कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका, ढिकुरपोखरीका युवाले सामूहिक कृषिजन्य व्यवसाय शुरू गरेका छन् । गाउँबाट रोजगारीको खोजीमा युवा विदेशिएसँगै गाउँघरकोे बारी बाँझिएपछि ढिकुरपोखरीका युवाले ‘श्री सिम सिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्म’मार्फत महत्त्वाकाङ्क्षी योजना अघि बढाइएका हुन् ।
युवाले गाउँमा बाँझिएको खेतीयोग्य जमीनको उपयोग गर्दै समूहमार्फत सामूहिक पशुपालन, तरकारी खेती, फलफूलको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले यस्तो योजना अगाडि बढाएका हुन् ।
कृषि फार्मका अध्यक्ष हरिप्रसाद भुगाईंका अनुसार बाँझो जग्गामा व्यावसायिक कृषिमार्फत बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियानको मुख्य उद्देश्य छ । सिम सिम्ले नेपाने क्षेत्रको करीब ३ हजार २ सय रोपनी जग्गा भाडामा लिएर बहुउद्देश्यीय कृषिजन्य व्यवसायलाई प्राथमिकतामा राखेर अगाडि बढेको अध्यक्ष भुगाईंले जानकारी दिए ।
‘वार्षिक प्रतिरोपनी १ हजार ५ सय रुपैयाँका दरले २ सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर काम थालेका छौं,’ उनले भने, ‘आवश्यकताअनुसार थप खेतीयोग्य जमीन लिएर योजनालाई बृहत् बनाउछौं ।’

समाजसेवी र अगुवाको सल्लाहअनुसार संस्थाको संस्थापक सदस्य बन्न ५१ हजार रुपैयाँ शेयर रकम कायम गरिएको कृषि फार्मका उपाध्यक्ष शिव अधिकारीले जानकारी दिए । उनका अनुसार साविक ढिकुरपोखरी–१ भित्रका १ सय ९८ जना शेयर सदस्य यसमा आबद्ध छन् । संस्थाले पहिलो चरणमा पशुपालन र व्यावसायिक तरकारी खेतीलाई अगाडि बढाउने योजनाअनुसार आधुनिक गोठ निर्माण गरी ३८ ओटा लैना भैंसीबाट व्यवसाय शुरू गरिएको छ । केही दिनभित्रमा १५ लैना भैंसी थप गर्ने योजनाअनुरूप परियोजना अगाडि बढेको छ ।
त्यसैगरी, फार्ममा ३२ ओटा पाडापाडी, एक राँगो, दुईओटा माउ गाई र एक बाच्छोसमेत खरीद गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिए । फार्म परिसरमा १० हजार कफी, दुई सय ६० किवी, ५ सय एवोकाडो, ५ सय मेकेडेनियनटका बिरुवासमेत रोपिएको उनले बताए ।
समूहले आउँदो मङ्सिरभित्रमा बृहत् कृषि योजना तयार गर्दै भौगोलिक अवस्थिति तापक्रम, माटो जाँच गरी कृषिको सम्भाव्यताको पहिचान गर्ने गरी योजना अगाडि बढाएको संस्थाका शेयर सदस्य टङ्क अधिकारीले जानकारी दिए ।संस्थाले ५० जनासम्मको घरवास कार्यक्रम सञ्चालन र १ सय जना अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गरी कृषिकै अध्ययनका लागि १ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।हाल एक करोड ५० लाख रुपैयाँको बजेटमा सञ्चालित फार्ममा शेयर सदस्यबाट १ करोड ९८ हजार रुपैयाँ जम्मा भएको छ भने अन्नपूर्ण गाउँपालिकाबाट ४० लाख रुपैयाँ पूर्वाधार निर्माणको लागि अनुदान प्राप्त भएको छ ।त्यसैगरी, हरियो वन कार्यक्रमअन्तर्गतको ७ लाख ८० हजार रुपैयाँ यस परियोजनामा लगानी गरिएको छ । संस्थामा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । युवा स्वरोजगारका लागि अन्नपूर्ण गाउँपालिकाले यस्ता परियोजनालाई प्रोत्साहित गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।