काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनभित्र स्मार्ट पार्किङ बनाउन बोलपत्र आह्वान गर्ने भएको छ । महानगरले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र स्मार्ट पार्किङ र आधुनिक सार्वजनिक शौचालय बनाउने योजना सार्वजनिक गरेको थियो । तर, हालसम्म त्यसबारे प्रक्रिया नै शुरू गरेको थिएन ।
महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पहिलो चरणमा धर्मपथमा रहेको २ रोपनी जग्गामा करीब २ सयसम्म चारपाङ्ग्रे गाडी अट्ने स्मार्ट पार्किङ बनाउन १/२ दिनभित्रै बोलपत्र आह्वान गर्ने बताए । उनका अनुसार बोलपत्र छनोट हुन १÷२ महीना लाग्ने र सम्झौता भएको २ वर्षभित्र पार्किङ बनाइसक्नु पर्ने गरी बोलपत्र आह्वान हुन लागेको छ ।
साथै, महानगरले ४२ स्थानमा स्मार्ट शौचालय बनाउने योजनाका साथ बोलपत्र आह्वान गरे पनि कसैले बोलपत्र नहालेर काम रोकिएको उनले बताए । नेपालीले अहिलेसम्म त्यस्तो शौचालय प्रयोग नगरेको हुनाले पनि निर्माण कम्पनी सहभागी नभएको हुनसक्ने उनको अनुमान छ ।
के हो स्मार्ट पार्किङ ?
विद्युतीय लिफ्टको आधारमा तला–तलामा गरिने पार्किङ नै स्मार्ट पार्किङ हो । यस्तो पार्किङमा सवारीसाधन एक आपसमा रोटेड गरेर तलमाथि गर्न सकिनेछ ।
सामान्य पार्किङको रूपमा अहिले महानगरले न्युरोड, विशालबजार अगाडि, खुल्लामञ्च भित्रलगायत ठाउँमा निःशुल्क पार्किङको व्यवस्था गरेको छ । स्मार्ट पार्किङ बनेपछि निःशुल्क पार्किङ हट्ने र पार्किङका लागि पैसा तिर्नुपर्ने व्यवस्था हुने महानगरले बताएको छ ।
कस्तो हुन्छ स्मार्ट शौचालय ?
प्रस्तावित स्मार्ट शौचालय रोटोमोल्डिङ प्रविधिमा आधारित हुने महानगरले जानकारी दिएको छ । अत्याधुनिक शौचालय टिकाउ र मजबूत हुनुका साथै सूर्यबाट आउने हानिकार यूभी विकिरणहरूबाट सुरक्षित हुन्छ । ‘आधुनिक प्रविधिमा आधारित शौचालय एक सय १० किलोग्राम तौलको रहनेछ । आधुनिक शौचालयमा सौर्य ऊर्जाबाट चल्ने बत्ती तथा भेन्टिलेसन र पुरुषहरूको लागि युनिरल पनि जडान गरिएको हुन्छ । हात धुने, बेसिन ट्वाइलेट पेपर र स्ट्याण्ड ऐनालगायतका सामग्री पनि हुनेछ । जुन अहिले हामीले प्रयोग गरिरहेकोे शौचालयभन्दा भिन्न र सुविधा भएको तथा सरसफाइमा ध्यान दिइएको हुने महानगरको भनाइ छ । पैसा नभएमा क्रेडिट कार्डमार्फत उक्त शौचालयको प्रयोग गर्न सकिने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।