लोडशेडिङले उद्योगको उत्पादकत्वमा समेत ह्रास आएको छ। ऊर्जालाई किफायती किसिमले प्रयोग गरेर त्यसको अधिकतम उपयोग गर्न सकिने इलेक्ट्रिकल इञ्जिनीयरहरू बताउँछन् ।
हिउँदको समयमा नेपालका धेरै उद्योग ऊर्जासङ्कटको ठूलो मारमा पर्छन् । औद्योगिक विकासको प्रमुख समस्या पनि ऊर्जासङ्कट नै बन्न पुगेको छ । यसकै कारण नेपालमा सञ्चालित कतिपय ठूला तथा साना उद्योग बन्द भएका छन् भने केही बन्दको अवस्थामा पुगेका छन् । उद्योगमा ऊर्जाको माग बढ्दै जानु र मागअनुसारको आपूर्ति नभएकाले ऊर्जासङ्कट निम्तिएको विज्ञहरू बताउँछन् । ऊर्जासङ्कटले औद्योगिक क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको विकासमै असर पर्ने भएकाले सङ्कट न्यूनीकरणको उपाय खोज्नु अबको आवश्यकता भइसकेको छ ।
सङ्कट कम गर्न ऊर्जा खपत बढी हुने क्षेत्रहरूलाई केन्द्रित गरी ऊर्जाको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने औद्योगिक ऊर्जा व्यवस्थापन आयोजना प्रमुख कमल मानन्धर बताउँछन् । पछिल्लो समय विशेषगरी उद्योग तथा कलकारखानामा विद्युतीय ऊर्जासङ्कट देखिएको छ । ‘लोडशेडिङले उद्योगको उत्पादकत्वमा समेत ह्रास आएको छ, ’उनले भने । ऊर्जालाई किफायती किसिमले प्रयोग गरेर त्यसको अधिकतम उपयोग गर्न सकिने इलेक्ट्रिकल इञ्जिनीयरहरू बताउँछन् । उनीहरूका अनुसार टेलिकम, ट्रान्सपोटेसन, कोल्ड स्टोरेज तथा इँटाभट्टा सबैभन्दा बढी विद्युतीय ऊर्जा खपत हुने क्षेत्र हुन् ।
उद्योगमा ऊर्जा खपत घटाउने तरीका
- उद्योग तथा कलकारखानामा प्रयोग गरिने उपकरण खरीदमा विशेष ध्यान दिनुपर्ने हुन्छ । उद्योगका लागि नयाँ मोटर खरीद गर्दै हुनुहन्छ भने स्टार लेभल (तार अङ्कित) जेनेरेटर किन्नु उपयोगी हुन्छ । स्टार लेभल अङ्कित मोटर ऊर्जा किफायतीका साथै वातावरणमैत्री पनि छ ।
- नेपालका प्रायः उद्योगमा एउटा स्वीच अन गर्दा एकैपटक धेरै बत्ती बल्ने सिष्टम लागू गरिएको पाइन्छ । एउटै स्वीचमार्फत धेरै बत्ती बाल्दा अनावश्यक रूपमा ऊर्जा खपत भइरहेको हुन्छ । त्यसैले, उद्योगमा हरेक बत्तीका लागि छुट्टाछुट्टै स्वीच प्रयोग गर्नु राम्रो हुन्छ ।
- कोठालाई तातो तथा चिसो बनाउन प्रयोग गरिने एयरकण्डिसनिङ सिष्टमको चिसो पानी बग्ने पाइपमा उपयुक्त र आवश्यक मोटाइको कुचालक पदार्थले ‘इन्सुलेट’ गरेर ऊर्जा खपत घटाउन सकिन्छ । त्यस्तै एयरकण्डिसनिङ प्रयोग भएको कोठा वा हलमा फ्लस सिलिङ, एयर कर्टेन प्रयोग गर्न सकिन्छ । एसी तथा फ्यानमा भेरिएबल स्पीड ड्राइभ राखी लोडअनुसार चलाएर ऊर्जा बचत गर्न सकिन्छ ।
- त्यस्तै कम्युटर वा विद्युतीय मेशिनले लामो समयसम्म स्वीच अन गर्दा पनि ऊर्जा खपत गरिरहेको हुन्छ । त्यसकारण आवश्यक समयमा मात्र चलाएर बन्द गरिदिँदा विद्युत् बच्न सक्छ । उद्योगहरूले मासिक रूपमा विद्युत खपतको डाटा राखेर पनि कत्ति बत्ती खपत भएको छ जानकारी लिन सक्छन् । यसरी विद्युत् खपतको डाटा राख्दा नियमित विद्युत् खपत र यसलाई कम गर्ने तरीकाबारे पनि जानकारी लिन सकिन्छ ।
- धातुका सामान बनाउने उद्योगले पनि अत्यधिक ऊर्जा खपत गर्छन् । यस्ता उद्योगमा पनि किफायती फर्नेस प्रयोग गरी ऊर्जासङ्कट न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।