विद्यालयमै विश्व
बागलुङको लेखानी गाविसस्थित लेखानी उच्चमाविका शिक्षक तथा विद्यार्थी आजभोलि विद्यालयमै बसी नेपाललगायत विश्वका धेरैजसो खबर थाहा पाउँछन् । महाकाली बाढीले दार्चुलावासीलाई दिएको पीडा मात्रै होइन, दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको स्वास्थ्य स्थिति, आँखाको इशारामा चल्ने सामसुङको मोबाइल तथा विश्वविख्यात अभिनेत्री एञ्जेलिना जोलीको स्तन शल्यक्रियाबारे पनि उनीहरू जानकार हुन्छन् । टेलिकम सेवाप्रदायक कम्पनी एनसेललगायत अन्य सङ्घसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा स्थापना भएको डिजिटल लाइब्रेरीले उनीहरूलाई विद्यालयबाटै विश्व बुझ्ने अवसर दिएको हो । ‘अहिले हाम्रा शिक्षक र विद्यार्थी विद्यालयबाटै विश्वका विभिन्न गतिविधिबारे जानकारी लिन सक्ने भएका छन्,’ विद्यालयका प्राचार्य विष्णुदत्त सुवेदी भन्छन् ।
काभ्रेको पाँचखाल–१ भवँरकोटमा रहेको गणेश माध्यमिक विद्यालयका शिक्षक प्रह्लाद गिरि हरेक दिन कार्यालय समयभन्दा करीब एक घण्टा अगावै विद्यालय पुग्ने गर्छन् । विद्यालयमा रहेको डिजिटल लाइब्रेरीबाट आफूले पढाउने विषयमा थप ज्ञान हासिल गर्नकै लागि कार्यालय आउन हतार गर्ने उनी सुनाउँछन् । २ वर्षअघि एनसेलले स्थापना गरिदिएको डिजिटल लाइब्रेरीले गणेश माविका शिक्षक तथा विद्यार्थीको ज्ञानको दायरालाई थप फराकिलो बनाउन सहयोग गरेको छ । ‘डिजिटल लाइब्रेरीले विद्यार्थीलाई सहज तरीकाबाट पढाउन तथा थप जानकारी दिन ठूलो सहयोग गरेको छ,’ उनी भन्छन्, ‘हामी शिक्षकसँगै कम्प्युटरमा बसेर पढ्न विद्यार्थीहरूसमेत तँछाड–मछाड गर्छन् ।’ एनसेलको सहयोग ज्ञानको भण्डार भएको उनीहरू बताउँछन् ।
हेल्प नेपाल नेटवर्क, सेभ द चिल्ड्रेनलगायत सङ्घसंस्थासँगको सहकार्यमा एनसेलले निर्माण गरिदिएको डिजिटल लाइब्रेरीले लेखानी र गणेश मावि मात्रै होइनन्, नेपालका विभिन्न जिल्लाका १३ ओटा विद्यालयका शिक्षक र विद्यार्थीको ज्ञानको दायरालाई फराकिलो पार्न सहयोग पुर्याएको छ । विद्यालयहरूले कम्प्युटर विषयको अध्ययनअध्यापन तथा अतिरिक्त तालीमहरूको व्यवस्थासमेत गरेका छन् । डिजिटल लाइब्रेरी स्थापना भएपछि विद्यार्थीहरूलाई सहभागितामूलक अध्यापन गराउने अवसर जुटेको विद्यालयका शिक्षकहरू बताउँछन् । त्यस्तै, आफ्नै विद्यालयमा डिजिटल लाइब्रेरी सञ्चालनमा आएपछि किताबी ज्ञानको घेराभित्र मात्रै बस्नुपर्ने बाध्यता टरेको विद्यार्थीहरूको भनाइ छ । त्यस्तै, आफ्ना छोराछोरीले कम्प्युटर तथा कम्प्युटरमार्फत ज्ञान लिने अवसर जुटेकोमा अभिभावकसमेत खुशी छन् । ‘अहिले त हाम्रा छोराछोरीहरू देशविदेशमा बस्ने अभिभावक र आफन्तसँग इण्टरनेटमा कुरा गर्न चासो राख्ने भएका छन्,’ लेखानी उमावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिभद्र कँडेलले भने, ‘एनसेललगायत ठूला कर्पोरेट हाउसहरूले तथा देशविदेशमा बस्ने नेपालीहरूले ग्रामीण भेगका विद्यालयमा यस्ता लाइब्रेरी स्थापना तथा सञ्चालन भएका योजनालाई निरन्तरता दिन ध्यान दिए नेपालको शैक्षिक स्तर बढ्ने देखिन्छ ।’ एनसेलबाहेक लेखानीलाई भूपू शिक्षक लालकुमार श्रेष्ठको अगुवाइमा अष्ट्रेलिया बसेका तीन छोरा विष्णु, गोपाल र महेन्द्र तथा सिगानाका टीका कार्कीले बागलुङ–अष्ट्रेलिया समाजको नाममा १० थान कम्प्युटर सहयोग गरेका हुन् ।
एनसेलले नेपालको शैक्षिक स्तर उकास्ने तथा ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा प्राविधिक शिक्षाको जग बसाल्ने उद्देश्यले विभिन्न विद्यालयमा डिजिटल लाइब्रेरी स्थापना गर्न सहयोग गरेको बताएको छ । संस्थागत सामाजिक दायित्व (सीएसआर)अन्तर्गत गरिएका यस्ता सहयोगले ग्रामीण भेगका बालबाललिकाको पढाइको स्तर बढाउन मद्दत पुग्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइराला बताउँछिन् । एनसेलले मुलुकका विभिन्न विद्यालयमा डिजिटल लाइब्रेरी स्थापना गर्न सन् २०११ देखि हालसम्म गरी करीब ९२ लाख खर्च गरिसकेको उनले जानकारी दिइन् । ‘हाम्रो यस्तो सहयोगबाट करीब ९ हजार विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।’ यस्ता सहयोगलाई कम्पनीले निरन्तरता दिने उनी बताउँछिन् ।
प्रत्येक विद्यालयलाई एनसेलले १० ओटा कम्प्युटर, एउटा सर्भर र दुईदिने कम्प्युटर सञ्चालन तालीम पनि दिएको एनसेलका कर्पोरेट कम्युनिकेशन एक्सपर्ट मिलनमणि शर्माले जानकारी दिए । अहिलेसम्म सबै विद्यालयलाई गरी सातओटा सर्भर, ७० ओटा कम्प्युटर, फर्निचर तथा तालीमहरू उपलब्ध गराएको उनले बताए । ‘शिक्षामा गरिएको सानोसानो सहयोगले देशको भविष्य निर्माणमा ठूलो टेवा पुर्याउने हाम्रो सोचाइ छ,’ उनी भन्छन्, ‘त्यसैले, डिजिटल लाइब्रेरी स्थापना, छात्रवृत्ति वितरण, शैक्षिक सामग्री वितरणलगायत शैक्षिक हितका सहयोग कार्यक्रम गर्दै आएका छौं ।’ विद्यालयका शिक्षकहरू कम्प्युटर सञ्चालनको तालीम भने नपुगेको गुनासो गर्छन् । सहयोगी संस्थाले बेलाबेलामा तालीमको आयोजना गर्नुपर्ने तथा स्थापित डिजिटल लाइब्रेरीको संवर्द्धनमा समेत सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आजभोलि त थुप्रै कम्पनी तथा सङ्घसंस्थाले शैक्षिक संस्थाहरूलाई सहयोग गर्ने गरेका छन् । त्यस्ता कम्पनी तथा सङ्घसंस्थाले खासगरी विद्यार्थीहरूलाई प्रविधिको अधिक प्रयोग गर्ने अवसर दिलाउन कम्प्युटरलगायत सामग्री उपलब्ध गराउने गरेका छन् । त्यस्तै, विदेशमा बस्दै आएका नेपालीहरूले पनि आफ्नो जन्मभूमिमा रहेको तथा आफूले पढेको विद्यालयलाई कम्प्युटरलगायत प्राविधिक तथा शैक्षिक सामग्री उपलब्ध गराउने गरेको पाइन्छ । शैक्षिक संस्थालाई उपलब्ध गराइने यसप्रकारका कम्प्युटर, सर्भर, ल्यापटपलगायत प्राविधिक उपकरणले शैक्षिक स्तर तथा प्राविधिक ज्ञान बढाउन सहयोग पुर्याउने शिक्षाविद्हरू बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।