हवाई मार्गबाट पोखरा भित्रिए साढे ५ लाख पर्यटक

Share News
कास्की । पर्यटकीय नगरी पोखरामा हवाई मार्गबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । विगतको तुलनामा आर्थिक वर्ष २०७४/७५ मा हवाई मार्गबाट पोखरा आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकोे नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । हवाई रूटमार्फत गतवर्ष पोखरा भित्रिएका आन्तरिक तथा बाह्य पर्यटकभन्दा यस वर्ष १ लाख ४१ हजार ६ सय ७१ जना बढी पर्यटक पोखरा आएको प्रमुख गुरागाईंले बताए । ‘हवाई मार्ग हुँदै पोखरा आउने पर्यटकमा आन्तरिक मात्र हैन, विदेशी पर्यटक पनि बढेका छन्’, उनले भने, ‘मुलुकमा स्थायित्व र शान्तिसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो ।’ उनका अनुसार २०७३/७४ मा विदेशी पर्यटक १ लाख ३९ हजार ४ सय ७७ जना पोखरा भित्रिएका थिए भने २०७४/७५ मा १ लाख ७५ हजार २४ जना पर्यटक जहाजमार्फत आएका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ११ हजार ५ सय ३६ यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए भने २०७४/७५ मा ५ लाख ५३ हजार २ सय ७ जनाले हवाई मार्ग यात्रा गरेका छन् । पछिल्लो आर्थिक वर्षको १ वर्षमा २ लाख ७० हजार २ सय ३० जना यात्रुले हवाई मार्ग हुँदै पोखरा प्रवेश गरेका छन् भने २ लाख ८२ हजार ९ सय ७७ जना पोखराबाट बाहिरिएका छन् । पर्यटकको वृद्धिसँगै विमानस्थलको आम्दानी ३४ प्रतिशतले वृद्धि भएको प्रमुख गुरागाईंले जानकारी दिए ।गुरागाईंका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा यस आवमा २ करोड २३ लाख आम्दानी बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ९४ लाख ३० हजार आम्दानी भएको थियो भने २०७४÷७५ मा ९ करोड १७ लाख ३० हजार आम्दानी भएको छ । पोखरा विमानस्थलले यात्रु सेवाशुल्क, जहाज अवतरण, ≈याङ्गर, घरभाडालगायत शीर्षकबाट आम्दानी गर्ने गरेको छ ।पोखरामा पर्यटकीय सिजन शुरू भएसँगै एयरलाइन्सले फ्लाइट सङ्ख्या बढाउने तयारी थालेका छन् । पोखरा–काठमाडौं रूटमा बुद्ध एयरले भदौ दोस्रो सातापछि दैनिक १४ फ्लाइट गर्ने तयारी गरेको बुद्ध एयर पोखराका प्रमुख गौतम बरालले जानकारी दिए ।‘अहिले हामीले दैनिक ८ फ्लाइट उडाएका छौं,’ उनले भने, ‘अब, पर्यटकीय सिजनमा अग्रीम ५० प्रतिशतभन्दा बढी बुकिङ आइसकेको छ, त्यसैले दैनिक दर्जन फ्लाइटको तयारी गरिरहेका छौं ।’उनका अनुसार अब पोखरामा नै राति जहाज राखेर बिहान ७ बजे नै फ्लाइट गर्ने तयारी थालिएको छ । यती एयरलाइन्सले पनि १२–१३ फ्लाइटको तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख भोलाप्रसाद गुरागाईंले जानकारी दिए । मकालु एयरले पनि पोखराबाट चार्टर फ्लाइट गर्ने तयारी गरेको जानकारी उनले दिए ।त्यसैगरी सिम्रिक एयरलाइन्स पोखराका प्रमुख विकास बरालले पर्यटकीय सिजनका लागि ५ फ्लाइट थप पर्ने तयारी थालेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।