चिनी उद्योग : बिजुली विक्रीको तयारी

Share News
काठमाडौं । मुलुकभित्र सञ्चालन रहेका चिनी उद्योगले सरकारलाई बिजुली विक्री गर्ने भएका छन् । चिनी उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई बिजुली विक्री गर्ने तयारी अघि बढाएको नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । उद्योगहरूले सरकारबाट बिजुली खरीद गरी उद्योग चलाइरहेको अवस्थामा चिनी उद्योगले भने सरकारलाई नै बिजुली विक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौतासमेत गरिसकेको अग्रवालले जानकारी दिए । उनले भने, ‘चालू आर्थिक वर्ष (आव) २०७५/७६ देखि नै प्राधिकरणलाई बिजुली बेच्नका लागि प्रायः सबै चिनी उद्योगले तयारी गरिरहेका छन् ।’ अग्रवालका अनुसार चिनी उद्योगले प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युत् विक्री गर्ने तयारी छ । नेपालमा पहिलोपटक उद्योगबाट उत्पादित बिजुली विक्रीका लागि तयारी अघि बढेको हो । हाल मुलुकमा १३ ओटा चिनी उद्योग सञ्चालनमा छन् । चिनी उद्योगहरूले आफ्नो क्षमता र आकारअनुसार बिजुली उत्पादन गर्ने गरेका छन् । सबैभन्दा कम क्षमता र सानो आकारका उद्योगले न्यूनतम ६ देखि ८ मेगावाटसम्म र ठूलो क्षमताका उद्योगले १४ मेगावाटसम्म बिजुली उत्पादन गर्न सक्ने अध्यक्ष अग्रवालले जानकारी दिए । सङ्घका अनुसार, मुलुकका १३ चिनी उद्योगले वार्षिक कुल ७० मेगावाटसम्म बिजुली विक्री गर्न सक्छन् । चिनी उद्योग वर्षमा ४ महीना मात्रै सञ्चालनमा रहन्छन् । सोही ४ महीना मात्रै चिनी उद्योगले प्राधिकरणलाई विद्युत् विक्री गर्ने बताइएको छ । एभरेष्ट सुगर मिलका सञ्चालकसमेत रहेका अध्यक्ष अग्रवालले आफ्नो उद्योगबाट हाल ९ मेगावाट बिजुली उत्पादन भइरहेको जानकारी दिए । मिल सञ्चालनका लागि २ मेगावाट खपत हुनेहुँदा बाँकी बचत गर्न सकिन्छ । उनका अनुसार एभरेष्ट मिलले चालू आवमा प्राधिकरणलाई २ मेगावाट विद्युत् विक्री गर्ने छ । त्यसको सफल परीक्षणपछि आगामी आवमा लगानी थप गरी अझ बढी बिजुली उत्पादन गर्ने योजना रहेको अग्रवालले जानकारी दिए । यदि परीक्षण सफल भई प्राधिकरणले निरन्तर बिजुली खरीद गर्ने भए एभरेष्ट चिनी उद्योगले मात्रै १७ मेगावाटसम्म बिजुली विक्री गर्न सक्ने अग्रवालले बताए । विद्युत् खरीदको विषयलाई लिएर अर्थ मन्त्रालयले समेत तदारुकता देखाएको सङ्घले बताएको छ । कसरी हुन्छ बिजुली उत्पादन ? चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ । ‘उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ । वाष्पीकरणबाट बिजुली बन्छ । जलविद्युत्मा पानीको टर्बाइन भनिन्छ । तर, उद्योग क्षेत्रमा भने यसलाई स्टीम टर्बाइन भन्ने गरिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।