उपत्यकाको फोहोर उठाउन अझै अन्योल

Share News
काठमाडौं । काठमाडौं महानगरपालिकाले दीर्घकालीन सोचअनुरूप काम नगर्दा उपत्यकाको फोहोर उठाउन अझै अन्योल देखिएको छ । वर्षा नभए फोहोर अझै ३–४ दिन थुप्रिने र वर्षा जारी रहे फोहोर उठाउनै समस्या हुने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । सिसडोलमा थुप्रिएको फोहोर माथिबाट माटो हालेर बाटो बनाइएको र पानी परेर त्यो भासिएपछि फोहोर लैजानै नसकिएको उनको भनाइ छ । यद्यपि, काठमाडौंमा महानगरको गाडी जाने ठाउँसम्म फोहोर उठिरहेको दाबी उनले गरे । ‘सङ्कलित फोहोर टेकुको सङ्कलन केन्द्रमा ल्याएर राख्ने गरेका छौं,’ कार्कीले भने, ‘तर निजी संस्थाले सङ्कलन गरेको फोहोर सीधै सिसडोलमा पुर्‍याउँदै आएकोमा हाल बाटो बन्द भएकाले फोहोर उठ्न नसकेको हो ।’ सिसडोलमा फोहोर भरिन लागेको र त्यसको विकल्पमा बञ्चरे डाँडामा फाल्न पुल बनाइए पनि तर बाटोको समस्या रहेको उनले बताए । बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि टेण्डर आह्वान गर्नै ६ महीना र सबै प्रक्रिया पूरा गर्न २ वर्ष लाग्न सक्ने उनको अनुमान छ । ‘त्यसको अर्को विकल्पमा स्थानीयलाई राम्रो मुआब्जा दिएर सिसडोलमा जग्गा लिन सके फोहोर व्यवस्थापन केही सहज हुन्छ,’ उनले भने । महानगरपालिकाका वातावरण प्रमुख हरि कुँवरले सिसडोलमा उपत्यकाको फोहोर फोहोर ६ महीनाको मात्र अट्ने बताए । सिसडोलमा काठमाडौं उपत्यका, काभ्रेलगायत क्षेत्रबाट समेत फोहोर जाने भएकाले सम्बन्धित क्षेत्रका प्रतिनिधि, लगानी बोर्ड, काठमाडौं महानगरपालिकालगायतले वैकल्पिक डम्पिङ साइट खोज्नुपर्नेमा जोड दिए । लगानी बोर्डको प्रवक्ता उत्तमभक्त वाग्लेले फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रको नेपवेष्टलाई दिन लागेको भन्दै त्यसमा काठमाडौं, ललितपुर, भक्तपुरका प्रतिनिधिसँग बसेर सहमति (एमओयू) गर्न बाँकीे भएको बताए । फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिने विषय २०१० देखि शुरू भए तापनि काम हुन सकेको छैन । फोहोर सङ्कलन गर्न विभिन्न संस्था काठमाडौंमा क्रियाशील छन् । तर, अब सरकारले फोहोर सङ्कलन गर्न कुनै एक निजीक्षेत्रलाई दिएपछि यिनीहरूको अवस्था के हुने भन्ने प्रश्न पनि सम्बन्धित क्षेत्रबाट उठ्न थालेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।