काठमाडौं । दशैंलाई लक्षित गर्दै खसीबोका खरीद गर्न नेपाल खाद्य संस्थानले ३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको छ । दशैं नजीकिँदै गर्दा हरेक वर्षजस्तै यस वर्ष पनि संस्थानले विभिन्न स्थानबाट खसीबोका खरीद गर्न सो रकम छुट्याएको हो ।
संस्थानले १ हजार खसीबोका र १ हजार च्याङ्ग्रा खरीद गर्ने लक्ष्य राखेको संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए । सरकारले गत आवमा भने ३ करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसपटक कम बजेटका साथै खसीबोका खरीदको कोटासमेत घटाइएको उनले जानकारी दिए । गत आवमा १५ सय खसीबोका र १ हजार च्याङ्ग्रा खरीद गर्ने लक्ष्य राखिएता पनि मात्रै ९ सय ७२ खसीबोका र ८ सय ९० च्याङ्ग्रा खरीद गरी विक्रीवितरण गरिएको थियो । यस वर्ष पनि लक्ष्यअनुरूप खसीबोका खरीद गर्न सकिने वा नसकिनेमा केही द्विविधा रहेको संस्थानले बताएको छ ।
मुख्यगरी चाडपर्वको समयमा मूल्यवृद्धि तथा कालोबजारीजस्ता समस्या देखिने हुँदा बजार नियन्त्रण गर्ने उद्देश्यले संस्थानले हरेक वर्ष केही सस्तोमा खसीबोका विक्री गर्र्दै आएको छ । संस्थानले विक्री वितरण गर्ने खसीबोका तथा च्याङग्राको मूल्य निजीक्षेत्रको तुलनामा प्रतिकेजी १० देखि १५ रुपैयाँसस्तो हुने संस्थानको दाबी छ । विक्री हुने उक्त खसीबोका दाङ, भैरहवा र मकवानपुरबाट आयात हुने गरेको छ भने मुस्ताङबाट भने च्याङ्ग्रा आयात हुने गरेको संस्थानले जानकारी गराएको छ ।
हरेक वर्षजस्तै यस वर्ष सर्वसाधारणले सस्तोमा गुणस्तरीय खसीबोका खरीद गर्न पाउने संस्थानको दाबी छ । संस्थानले विक्री गर्ने खसीबोकाको राम्रो जाँच गरिने हुँदा सर्वसाधारणले कुनै प्रकारको पनि रोगको सामना गर्नु नपर्ने बताएको छ । विभिन्न जिल्लामा खसीबोका परीक्षणका लागि भेटेरिनरी चिकित्सालयको व्यवस्था गरिएको संस्थानले जानकारी दिएको छ । यस वर्ष संस्थानले प्रतिकिलो रू. ५ सय ३० मा खसीबोका र रू. ७ सय ७० मा च्याङ्ग्रा विक्री गर्ने लक्ष्य राखेको छ । ‘यद्यपि, अहिले नै मूल्य निश्चित भएको छैन, केही घटबढ अवश्य हुन सक्छ,’ सापकोटाले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।