पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः उपकरणको अभावमा सेवा प्रभावित

Share News

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अत्यावश्यक उपकरण र चिकित्सकको अभावमा स्वास्थ्यसेवा प्रभावित भएको छ । अस्पतालमा एमआरआई, सिटिस्क्यान, डायलासिसलगायत सेवाका लागि आवश्यक उपकरण र सम्बन्धित चिकित्सक नहुँदा स्वास्थ्यसेवा प्रभावित भएको हो ।

गण्डकी प्रदेशकै ठूलो र पुरानो अस्पतालमा १ जना पनि न्यूरोसर्जन छैनन् । सोही कारण अस्पतालले सामान्यदेखि गम्भीर दुर्घटनाका बिरामीलाई पोखराका अन्य अस्पतालमा पठाउने गरेको छ । अस्पतालको सिटिस्क्यान मेशिन बिग्रिएको १० महीना पुगेको छ । प्राविधिक टोलीले सो मेशिन मर्मत गर्नुभन्दा नयाँ किन्न अस्पताल प्रशासनलाई सुझाव दिएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । अस्पताल प्रशासनका अनुसार एमआरआई मेशिन किन्ने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य सेवा विभागसँग आवश्यक उपकरण मागेको उनले जानकारी दिए ।

अहिले अस्पतालमा दैनिक २ हजारको सङ्ख्यामा बिरामी आउने गरेका छन् भने निरन्तर फलोअपमा आउने बिरामी पनि त्यति नै सङ्ख्यामा भएको अस्पतालले बताएको छ । अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको अस्पतालका सञ्चालक समिति सदस्य तीर्थलाल श्रेष्ठले जानकारी दिए, जसका कारण प्रसूति, आकस्मिक, डायलासिसजस्ता सेवा प्रभावित भएको छ । ५ सय शय्या क्षमताको अस्पतालमा अहिले विशेषज्ञसहित सय डाक्टर कार्यरत छन् । अस्पतालमा आवश्यक उपकरण नहुँदा गुणस्तरीय

सेवा दिन नसकेको प्रतिष्ठानका डीन डा. नरेन्द्र गुरुङले बताए । सङ्घीय सरकार मातहत रहेको प्रतिष्ठानमा सरकारले यस वर्ष रू. ४ करोड मात्र बजेट पठाएको भन्दै गुरुङले त्यो अपर्याप्त रहेको दाबी गरे । उनले आवश्यक उपकरण खरीदलगायतका काम स्वास्थ्य मन्त्रालयले हेर्ने बताउँदै मन्त्रालयकै प्रक्रियाका कारण सेवा प्रभावित भएको आरोप लगाए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।