए । २ तारे होटलले ६ हजार २ सय ५०, ३ तारे होटलले ७ हजार ८ सय १३, ४ तारे होेटलले ९ हजार ३ सय ७५ र ५ तारे होटलले अबदेखि १० हजार ९ सय ३८ रुपैयाँ तिर्नुपर्ने छ । तारे होटलबाहेक होटल तथा लजमा समेत कर वृद्धि भएको छ । होटल तथा लजमा उपलब्ध कोठाका आधारमा उनीहरूले कर तिर्नुपर्नेछ । महानगरका मुख्य बजार क्षेत्रमा सञ्चालित रेष्टुरेण्टमा समेत महानगरले कर बढाएको छ । महानगरभित्रका पर्यटन व्यवसायसँग सम्बद्ध ट्राभल तथा ट्रेकिङ एजेन्सी र ट्रेकिङका सामान विक्रीवितरण गर्ने पसललाई १० प्रतिशत कर बढाइएको छ । क्याटरिङ तथा पार्टी प्यालेसको समेत १० प्रतिशत कर बढेको छ । उनीहरूले १ हजार ८ सय १५ रुपैयाँ कर तिर्नुपर्ने नयाँ नीति महानगरले ल्याएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।