पोखराको रत्न मन्दिर खुलाउने तयारी : पर्यटकीय स्थलको रूपमा विकास गरिँदै

Share News
कास्की । गण्डकी प्रदेश सरकारले पोखरास्थित रत्न मन्दिरलाई सङ्ग्रहालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने तयारी गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले लेकसाइडस्थित रत्न मन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी गरेको हो । लामो समय राजदरबारले उपयोग गर्दै आएको सो दरबार नेपाल सरकारमार्फत नेपाल ट्रष्टको मातहतमा ल्याइएको थियो । ट्रष्टको मातहतमा आएको लामो समयसम्म पनि कुनै प्रयोगमा आउन नसकेको दरबारलाई सङ्ग्रहालय बनाएर पर्यटन प्रवर्द्धन गर्ने योजना प्रदेश सरकारले अगाडि बढाएको हो । नेपाल ट्रष्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री रहने प्रावधान छ । रत्न मन्दिर र हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुल्ला गर्ने तयारी भइरहेको प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । उनका अनुसार संसारभरका पर्यटकलाई नेपालको राजसंस्थाका गतिविधि तथा शासन पद्धतिबारे जानकारी दिने उद्देश्यले सङ्ग्रहालय बनाउन प्रदेश सरकार लागेको छ । ‘यसलाई लेक म्यूजियम तथा जैविक विविधताको अध्ययन गर्ने केन्द्रको रूपमा पनि विकास गर्न र अन्य पर्यटकीय गतिविधि बढाउन अध्ययन अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘प्रदेश सरकारले यसको डीपीआरसमेत तयार पार्दै छ ।’ रत्न मन्दिरमा आवश्यक पूर्वाधार र संरचनाको व्यवस्थापन गरी केही समयभित्रै खुला गर्ने गरिने उनले बताए । पूर्व–राजपरिवारले ‘विण्टर प्यालेस’का रूपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रूपमा सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयको माग थियो । प्रदेश सरकारको लागि कार्यालय तथा आवासको ब्यवस्थापन गर्न खटिएको टोलीले रत्न मन्दिरलाई प्रदेश प्रमुख वा मुख्यमन्त्रीका लागि आवास तथा कार्यालय बनाउन सकिने भनी सिफारिश गरेपछि पोखरेलीहरू दरबारलाई सङ्ग्रहालय बनाउन माग गर्दै आन्दोलित भएका थिए । स्व. राजा वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३को राजनीतिक परिवर्तनसँगै तत्कालीन सरकारले नेपाल ट्रष्टको स्वामित्वमा ल्याएको थियो । वि.सं. २०१४मा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट उक्त दरबारको निर्माण गर्न लगाएका थिए । १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको दरबार २०६७ देखि नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।