बैङ्कका ग्राहक र कर्मचारीलाई अस्पतालमा छूट

Share News

काठमाडौं । बैङ्कमा खाता छ तर सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य सेवा लिनुभएको छैन भने सचेत हुनुस्, तपार्इं ग्राहक भएको बैङ्कले सहुलियतमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको हुनसक्छ । पछिल्लो समय बैङ्क र सुविधासम्पन्न अस्पतालबीच सहकार्यको लहर चलेको छ, जसले निश्चित बैङ्कमा खाता भएका ग्राहकलाई सहकार्य भएको अस्पतालमा सहुलियतमा स्वास्थ्योपचार सेवा सुनिश्चित गरेको छ ।

पछिल्लो १ महीनाको समयमा मात्रै पनि देशका ७ वाणिज्य र २ विकास बैङ्कले काठमाडौंका ८ सुविधासम्पन्न अस्पतालसँग छूट योजनामा सम्झौता गरेका छन् । सम्झौताअनुसार बैङ्कका ग्राहक तथा कर्मचारीले सम्झौता भएको अस्पतालमा उपचार गर्दा छूट सुविधा पाउँछन् । अस्पताल हेरी निश्चित रोग तथा स्वास्थ्योपचार सेवामा दिइने यस्तो छूट न्यूनतम ७ देखि अधिकतम १२ प्रतिशतसम्म छ ।

नेपाल बङ्गलादेश बैङ्कका कार्डवाहक ग्राहक तथा कर्मचारीलाई भिवन्त डेन्टलमा उपचार गराउँदा अस्पतालको सेवामा १० प्रतिशत छूट हुनेगरी दुईपक्षीय सम्झौता भएको छ । त्यसअघि सिटिजन्स बैङ्कले ग्राण्डी इन्टरनेशनल, स्टार र किष्ट अस्पतालमा आफ्ना ग्राहक तथा कर्मचारीले छूट पाउनेगरी सम्झौता गरेको छ ।

एनएमबी बैङ्कका मुख्य कार्यकारी अधिकृत सुनिल केसीले बैङ्क–अस्पताल सहकार्यले बैङ्कको कार्डवाहकलाई सस्तो दरमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने बताए । ‘बैङ्क कार्डलाई अस्पतालसँग टाईअप गरेका हौं, यसले अस्पतालमा उपचार गरेवापत कार्डमार्पmत भुक्तानी गर्दा छूट सुविधा दिन्छ,’ उनले अभियानलाई सम्झौताबारे बताए । एनएमबी बैङ्कले नेपाल क्यान्सर अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म र ब्लुक्रस अस्पतालमा विभिन्न सेवामा छूट सुविधा पाउनेगरी सम्झौता गरेको छ ।

सैंबुको नेपाल मेडिसिटी अस्पतालले प्राइम, महालक्ष्मी विकास र हिमालयन बैङ्कका ग्राहक तथा कर्मचारीलाई अस्पतालको सबै सेवामा ७ प्रतिशत छूट दिनेगरी सहकार्य गरेको छ ।

त्यसैगरी नर्भिक इन्टरनेशनल अस्पतालले सिद्धार्थ बैङ्कका ग्राहक तथा कर्मचारीलाई सो बैङ्कको कार्डमार्पmत भुक्तानी गर्दा उपचारमा १२ प्रतिशत र मेगा बैङ्कका ग्राहक तथा कर्मचारीलाई छूट सुविधा दिन्छ । ग्राण्डी इन्टरनेशनल अस्पतालले गण्डकी विकास बैङ्कका ग्राहक तथा कर्मचारीलाई सबै सेवामा छूट र सिटिजन्सका ग्राहक तथा कर्मचारीलाई छूट दिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।