छिन्नभिन्न भएको छैन सुन तस्करीको जालो

Share News
काठमाडौं । सरकारले सुन तस्करीको सञ्जाल निस्तेज गरेको दाबी गरे पनि सर्वसाधारण र सुरक्षाविद्हरूलाई विश्वस्त पार्न सक्ने आधार भने दिन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार ५ महीने कार्यकालको महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गर्दै सुन तस्करमाथि कारबाही र तस्करी नियन्त्रणमा सरकारको प्रभावकारी कदम भने पनि त्यसमाथि प्रश्न चिह्न यथावत् नै रहेको छ । सुन तस्करीमा मुछिएका ३१ अभियुक्त हालसम्म फरार रहेका कारणले पनि सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । यसै सम्बन्धमा अपराध अनुसन्धानमा संलग्न एक प्रहरीले नाम नबताउने शर्तमा सुनलगायत तस्करीका विषयमा सरकारी कदम उत्साहजनक नभएको प्रतिक्रिया दिएका छन् । ‘सरकारले भनेको जस्तो तस्करीको जालो छिन्नभिन्न भएको छैन,’ उनले भने । नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका अनुसार सुन काण्डको विषय माछामाछा भ्यागुता भनेजस्तो भएको छ । यस विषयमा अनावश्यक प्रचार गरेर झ्याली पिट्ने काम गरिएको तर काम भने अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ । ‘सुन तस्करीसम्बन्धी छानबिन समितिको ७/८ सय पृष्ठको प्रतिवेदनले विवरणात्मक रूपमा उपलब्धि दियो । ३८ क्विण्टल परिणाममा सुन तस्करी भएको तथ्य पनि देखायो, तर ठूला माछा पत्ता नलगाउँदा अन्तरराष्ट्रिय जगत्मा नेपालमा ठूला मान्छेले जे गर्दा पनि हुन्छ भन्ने सन्देश गएको छ,’ उनले भने । सुन तस्करीसँग जोडिएका विभिन्न व्यक्तिहरू हालसम्म फरार रहनु, तस्करीको साढे ३३ किलो सुन अझै पत्ता नलाग्नु र मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को बयानबाट पनि खासै रहस्य नखोल्नुका कारण पनि सरकारको दाबी कमजोर साबित भएको छ । बाजेको सेकुवाका सञ्चालक अझै फरार ३८ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको छानबिन समितिले विभिन्न ठाउँमा रहेका बाजेको सेकुवा रेष्टुरेण्टमा छापा मारेर शिलबन्दी गरेको थियो । सुन तस्करीका लागि लगानी गरेको आरोप लागेका बाजेको सेकुवा रेष्टुरेण्टका सञ्चालक चेतन भण्डारी हालसम्म पक्राउ पर्न सकेका छैनन् । उनलाई पक्रन नेपाल प्रहरीले ‘रेड नोटिस’ जारी गरेको छ । उनको बैङ्क खातासमेत रोक्का राखिएको थियो । तर, अहिले उनको स्वामित्वमा रहेका रेष्टुरेण्टहरु भित्रभित्रै बेच्ने तयारी गरिएको विशेष स्रोतको भनाइ छ ।सुन बेपत्ता उच्चस्तरीय प्रतिवेदनमा कति परिमाणमा सुन तस्करी भएको थियो भन्ने विषय आए पनि अहिलेसस्म उक्त सुन कहाँ छ भन्ने पत्ता लाग्न सकेको छैन । आम नागरिकमा यति ठूलो परिमाणको सुन तस्करीका नाइके साधारण व्यक्ति हुन सक्छ त भन्ने प्रश्न जन्मियो । सरकारले यस्ता विषयमा गम्भीर नभई सुन तस्करीको जालो छिन्नभिन्न भएको दाबी गरिरहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।