संसद्द्वारा मण्ट्रियल महासन्धि पारित : हवाई यात्रुको बीमा रकम अब सवा करोड

Share News
काठमाडौं । लामो समयदेखि बहसमा आएको मण्ट्रियल महासन्धिलाई प्रतिनिधिसभाको बिहीवारको बैठकले सर्वसम्मतिबाट पारित गरेको छ । यो महासन्धि पारित भएसँगै नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा उल्लेख्य वृद्धि भएको छ । हवाई यात्रुको रू. २० लाखमात्रैको बीमा हुँदै आएकोमा अब महासन्धिअनुसार रू. १ करोड २४ लाख ४१ हजारको बीमा हुनेछ । बैठकले ‘अन्तरराष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने मण्ट्रियल महासन्धिलाई अनुमोदन गरेको हो । महासन्धिका प्रावधानले अन्तरराष्ट्रिय उडानका क्रममा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम अब समान हुनेछ । हवाई उड्डयनका माध्यमबाट हुने परिवहनबाट सृजित जोखीमबाट यात्रुलाई सुरक्षित गर्न महासन्धिका प्रावधान महत्त्वपूर्ण रहेका छन् । हवाई यात्रुको बीमा रकम अन्तरराष्ट्रिय मापदण्डबराबर बनाउने उद्देश्यले सन् १९९९ देखि नै मण्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । तर, महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बीमा रकम बढ्न सकेको थिएन । नेपालमा हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’अनुसार नै बीमा रकम दिइने गरिएको थियो । सोअनुसार हवाई यात्रुको बीमा रकम मात्रै २० हजार डलर रहेको थियो । विश्वका १३२ देशले अभिसन्धि अनुमोदन गरिसकेका छन् । दक्षिण एशियामा भारत र श्रीलङ्काले सो अभिसन्धिलाई यसअघि नै अनुमोदन गरेका थिए । अनुमोदन गर्ने नेपाल तेस्रो राष्ट्र भएको छ । हवाई यात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउन सरकारले महासन्धिलाई लागू गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । हवाई यात्रामा हुने जोखीम कम गर्न र यात्रुको सुविधालाई संसारभर समान बनाउन उक्त महासन्धि अनुमोदन गरी कार्यान्वयनमा ल्याउन लागिएको उनले बताए । नेपालमा गतवर्ष यूस बङ्गलाको विमान दुर्घटना भएपछि मण्ट्रियल महासन्धि पारित गर्ने विषयमा बहस थालिएको थियो । सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेका कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी तथा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्न सहयोग गर्ने छ । महासन्धिको पक्षराष्ट्र हुँदा नेपाललाई थप आर्थिक दायित्व वहन गर्नु नपर्ने, नेपालमा उडान गर्ने पर्यटक तथा यात्रुको मनोबल उच्च हुने र हवाई उडानवाहकका दायित्वलाई सुनिश्चित गर्दै बढी क्षतिपूर्ति पाइनेछ । यसबाट मुलुकलाई समेत समग्रमा फाइदा पुग्ने बताइएको छ । महासन्धिमा अग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्ता यात्रुमैत्री प्रावधानसमेत अभिसन्धिमा समेटिएका छन् । महासन्धिअनुसार कार्गोको नोक्सानी, क्षति वा विलम्ब भएमा प्रतिकिलो रू. २ हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै यात्रुका सामग्रीको नोक्सानी वा क्षति भएमा रू. १ लाख २४ हजार ४ सय १० क्षतिपूर्ति तिर्नुपर्नेछ ।यात्रुको यात्रा विलम्ब भएमा रू. ५ लाख १६ हजार ३ सय ४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ । बीमा रकम नबढाए नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भन्दै सरोकारवाला निकायले समेत महासन्धि अनुमोदनका लागि पटकपटक आग्रह गर्दै आएका थिए ।महासन्धि कार्यान्वयन भएपछि अन्तरराष्ट्रिय उडान गर्ने नेपाली विमानसेवा कम्पनीलाई समेत सहज हुने छ । महासन्धि अनुमोदनपछि सरकारले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को मुख्यालय क्यानडाको मण्ट्रियलमा पठाउनेछ । आईकाओमा पेश गरेको ६० दिनभित्र यो महासन्धि लागू हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।