करीअर : इन्द्रा नुई को पेप्सीको सीईओ यात्रा

Share News
काठमाडौं । अमेरिकी हल्का पेय उत्पादक कम्पनी पेप्सीकोकी ६२ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रा नुई अक्टोबरदेखि सीईओ पद छाड्दै छिन् । सन् २००६ मा कम्पनी प्रमुख बन्दा नुई अमेरिकाका ५ सय ठूला पब्लिक कम्पनीका १ दर्जनभन्दा कम महिला सीईओमध्ये एक थिइन् । अहिले ती कम्पनीमा करीब २ दर्जन महिला सीईओ छन् । एक त आप्रवासी, त्यसमाथि महिला । विश्वकै शक्तिशाली कर्पोरेट हाउसमध्ये एकको शीर्ष स्थानसम्मको उनको यात्रा, त्यसपछिको सङ्घर्ष, कार्यालय र निजी जीवनबीचको तालमेलको कथा निकै रोचक छ । नुईले कम्पनीको कार्यभार सम्हाल्दा पेप्सिकोको वार्षिक आम्दानी ३५ अर्ब डलर थियो । अहिले यो बढेर ६३ अर्ब डलरभन्दा बढी पुगिसकेको छ । कम्पनीको शेयरमूल्य पनि यस अवधिमा करीब ८० प्रतिशत बढेको छ । २२ बहुराष्ट्रिय ब्राण्ड भएको तथा वार्षिक ६३ अर्ब डलरभन्दा बढीको कारोबार गर्ने कम्पनी हेर्छिन् उनी । अहिले उनी धेरै महिलाका लागि ‘रोल मोडल’ बनिसकेकी छिन् । काम गर्ने क्रममा अप्ठ्यारा त आइहाल्छन् । तर, खुट्टा नकमाईकन दह्रो गरेर टेक्ने र आफूले पाएको जिम्मेवारीमा पूर्ण ध्यान लगाउनु नै उत्तम विकल्प हो भन्छिन् नुई । ‘सीईओ हुनु भनेको विशेष कामको जिम्मेवारी लिनु हो । यो एउटा जागीर भन्ने सोचेर गर्ने काम होइन । यसमा तपाईंको मस्तिष्क, मुटु र हात सबै पूर्णरूपमा डुब्नैपर्छ । तपाईंको आत्मा नै यस काममा संलग्न हुनुपर्छ, यसले तपाईंलाई पूरै खाइदिन्छ,’ सन् २००७ मै एक अन्तरवार्तामा नुईले भनेकी थिइन् । कहिलेकाहीँ हाम्रो जैविक घडी र करीअरको घडी पूर्ण टकरावको स्थितिमा पनि आउँछन् । त्यसैले, महिलालाई उसको काममा सफल बनाउने सहयोग र समर्थनको बृहत् सञ्जाल नै चाहिने उनको अनुभव छ । यस क्रममा विभिन्न समस्या र अवरोध पनि आउँछन् । तर, यी सबैलाई स्वीकारेर, त्यसको डटेर समाना गरेर बढ्नु नै राम्रो उपाय हो भन्ने नुईको बुझाइ छ । नुई बोष्टन कन्सल्टिङ ग्रूप (बीसीजी), मोटोरोला, अशी ब्राउन बोभेरी हुँदै सन् १९९४ मा पेप्सीकोमा प्रमुख रणनीतिज्ञका रूपमा छिरेकी थिइन् । त्यतिबेला नुई ज्याक वेल्चको कम्पनी जनरल मोटर्समा काम गर्ने अवसर छाडेर पेप्सीको आएकी थिइन् । तत्कालै उनले कम्पनीको रणनीतिलाई आफ्नो प्रभावमा लिइन् । तत्कालीन सीईओ रोजर इन्रिकोलाई कम्पनीको फाष्ट फूड व्यवसायलाई छुट्ट्याएर अर्को कम्पनी बनाउने र पछि त्यसलाई बेच्ने सल्लाह दिइन् । यसरी आएको रकम कम्पनीको कर्जा कटौतीमा लगाइयो । पेप्सीकोले सन् १९९८ मा ट्रपिकाना र सन् २००० मा क्वेकर ओट्स किन्नुमा पनि नुईको ठूलो भूमिका छ । सन् २००१ मा कम्पनीको अध्यक्ष र प्रमुख वित्तीय अधिकृत भइन् । यसले उनको नेतृत्व शीप र अनुभव मात्रै तिखारेन कम्पनीबारे उनको ज्ञान पनि फराकिलो बनायो । पेप्सीकोको ४४ वर्षे इतिहासमा उनी पाँचौं सीईओ हुन् । कम्पनीका विभिन्न तहमा नेतृत्व दिनु र सीईओको पदभार सम्हाल्नुबीच निकै भिन्नता रहेको नुईको बुझाइ छ । कम्पनीको कुनै एउटा एकाइ वा व्यवसायको मात्रै नेतृत्व गर्दा व्यक्तिमा नेतृत्व गर्ने केही खास गुण चाहिन्छ । तर, शीर्ष पदमा पुगेपछि भने उसमा नेतृत्वका त्यस्ता गुण केही मात्र थप हुँदैन, गुणोत्तर रूपमा थपिन्छ । आफू कम्पनीको अध्यक्ष मात्रै हुँदा यो त मैले गर्न सकिहाल्छु नि भन्ने धारणा उनमा थियो । ‘तर सीईओ भएपछि भने जिम्मेवारी पनि ह्वात्तै बढ्छन्, किनकि त्यतिबेला मलाई हरेक कुराको चिन्ता हुन थाल्छ,’ उनले भनिन् । पहिलाको अनुभव र क्षमताले मात्रै सफल सीईओ बन्न सकिँदैन । नुईका अनुसार यसका लागि जीवनभर आफूलाई सुधार्दै लैजाने र सिकिरहने प्रयत्न र वाचा गर्नुपर्छ । सीईओले आफूलाई जति विस्तार र विकसित गर्दै जान्छ, कम्पनी त्यति नै ‘भाइब्रेण्ट’ हुन्छ भन्छिन् नुई ।कम्पनीको जिम्मेवारी सम्हालेपछि नुईले संस्थागत लगानीलाई जङ्क फूडबाट हेल्थी फूडतिर डोर्‍याइन् । उनको यो कदमको निकै विवाद पनि भयो । यसबाट उत्पन्न विवाद अन्त्य गर्न उनले पेप्सीकोका प्रडक्टलाई ‘फन फर यू’, ‘बेटर फर यू’ र ‘गूड फर यू’ गरी तीन वर्गमा वर्गीकरण गरिन् । पुनः वर्गीकरणको रणनीति धेरै हदसम्म सफल भयो । सन् २०१० मा नुईले ‘फन फर यू प्रडक्ट’ घटाएर ‘डायट’ प्रडक्टलाई प्रवर्द्धन गरिन् । अहिले कम्पनीले गुलिया पेयपदार्थ र आलुचिप्स मात्र बेचिरहेको छैन, ट्रपिकाना, नेकेड जूस, इज्जेलगायत स्वस्थ्यवर्द्धक पेय पनि बेचिरहेको छ । कम्पनीमा आबद्ध भएदेखि नै नुईले मुख्य उत्पादनमा नून, चिनी तथा चिल्लोपदार्थ घटाउन र आधुनिक समाजको मागअनुरूपका वस्तु उत्पादनमा जोड दिइन् ।नुईको सबैभन्दा ठूलो सफलता पेप्सी ब्राण्डको पूर्ण परिवर्तन नै हो । अहिले उनी उदीयमान बजारको मध्यम वर्गमा कम्पनीको उत्पादनको पहुँच विस्तार गर्नेलगायत रणनीति लिइरहेकी छिन् । उनको प्रभाव दूरगामी थियो । दृढ निश्चय र सबै काम ‘पर्फेक्ट’सँग गर्ने बानीका कारण अरूले अपेक्षा गरेभन्दा धेरै पर पुग्न उनी सफल भइन् ।महिला सीईओ धेरै नहुनुमा नुईको तर्क अहिले पनि विश्वका धेरै कम्पनीमा महिला सीईओ निकै कम छन् । यस्तो किन भएको होला भन्नेबारे नुईले फेबु्रअरीमा फिकोनोमिक्स रेडियो शोमा भनेको कुराको सार :हरेक कार्यालयमा धेरै महिला कर्मचारी न्यूनस्तरमा हुन्छन् । उनीहरूमध्ये धेरैजना मध्यम व्यवस्थापन तहमा पुग्छन् । तर, त्यसपछि बच्चा जन्माउनुपर्‍यो, उनीहरूलाई हुर्काउनुपर्‍यो । महिलाका लागि बालबच्चा, करीअर, विवाहबीच तालमेल मिलाउन निकै गाह्रो हुन्छ । अनि कम्पनीको वृद्धि र विकासलाई डोर्‍याउने उच्च क्षमता भएको ‘आउट–पर्फमर’ हुन त झन् कठिन छ । त्यसैले गर्दा जति जति माथिल्लो तहमा पुग्यो, त्यति त्यति महिलाको उपस्थिति पातलिँदै जान्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।