वीरगञ्जमा नेपाल–भारत साहित्य महोत्सव शुरू

Share News
वीरगञ्ज । वीरगञ्जमा नेपाल भारत साहित्य महोत्सव–२०१८ शुरू भएको छ । दुवै देशका २ सय ५० साहित्यकारको सहभागिता रहेको महोत्सवको आइतवार उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रविधिका कारण साहित्य सृजना कुण्ठित भएको बताए । सामाजिक सञ्जालले मानिसको सृजना र सोचलाई खुम्च्याइदिएको मुख्यमन्त्री राउतले बताए । ‘आज प्रविधिका कारण साहित्य सृजना कुण्ठित हुँदै गएको छ,’ उनले भने । सामाजिक सञ्जालमा भेटिने सीमित सूचनाको भर पर्दा सृजना सङ्कुचित भएको उनको धारणा थियो । साहित्य सम्मेलनले नेपाल र भारतको भाषा, संस्कृति र साहित्यिक सहकार्यमा योगदान पुर्‍याउने भन्दै मुख्यमन्त्री राउतले नेपाल र भारतको सम्बन्धलाई यस्ता साहित्यिक र सामाजिक महोत्सवले प्रगाढ बनाउने विश्वास व्यक्त गरे । साहित्यविना मानिसको जीवन अधुरो हुने भनाइ उनको थियो । नेपालका साहित्यकारका रचनाहरू अङ्ग्रेजी भाषामा अनुवाद गरेर विश्वमा लैजान जरुरी भएको भन्दै उनले भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको गीताञ्जलीको अङ्ग्रेजी अनुवादले नोबेल पुरस्कार पाएको स्मरण गरे । आचार्य महाश्रमणका विदुषी शिष्या डा. चारित्र प्रज्ञाले साहित्यकार र सन्त समाजका आँखा भएकाले यिनीहरूको सहकार्यबाट समाजलाई सही दिशा दिन सकिने बताइन् । उनले आजको सञ्चारले सकारात्मकलाई भन्दा नकारात्मक विषयलाई बढावा दिएकाले मानव जीवनमा त्यसको नकारात्मक प्रभाव परेको धारणा व्यक्त गरिन् । महोत्सवका अध्यक्ष अशोककुमार वैदले नेपाल र भारतबीचको साहित्यिक, सांस्कृतिक र सामाजिक सम्बन्ध सुदृढ गर्ने महोत्सवको मूल अभिप्राय भएको बताए । ‘द्विदेशीय सम्बन्धमा देखिएका केही असमझदारी र समस्याहरू पनि साहित्यका माध्यमबाट माझ्न सकिन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।संयोजक गणेशप्रसाद लाठले साहित्यिक गतिविधिमा आएका शिथिलता तोड्ने प्रयास गरेको बताए । उनले यो अभियानमा सबैको हातेमालोको खाँचो पनि औंल्याए । साहित्यलाई राष्ट्रियता र भाषाको बिल्ला लगाउने काम राम्रो नभएको भन्दै यसबाट साहित्यको दायरा सङ्कुचित हुने दाबी लाठले गरे ।हिमालिनी मासिक पत्रिकाका प्रबन्ध निर्देशक सच्चितानन्द मिश्रले नेपाल र भारतको साहित्यको दायरा विस्तारमा महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । ग्रीन केयर सोसाइटी, भारतका अध्यक्ष डा. विजय पण्डितले लामो प्रयासपछि वीरगञ्जमा साहित्यको यस्तो महोत्सव सम्भव भएको भन्दै महोत्सवले साहित्यका आयामहरूमा सहकार्यको दायरालाई विस्तार गर्ने बताए । महोत्सव २ दिनसम्म चल्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।