काठमाडौं । प्रतिस्पर्धी वित्तबजारमा टिकिरहन बैङ्कले प्रभावकारी सेवा दिनुपर्ने र सो आवश्यकता पूर्ति गर्न बैङ्किङ प्रणालीलाई पछिल्लो प्रविधिसँग जोड्नुपर्नेमा जोड दिइएको छ । न्यू बिजनेश एज प्रालिले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘पाँचौं न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्ड–२०१८’मा सहभागी केन्द्र सरकारका अर्थमन्त्री, गभर्नर, बैङ्कर र विज्ञसहितका सरोकारवालाले बैङ्किङ प्रणालीमा प्रविधि प्रयोगको जोड दिएका हुन् । उनीहरूले ‘बैङ्किङ रणनीति र क्रमभङ्ग’ विषयक छलफल सत्रमा बैङ्कले मुख्यगरी रोबोट, ड्रोन र फिनटेक प्रविधिलाई प्रयोग गर्नसके वित्तक्षेत्र थप प्रभावकारी हुने धारणा राखेका थिए ।
छलफलको आरम्भमा नबिल बैङ्कका पूर्वप्रमुख कार्यकारी अधिकृत सशीन जोशीले वित्तक्षेत्रमा नवप्रवर्तन ल्याउन नेपाल राष्ट्र बैङ्कले कडा र स्पष्ट नीति लिनुपर्ने बताए । उनले भने, ‘अहिले बैङ्कको सङ्ख्या बढ्ने तर त्यहाँबाट उपभोक्ताले गुणस्तरीय सेवा नपाउने स्थिति छ । केन्द्रीय बैङ्कले उदार हिसाबले वित्तीय कारोबारको अनुमति बाँड्दा यस्तो भएको हो । त्यसैले त्यसमा कडाइ हुनुपर्छ ।’ मलेशियामा भएका ३० बैङ्कलाई अनिवार्य मर्जर प्रक्रियाबाट ७/८ मा घटाएसँगै त्यहाँका बैङ्कले दक्षिण एशियाकै उत्कृष्ट सेवा दिइरहेको भन्दै उनले सरकारले लघुवित्तलाई ठूलो आर्थिक कारोबारको अनुमति दिँदा वाणिज्य बैङ्कमा पूँजी अभाव हुने गरेको बताए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पूर्वाधार निर्माण अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै बैङ्कले त्यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । ‘पूर्वाधार निर्माणमा लगानी ‘ग्याप’ छ, आर्थिक समृद्धिको आवश्यकता पूर्ति गर्न त्यसक्षेत्रमा लगानी बढाउनुपर्छ,’ उनले भने ।
नेपाल एसबीआई बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागरले साना तथा मझौला उद्योगमा लगानी गर्दा एसबीआई बैङ्क सफल बताउँदै दिगो विकासका लागि काठमाडौंबाहिर केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो बैङ्कको नीति नै काठमाडौंबाहिरका लगानी क्षेत्र पहिल्याउने र धेरैभन्दा धेरै प्रविधि प्रयोग गर्ने छ । त्यसैले हामी सबैभन्दा सफल छौं,’ उनले भने । नेपाल बैङ्कर्स एशोसिएशनका उपाध्यक्षसमेत रहेका भटनागरले एसबीआई बैङ्क प्रभावकारी वित्तीय सेवा दिन रोबोट, ड्रोन र फिनटेक प्रविधि प्रयोग गर्ने तयारीमा रहेको बताए ।
चार्टर्ड एकाउण्टेण्ट तथा पूर्वबैङ्कर अनलराज भट्टराईले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल कर छली प्रकरणले विदेशी बैङ्कलाई नेपालमा लगानी गर्न हच्काएको बताए । उनले नेपाली बैङ्कहरूले सन् २०१५ देखि २०१७ सम्म प्रशस्त आम्दानी गरेका भए पनि एनसेल विवादले विश्वबजारमा नेपालमा लगानीको वातावरण नभएको देखाएको भन्दै राज्यले नीतिगत र व्यावहारिक समस्याहरू सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण नेशनल बैङ्किङ इन्ष्टिच्युट (एनबीआई)का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले गरेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार, लेखक तथा बन्धन बैङ्क लिमिटेड, भारतका रणनीतिक सल्लाहकार तमल बन्द्योपाध्यायले नेपाल र भारतको अर्थतन्त्रको तुलना हुन नसक्ने भए पनि नेपालले भारतबाट धेरै कुरा सिक्न सक्ने बताए । ‘मलाई थाहा छ, नेपाल एउटा सानो देश हो । यहाँका सबै बैङ्कमा भएको सम्पत्तिभन्दा भारतका कुनै एक बैङ्कको सम्पत्ति धेरै छ । ‘नेपालमा सन् १९३७ देखि बैङ्किङ प्रणाली विकास भएको हो, भारतमा सन् १८०६ देखि नै बैङ्किङ प्रणाली स्थापित भइसकेको थियो,’ उनले भने । भारतमा कही बैङ्कले ‘लाइफ साइकल’बाट ‘लाइफ स्टाइल’ बैङ्किङमा लागेको भन्दै अबको बैङ्किङ मानिस (ग्राहक) का विभिन्न आवश्यकतामा कसरी सेवा दिन सकिन्छ भनेर नवप्रवर्तन गर्नुपर्ने बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।