‘पाँचौं एशियन पेण्ट्स न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८’ आज

Share News
काठमाडौं । नेपालको बैङ्किङ क्षेत्रका रणनीति र अवरोधका विषयमा गहन छलफलका साथ पाँचौं ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८’ एक विशेष कार्यक्रमबीच सोल्टी होटलमा आज हुँदै छ । सन् २०१३ देखि नेपालको व्यावसायिक क्षेत्रलाई प्रतिस्पर्धी र गुणस्तरीय सेवाप्रदायक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना हुँदै आएको कम्पनीले बताएको छ । नेपालकै ठूलो र प्रतिष्ठित बिजनेश अवार्ड कार्यक्रमको रूपमा रहेको अवार्ड कार्यक्रममा हरेक वर्ष एउटा अवधारणामा अन्तरक्रिया कार्यक्रम हुने गरेको छ । गतवर्ष ‘नेपाल स्टार्टअप इकोशिष्टम’को अवधारणामा विज्ञहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए । यो वर्षका लागि नेपालको बैङ्किङ क्षेत्रमा भइरहेका गतिविधि, आगामी रणनीति, विश्व परिदृश्यमा नेपालको बैङ्किङ क्षेत्रको विकास, चुनौती र आधुनिक प्रविधिका बारेमा बैङ्किङ क्षेत्रका विज्ञहरूबीच छलफल हुनेछ । छलफल कार्यक्रममा नेपाल बैङ्कर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, उपाध्यक्ष अनुकूल भट्नागर, बैङ्कर सशिन जोशी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र नेशनल बैङ्किङ इन्ष्टिच्युटका सीईओ सञ्जीव सुब्बा सहभागी हुँदै छन् । साथमा भारतको बन्धन बैङ्क लिमिटेडका रणनीतिक सल्लाहकार तमल बन्द्योपाध्यायको मुख्य वक्ताका रूपमा विशेष प्रस्तुति रहेको छ । कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जीवी नेपालको सहभागिता रहनेछ । कार्यक्रममा देशका व्यावसायिक घराना, बैङ्किङ, बीमा, वित्तीय क्षेत्र र उद्योगी व्यवसायीको सहभागिता रहनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि, सुरक्षा प्रबन्ध, साइबर आक्रमण र त्यसबाट बच्नका लागि गरिएका प्रयास, बैङ्किङ क्षेत्रमा भएका अन्तरराष्ट्रिय अभ्यास, बैङ्किङ क्षेत्रबाट हुने लगानी, अधिक तथा न्यून तरलताका समस्या र समाधानका उपायलगायत विषयमा कार्यक्रममा छलफल हुनेछ । पाँचौं संस्करणको कार्यक्रममा विगतमा झैं यस वर्ष पनि व्यवसायमा नयाँ सृजना दिएका, सामाजिक प्रतिष्ठा कमाएका दिग्गज व्यक्तित्वलाई ‘लाइफटाइम एचिभमेण्ट अवार्ड’सहित १० विधामा अवार्ड वितरण गरिँदै छ । देशभर रहेका व्यावसायिक संस्थामध्ये कार्य मूल्याङ्कनका आधारमा हरेक विधाका लागि अलगअलग विज्ञसमूह (जुरी)ले छनोट गरेका उत्कृष्ट कम्पनीहरूलाई कार्यक्रममा अवार्ड प्रदान गरिँदै छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।