बिमष्टेकको चौथो शिखर सम्मेलन : क्षेत्रीय सहयोग र सहकार्यमा जोड

Share News
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमष्टेक)को चौथो शिखर सम्मेलन बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । सम्मेलनको उद्घाटन सत्रमा सदस्य राष्ट्रका प्रमुखहरूले बिमष्टेक सदस्य राष्ट्रहरूको विकास र समृद्धिका लागि सहकार्य आवश्यक भएको बताए । विकास र समृद्धिको लागि क्षेत्रीय शान्ति र स्थायित्व आवश्यक रहेको बताउँदै उनीहरूले सदस्य राष्ट्रबीचको सहकार्य र एकताले मात्र यो सम्भव हुने तथ्य औंल्याए । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको विकल्प नभई परिपूरक भएको तथा बिमष्टेकले देशहरूलाई मात्र जोड्ने नभई दक्षिण एशिया र दक्षिणपूर्वी एशियालाई पनि जोड्ने बताए । उनले भने, ‘बिमस्टेकले हिमालदेखि महासागरसम्मलाई जोड्दै पारस्परिक सहयोग र सहकार्यलाई मजबुत बनाउँछ ।’ बिमष्टेक सदस्य राष्ट्रबीच ऊर्जा, जलस्रोत, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रमा सहकार्यको सम्भावना रहेको उनको भनाइ थियो । बिमष्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म पनि रहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्न अन्तरराष्ट्रिय समुदायको समर्थन र सद्भाव आवश्यक रहेको बताए । प्रधानमन्त्रीले ‘सुखी नेपाली समृद्ध नेपाल’को अवधारणालाई साकार बनाउन सरकारले भौतिक पूर्वाधार, ऊर्जा, सडक सञ्जाल र अन्य क्षेत्रमा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको स्पष्ट पारे । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले बिमष्टेकका सदस्य राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताइन् । बङ्गलादेश पनि विभिन्न समस्याबाट जुध्दै अगाडि बढेको बताउँदै उनले भनिन्, ‘सुनौलो बङ्गलादेश बनाउन सदस्य राष्ट्रहरूको सहयोग आवश्यक छ ।’ भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधान न्यायाधीश ल्योन्पो छिरिङ वाङचुले बिमष्टेकको उद्देश्य परिपूर्तिका लागि भुटान पूर्ण प्रतिबद्ध र यस क्षेत्रको विकास, कनेक्टिभिटी, प्रविधि र समृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले साझा लक्ष्य प्राप्तिको लागि सदस्य राष्ट्रबीच सहकार्यको आवश्यकतामाथि जोड दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय विकासका लागि कनेक्टिभिटी आवश्यक भएको धारणा राखे । उनले सदस्य राष्ट्रको आपसी हितका लागि भारत सधैँ तयार रहेको बताए । उनले बिमष्टेक महिला सांसद फोरमको प्रस्ताव गर्दै सदस्य राष्ट्रको लागि विभिन्न छात्रवृत्ति, अनुसन्धान वृत्ति तथा सम्मेलनका लागि भारतले सहयोग गर्ने बताए ।म्यान्माका राष्ट्रपति वीँ म्यीँले बिमष्टेकले ऊर्जा कनेक्टिभिटीमा जोड दिई पूर्व निर्णयलाई कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने बताए । यातायात सञ्जालको माध्यमबाट एक अर्कालाई जोड्न स्थल र जलमार्ग सुरक्षित तवरले सञ्चालनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले कनेक्टिभिटीबाटै सदस्य राष्ट्रको आर्थिक प्रगति गर्न सकिने बताए । बिमष्टेकको सुदृढीकरणबाट त्यो लक्ष्य हासिल गर्न सकिने उनको धारणा थियो ।थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाले सदस्य राष्ट्रको विकासले मात्र क्षेत्रीय समृद्धि प्राप्त गर्न सकिने बताउँदै बिमष्टेकलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।यसैबीच बिमष्टेकका सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीवार शीतल निवासमा भेट गरेका थिए । उनीहरू राष्ट्रपतिद्वारा आयोजित दिवाभोजमा पनि सहभागी भए । सम्मेलन उद्घाटनपछि सदस्य राष्ट्रका प्रमुखहरू प्रधानमन्त्री ओलीले ह्यात होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।दोस्रो दिन शुक्रवार विहान सदस्य राष्ट्र प्रमुखहरूको रिट्रिटपछि दिउँसो आयोजना हुने सम्मेलनको कार्यक्रममा अन्तरदेशीय ऊर्जा प्रसारण लाइन स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनुका साथै काठमाडौं घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ ।बिमस्टेक यस क्षेत्रका राष्ट्रबीच आपसी सहयोग र सम्बन्ध विस्तारका लागि सन् १९९७ को जुन ६ मा भएको हो । बिमष्टेकमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमा र थाइल्यान्ड गरी सात सदस्य राष्ट्र छन् । बिमष्टेकले मुख्य गरी १४ क्षेत्रमा आपसी सहयोग गर्ने उद्देश्य लिएको छ । यसमा प्रविधि, अपराध न्यूनीकरण, कृषि, पर्यावरण, आतङ्कवाद नियन्त्रण तथा गरीबी नियन्त्रणसहितका क्षेत्र प्रमुख रहेका छन् ।बिमष्टेकको पहिलो सम्मेलन सन् २००४ थाइल्यान्डमा, दोस्रो सन् २००८ भारतमा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमामा भएको थियो । यो चौथो सम्मेलन हो भने पाँचौ सम्मेलन श्रीलङ्काले आयोजना गर्ने छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।