बैङ्कमा राजनीतिक अवरोध हुन नहुनेमा अर्थमन्त्रीको जोड, पूर्वाधारमा लगानी गर्न बैङ्कहरुलाई आग्रह

Share News

‘पाँचौं एशियन पेण्ट्स न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड २०१८’ शुरु

असोज ५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्कहरुमा राजनीतिक प्रभाव र अवरोध हुन नहुने बताएका छन् । न्यू बिजनेश एज प्रा.लि.ले शुक्रवार राजधानीमा आयोजना गरेको पाँचौँ ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड २०१८’ कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले वित्तीय संस्थाहरु केन्द्रिय बैङ्कको नियमनमा रहने र यसबाहेक बैङ्क आफ्नै सञ्चालक समितिबाट गाइडेड हुने भएकाले पारदर्शी हुने दाबी गरे । यद्यपी बैङ्कहरुमा कहिलेकाहीँ राजनीति हाबी हुँदा अवरोध सृजना हुने टिप्पणी गर्दै यसो नगर्न सम्बन्धित सरोकारवालाई आग्रह गरे ।

अर्थमन्त्री डा. खतिवडाले बजार बहुआयामिक भइरहेकाले बैङ्क तथा वित्तीयसंस्थाको पोर्टफोलियो विस्तार गर्नुपर्ने औंल्याएका छन् । उनका अनुसार यसका लागि बैङ्कहरुले ऋणपत्र जस्ता बोण्ड जारी गर्नुपर्नेमा जोड दिए ।

बैङ्कहरुमा बाहिरी देशको समेत प्रभाव पर्ने गरेको उनको भनाइ छ । बाहिर हुने आर्थिक परिवर्तन र डलरमा आउने उतारचढावले समस्या आउने गरेको उनले बताए ।

नेपालले विगत तीन वर्षदेखि आर्थिक वृद्धि गरिरहेको बताउँदै उनले भविष्यमा दोहोरो अङ्कमा वृद्धि गर्नु आवश्यक रहेकोमा जोड दिए । यसका लागि बैङ्कहरुले पूर्वाधारमा लगानी गर्नुपर्ने र त्यसमा पनि जलविद्युत्, कृषि, पर्यटनलगायतका क्षेत्रको विकासमा लगानी गर्नुपर्ने उनको भनाइ छ । साथै उनले लगानी अल्पकालीन र दीर्घकालीन अवधिको लागि योजना बनाएर गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको पनि उपस्थिति रहेको छ । कार्यक्रममा भारतको बन्धन बैङ्क लिमिटेडका रणनीतिक सल्लाहकार तमल बन्द्योपाध्याय मुख्य वक्ताका रूपमा उपस्थित रहेका छन् ।

नेपालकै ठूलो र प्रतिष्ठित बिजनेश अवार्ड कार्यक्रमको रूपमा रहेको अवार्ड कार्यक्रममा हरेक वर्ष एउटा अवधारणामा अन्तरक्रिया कार्यक्रम हुने गरेको छ । यो वर्ष नेपालको बैङ्किङ क्षेत्रमा भइरहेका गतिविधि, आगामी रणनीति, विश्व परिदृश्यमा नेपालको बैङ्किङ क्षेत्रको विकास, चुनौती र आधुनिक प्रविधिका बारेमा बैङ्किङ क्षेत्रका विज्ञहरूबीच छलफल हुनेछ । छलफल कार्यक्रममा नेपाल बैङ्कर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, उपाध्यक्ष अनुकूल भट्नागर, बैङ्कर सशिन जोशी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र नेशनल बैङ्किङ इन्ष्टिच्युटका सीईओ सञ्जीव सुब्बा सहभागी छन् ।

कार्यक्रममा देशका व्यावसायिक घराना, बैङ्किङ, बीमा, वित्तीय क्षेत्र र उद्योगी व्यवसायीको सहभागिता छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।