असोज ५, काठमाडौं । भारतको बन्धन बैङ्क लिमिटेडका रणनीतिक सल्लाहकार तमल बन्द्योपाध्यायले बैङ्कहरु सान्दर्भिक रहिरहनका लागि सूचना प्रविधि, आर्टिफिसियल इण्टेलिजेन्सलगायतका नयाँ तरिकाहरुको प्रयोग गर्न सक्नुपर्नेमा जोड दिएका छन् । न्यू बिजनेश एज प्रा.लि.ले शुक्रवार काठमाडौंमा आयोजना गरेको पाँचौँ ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड २०१८’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जोखिम न्यूनिकरण, कर्जा प्रवाह, संस्थागत सुशासन जस्ता आधारभूत विषयहरुलाई ध्यान दिइएन भने त्यसबाट बैङ्कीङ क्षेत्रमा जटिल प्रकारको समस्या खडा गर्छ ।’
नेपाली बैङ्कहरु खराब कर्जाको तह नियन्त्रित तहमा राख्न सफल रहको उल्लेख गर्दै उनले यो उल्लेखनीय रहेको धारणा राखे । भारतीय बैङ्कहरुको खराब कर्जा नेपाली बैङ्कहरुको तुलनामा धेरै रहेको उनले बताए ।
उनले भने, ‘सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटपछि भारतमा नीतिगत ब्याजदरको तह बचत ब्याजदरभन्दा कम भयो । त्यसको मुख्य कारण केन्द्रिय बैङ्कले सस्तो ब्याजदरमा बैङ्किङ प्रणालीमा व्यापक स्तरमा तरलता प्रवाह गर्यो । त्यसले बैङ्कहरुलाई उपभोक्ता कर्जा बढाउन उत्प्रेरित गर्यो र बैङ्कहरुको खराब कर्जा बढ्न गयो ।’
पछिल्लो समय भारतीय रिजर्ब बैङ्कले निकै कडाई गरिरहेको र भारतीय बैङ्किङ क्षेत्रमा केही वर्षयता व्यापक परिवर्तन भएकोसमेत उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।