भदौ १३, काठमाडौं । सङ्घीय अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको अर्थतन्त्र खतरामा नरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्रका १÷२ परिसूचक कमजोर रहेपनि समग्र अर्थतन्त्र सकारात्मक विन्दुमै रहेको धारणा राखेका हुन् । उनले आर्थिक समृद्धिका लागि मुलुक सुधारको चरणमा प्रवेश गरेको भन्दै कमजोर परिसूचक पनि क्रमशः नियन्त्रणमा आउने बताए । अर्थमन्त्रीले वित्तीय सङ्घीयता लागू भएको पहिलो महीनामा सबै सुधारको अपेक्षा गर्न नहुने भन्दै राम्रो काम गर्न समय लाग्ने तर्क गरे ।
अर्थमन्त्री डा. खतिवडाले आर्थिक विकासका लागि सरकार प्रतिवद्ध रहेपनि कानून निर्माणको संक्रमण रहेकाले विकासले गति लिन नसकेको बताए । उनले भने, ‘राम्रो काम गर्न समय लाग्ने रहेछ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालको निजीक्षेत्र दोहोरो करको मारमा परेको भन्दै सरकारले समन्वय गर्नुपर्ने बताइन् । ‘स्थानीय सरकारको जथाभावी कर थोपर्ने कामले निजी क्षेत्रलाई निरुत्साही बनायो,’ अध्यक्ष राणाले भनिन् । सङ्घीय सरकारले नीतिगत सुधार गरी लगानीका लागि वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत कर सङ्कलन हुने भएकाले निजी क्षेत्रले पूँजी निर्माण गर्न नसकेको बताए । उनले औद्योगिक व्यवसाय ऐनमा उद्योग क्षेत्रले प्रतिस्पर्धी क्षमता बढाउने व्यवस्था हुनुपर्ने धारणा राखे ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले स्थानीय तहले लगाएको मनोमानी करले निजी क्षेत्रलाई समस्यामा पारेको बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।