काठमाडौं । नेपालका कुनै अन्तरराष्ट्रिय कार्यक्रम आयोजना हुँदा रातारात हुने ‘विकासको नेपाली मोडल’ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीका देशहरूको प्रयास (बिमष्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पनि देखिएको छ । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोेजना हुने बिमष्टेकको चौथो शिखर सम्मेलनको पूर्वतयारीका क्रममा यतिबेला सरकारलाई विदेशी पाहुना आवतजावत गर्ने रूटमा पर्ने सडकका खाल्डाखाल्डी पुर्न भ्याइनभ्याई भएको छ ।
सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख तथा अन्य मन्त्री र उच्चपदस्थ कर्मचारी काठमाडौं आउँदै छन् ।
आम उपभोक्ताले सडकमा दिनहुँ सास्ती खेप्नु पर्दा समस्याको समाधान नखोज्ने सरकारी निकाय यतिबेला भने बिमष्टेकमा सरकारी लाज छोप्न टालटुले विकास मोडलमा व्यस्त छ । यसरी टालेको विकास बिमष्टेकमा आएका विदेशी पाहुना फर्किन नपाउँदै पूर्ववत् अवस्थामै फर्किने छ ।
विशिष्ट विदेशी पाहुनाहरूको आगमनका बेलाबाहेक अन्य समयमा भने सरकारको त्यो तदारुकता कमै देख्न पाइन्छ । २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउँदा सरकारले सडक मात्र होइन, काठमाडौंमा सडक छेउका घर पनि सिँगारेको थियो । त्यतिबेला मोदी पुग्ने कार्यक्रम रहेका ठाउँमा सरकारले सडक कालोपत्र गरेर चिल्लो बनाएको थियो ।
त्यस्तै सोही वर्ष काठमाडौंमा सार्क शिखर सम्मेलनका समयमा पनि सरकारले विकासको नेपाली मोडल प्रयोग गरेर सार्क राष्ट्र प्रमुखहरूका अगाडि आफ्नो लाज छोपेको थियो । सार्क सम्मेलनमा सार्क सदस्य राष्ट्रका ८ राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए । गत वैशाख २८ गते पनि भारतीय प्रधानमन्त्री मोदी दुईदिने नेपाल भ्रमणमा आउँदा विमानस्थलदेखि उनी बस्ने होटल ह्यातसम्मको सडक कालोपत्रे गरिएको थियो । त्यो कालोपत्र सडक मोदी फर्केसँगै पूर्ववत् अवस्थामै फर्किसकेको छ ।
अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकमा खाल्डा पुर्ने र मर्मत गर्ने काममा सडक विभागका कर्मचारी रातदिन नभनी खटिएका छन् । सरकारको यो रवैयाको सडकदेखि संसद्सम्म आलोचनासमेत भएको छ । एकातिर सामाजिक सञ्जालमा टालटुले विकासको यो मोडेलको विरोध भइरहेको छ भने अर्कोतिर सदनमा पनि विदेशी पाहुनालाई अलग अलग ठाउँमा राखेमा धेरै ठाउँका सडकका खाल्डा पुरिनेथियो भनेर सांसदहरूले सरकारमाथि व्यङ्ग्य गरेका छन् । केही दिनअघिको संसद् बैठकमा सरकारको यो कामप्रति व्यङ्ग्य गर्दै सांसद गगन थापाले संसद् बैठकमा बिमस्टेक सम्मेलनमा आउने विदेशी पाहुनालाई छुट्टाछुट्टै होटलमा राख्न सरकारलाई सुझाव दिएका थिए ।बिमष्टेकमा आउने सबै पाहुनालाई सरकारले होटल सोल्टीमा राख्ने भएको छ । त्यसैले विमानस्थल हुँदै तीनकुने, बानेश्वर, माइतीघरलगायतका स्थानमा सडकका खाल्डाखुल्डी पुर्ने तथा रेलिङ र पर्खालमा रङ लगाउने काम तीव्र गतिमा भइरहेको छ ।कतिपय ठाउँमा सडकका दायाँबायाँ पेण्टिङ गर्ने र रुख बिरुवा कटान गरी सुन्दर बनाउने काम भएका छन् । त्यसका लागि अहिले दिनरात साँझ बिहान धमाधम कालोपत्रेको काम भइरहेको छ । अन्य समयमा प्रधानमन्त्रीले निर्देशन दिँदासमेत नपुरिएका काठमाडौंका खाल्डा पुर्ने र भत्किएका पिच बनाउने काम अहिले धमाधम भइरहेका छन् । जनताको करबाट उठाएको रकमबाट गरिएका यस्ता विकासका काम न त गुणस्तरीय हुन्छन् न त दिगो नै ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।