साउन १७, काठमाडौं । नेपालमा एशियाली विकास बैङ्क (एडीबी)को लगानी रू. २ खर्ब ५५ अर्ब पुगेको छ । विभिन्न क्षेत्रका १ सय ३१ आयोजनामा एडीबीको लगानी साढे २ खर्ब नाघेको हो । एडीबीले कुल लगानीको सबैभन्दा धेरै करीब रू. ८२ अर्ब ७७ करोड शहरी विकास तथा खानेपानीका आयोजनामा गरेको छ । यो लगानी नेपालमा एडीबीले गरेको लगानीको ३२ प्रतिशत हो । एडीबीले शिक्षाका आयोजनामा सबैभन्दा कम करीब रू. १५ अर्ब २९ करोड लगानी गरेको छ, जुन लगानी एडीबीको कुल लगानीको ६ प्रतिशत हो ।
तथ्याङ्कअनुसार एडीबीले ऊर्जामा रू. ५९ अर्ब ३० करोड, यातायात क्षेत्रमा रू. ४५ अर्ब ४३ करोड र कृषि तथा प्राकृतिक स्रोत साधनमा रू. २५ अर्ब १६ करोड लगानी गरेको छ । यसबाहेक अन्य शीर्षकमा रू. ५ अर्ब ४६ करोड लगानी गरेको तथ्याङ्क छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भने रू. २२ अर्ब ६ करोड खर्च भएको देखिन्छ । एडीबीको लगानी रहेका कुल ६८ आयोजनामध्ये सबैभन्दा बढी शहरी विकासका २४ आयोजना सम्पन्न भएका छन् । यसका अतिरिक्त ऊर्जाका २०, शिक्षाका ८, पुनर्निर्माणका ७, यातायातका ५ र कृषि तथा वित्तीय क्षेत्रका २/२ आयोजना सकिइसकेका छन् । यस्तै ६० आयोजना सञ्चालनमा छन् भने सम्झौता भएका ३ आयोजना भने हालसम्म पनि शुरू हुन सकेका छैनन् । बैङ्कले बिहीवार काठमाडौंमा आयोजना गरेको त्रिपक्षीय (एडीबी, सरकार र आयोजना) समीक्षा बैठक ‘ट्रिपार्टी पोर्टफोलियो रिभ्यू’मा सो तथ्याङ्क सार्वजनिक गरेको हो । बैठकमा एडीबीले विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको अपेक्षित प्रगति नभएको बताउँदै समस्या समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताएको थियो । एडीबीको लगानी रहेको मेलम्ची खानेपानी आयोजना, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध विमानस्थल आयोजना पटकपटक विवादमा आउने गरेका छन् । समीक्षा बैठकमा एडीबीका नेपाल प्रमुख मुख्तार खामुदखानोभले सरकारले हस्तक्षेप गरेरै भए पनि आयोजना समयमा सम्पन्न गर्नुपर्ने बताए । अर्थसचिव डा. राजन खनालले सरकारले दातृ निकायको सहयोगमा सञ्चालित आयोजना सञ्चालनको कार्यविधि तयार गरिरहेको जानकारी दिँदै कार्यविधिको कार्यान्वयनसँगै आयोजनामा देखिएका समस्या समाधान हुने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।